इतिहास लेख्छन् जनता
रगतको मसीले
निर्मम तथा संगीन घडीमा पनि
निर्धक्क,
ए ! तथाकथित उत्तरवर्ती मानुख
इतिहासको अन्त्य भएको छैन,
न्यायोचित इतिहास त
लेखिंदै छ, अब
सत्य र वास्तविक ।
तिमी छर, भ्रम छर्दैगर
आफुले लेख्न र बोल्न नसकेको
कटुसत्य प्रति
लघुताभार महसुस गर्दै,
लेख्छन् लामबद्ध भएर
यस देशका सपुतहरु
युग युगान्तर सम्म
निरन्तर निरन्तर।
सकिएलान तिम्रा चोरेका
पित मसी
तर
सकिने छैन ती योद्धाहरुको
रक्तिम इतिहास लेख्ने
रक्तमसी
शालिन पृथ्वीतल रहेसम्म,
बिसाउने छैनन
ती बीर सपुतहरु
मानवता र न्यायको
महान् युद्ध नजिते सम्म
किनकी क्रान्तिपुरुषहरुले
जनताको इतिहास लेख्ने
कसम खाएका छन्
मानवको अन्तर्राष्ट्रिय जाति हुने
गीत गाएका छन् ।
लेखक : सुसील चौधरी
(२०७४ जेठ ६ गते, काठमाण्डौ)
