२०७३/६/२०,असोज ।
चितवन । कालिका एफएममा थारु भाषाको कार्यक्रम हमार शनेस ( हाम्रो कोशेली ) की प्रस्तोता लक्ष्मी चौधरी हिजो आज गाउँघरमै फोटो स्टुडियोमा भेटिन्छन् । उनको आफ्नै फोटो स्टुडियो छ । रेडियोमा मातृभाषा कार्यक्रम संचालन गर्न छाडेर यो पेशामा लागेकी हुन् । पेशा परिवर्तन गर्नु उनको बाध्यता हो । सातामा एकपटक मात्रै थारु भाषाको कार्यक्रम संचालन गर्न उनी रेडियो पुग्थीन् । एउटा मात्रै कार्यक्रम भएकाले आर्थिक हिसावमा उनी कमजोर बनिन् । र बाध्य भइन पेशा परिवर्तन गर्न । लक्ष्मी चौधरी जस्तै धरै संचार गृहमा मातृभाषा सम्बन्धि कार्यक्रम संचालन गर्ने प्रस्तोताहरुको अवस्था उस्तै छ । कोही पेशा परिवर्तन गरे, त कोही मुग्लान प्रवेश गरे ।
थारु भाषाकै मात्रै कुरा गर्ने हो भनेपनि संदीप चौधरी अमेरिका पुगे, बिजय चौधरी अहिले संचार क्षेत्र भन्दापनि सामाजिक संघ संस्थामा सक्रिय छन् । उनले रेडियो चितवनमा थारु भाषाको कार्यक्रम संचालन देखि थारु भाषामा समाचार बाचन गर्दै आएका थिए । रेडियो चितवनले चितवनमा पहिलो पटक थारु भाषामा समाचार प्रशारण गर्दै आएको थियो । ज्योति चौधरी पनि संचार क्षेत्रमा त्यति सक्रिय छैन् । सञ्जु महतो सामाजिक संघ संस्थामा सक्रिय छन् । यसरी मातृभाषाका प्रस्तोताहरु धमाधम पेशा वरिवर्तन गर्नथालेपछि मातृभाषाका कार्यक्रमहरु संकटमा पर्दै गए ।
चितवनमै पहिलो पटक थारु भाषामा समाचार बाचन गर्ने रेडियो चितवनमा अहिले थारुभाषाको कार्यक्रम समेत छैन् । यसरी मातृभाषाका कार्यक्रम संचालन गर्ने प्रस्तोताहरु संचार क्षेत्रमा सक्रिय भएर टिक्न सकेका छैनन् । एकपछि अर्को विस्तारै पेशावाटै पलाएन भइरहेका छन् । अहिले जति रेडियोमा मातृभाषाका सम्बन्धि कार्यक्रम संचालन गर्ने कार्यक्रम प्रस्तोता छन उनीहरुको स्थिती पनि पहिले कामगर्नेहरु भन्दा फरक छैन् । मातृभाषाकै कार्यक्रमलाई निरन्तरता दिन सक्ने स्थित धेरैमा छैन् ।
एकताका चितवनमा थारु भाषामा कविता, गजल, मुक्तक लेखेर रेडियोमा पठाउने लहरनै चलेको थियो । प्रायगरी थारु समुदायका नयाँ पुस्ताले जानी नजानी आफ्नै भाषामा कविता, गजल, मुक्तक लगायत मनका भाव लेखेर रेडियोमा पठाउने होडबाजी चल्ने गर्दथ्यो । चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएम स्थापना भएसँगै थारु भाषाको कार्यक्रम ‘ एङना हमार ’ ( हाम्रो आँगनी ) लाई उच्च प्राथामिकता दिएको थियो ।
कार्यक्रममा आउने फोनकल, देखि पाठक पत्रको आधारमा कार्यक्रमलाई प्राथामिकताका साथ प्रशारण गर्ने गरिएको थियो । सिनर्जी एफएम थारु समुदायका लागि लोकप्रिय मात्रै बनने कि रेडियोबाट थारु समुदायले धेरै फाइदा पनि लिए । थारु समुदायले आफ्नो पहुँच संचार सम्म पुगेको अनुभूतिगर्न थाले । सिनर्जी एफएम पछि २०५९ सालमा चितवनमा कालिका एफएम स्थापना भयो । स्थापना सँगै थारु भाषाको कार्यक्रमलाई कालिका एफएमले पनि प्राथामिकतामा राख्यो । तर त्यसले निरन्तरता पाउन सकेन् । तीनवर्ष भन्दाबढी भयो रेडियोमा थारु भाषाको कार्यक्रम रोकिएको । थारु भाषा वाहेक गुरुङ र मगर भाषाका कार्यक्रम चाही प्रशारण हुँदै आएको छन् । यता चितवनकै रेडियो त्रिवेणीमा समेत थारु भाषाको कार्यक्रम रोकिएको धेरै भयो । रोकिएको कार्यक्रमलाई निरन्तरता दिन एफएमले सकेको छैन् । चितवनमा मात्रै अहिले झण्डै १५ वटा एफएम रेडियो स्टेशनहरु छन् । ति मध्ये प्रायगरी सबैएफएम रेडियोले भाषा भाषीको कार्यक्रमलाई उच्च प्राथामिकतामा राखेपनि निरन्तरता दिन सकेका छैनन् ।
एफएम रेडियो संचालकहरु दक्षजनशक्ति अभावका कारण मातृभाषाका कार्यक्रमलाई निरन्तरता दिन नसकेको बताउँछन् ।
कालिका एफएमकी स्टेशन म्यानेजर रिना गुरुङका अनुसार मातृ भाषा सम्बन्धि राम्रो ज्ञान भएका प्रस्तोता पाउन चितवनमा समस्या छ । –‘ प्रोफेस्नल जनशक्ति अभावका कारण भाषा भाषीको कार्यक्रमको नाममा काम चलाउँमात्रै दिन सकिएको छ गुरुङले भनिन । यस्तै दक्ष जनशक्ति अभावका कारण सिनर्जी एफएममा स्थगीत भएको तामाङ, र मगर भाषाको कार्यक्रम संचालनमा आउन सकेको छैन् । एफएमका स्टेशन म्यानेजर अमर प्रधानका अनुसार प्रस्तोतालाई स्थिर राख्न नसकिएको कारण रोकिएका कार्यक्रमलाई निरन्तरता दिन कठिनाई भएको हो । चितवनवाट संचालनमा आएका एफएम रेडियाहरुको मातृ भाषा कार्यक्रम सुन्ने स्रोताहरु धेरैभएपनि दक्ष जनशक्ति अभावका कारण यसलाई निरन्तरता दिन कठिन बन्दै गएको हो । सिनर्जी एफएमका स्टेशन म्यानेजर प्रधानका अनुसार आजभोलीका युवापुस्ताले आफ्नै मातृभाषामा कुरा गर्न समेत जान्दैनन् । जसका कारण मातृभाषाको कार्यक्रमलाई चाहेजस्तै वढावा दिन सकिएको छैन् । उनको अनुभवमा चितवनमा थारु भाषाको कार्यक्रम बाहेक अन्य भाषाको कार्यक्रमलाई निरन्तरता दिन निकै चुनौति छ । थारु भाषाको कार्यक्रम जेनतेन गरेर प्रशारण गर्दै आएका छौं उनले भने – ‘ रेडियोमा सबैभन्दाबढी थारु भाषाकै कार्यक्रममा फोन र पत्रहरु आउँछन् ।’ अहिले सिनर्जी एफएमले थारु भाषा सम्बन्धि तीनवटा कार्यक्रम संचालन गर्दै आएको छ । तर अन्य भाषा भाषीका कार्यक्रमहरु विस्तारै बन्दहुँदै गएका छन् । मातृभाषाको कार्यक्रमलाई निरन्तरता दिन जति एफएम रेडियोलाई चुनौती छ, त्यो भन्दा कयौं गुणा चुनौती मातृभाषा कार्यक्रम संचालन गर्ने प्रस्तोतालाई छ । एउटा मात्रै कार्यक्रम संचालन गर्नुपर्ने कतिपयको बाध्यताले गर्दा पनि संचार गृहमा प्रस्तोताहरु टिक्न सकेका छैनन् ।
चितवन आदिवासी जनजाति समुदायको बाक्लो बस्तीभएको जिल्ला हो । यहाँका आदिवासी जनजाति समुदायको आफ्नै भाषा, संस्कृतीहरु छन् । संचार माध्यमले भाषा संस्कृती संरक्षणमा उल्लेख्य टेवा पु¥याउने यहाँका आदिवासी जनजाति समुदायले राम्रै सँग बुझेपनि पश्चिमेली संस्कृतीको प्रभावमा आदिवासी जनजाति समुदाय परेका छन् । आफ्नो मातुभाषा संरक्षण जनजाति समुदायको लागि पहाड तोड्ने जतिकै चुनौति बनेको छ । हुन त मातृभाषा संरक्षण गर्ने जिम्मा र दायित्व एफएम रेडियोलाई मात्रै होइन । सबैखालका संचार माध्यमको पनि हो । चितवनका स्थानीय टेलिभिजनले मातृभाषा संरक्षणमा चुकेका छन् । चितवनका कुनै पनि स्थानीय टेलिभिजनले मातभाषा सम्बन्धि कार्यक्रम प्रशारण गर्न सकेका छैनन् । छापा माध्यम पनि मातृभाषालाई जोड दिन सकेका छैनन् । चितवनबाट प्रकाशित हुने, दैनिक, साप्ताहिक पत्रपत्रिकाहरु दर्जनौं छन् । तर कुनैपनि पत्रपत्रिकाले भाषा विशेषलाई जोडदिएका छैनन् । चितवनमा विभिन्न जातिय संस्था वा व्यक्तिले पनि आफ्नो तरिकाले मातृ भाषा सम्बन्धि छुट्टै पत्रपत्रिकाहरु प्रकाशन गर्दै आएका छन् । ति पनि निरन्तर छैन् । थारु भाषाको मात्रै चितवनमा दुइदर्जन भन्दा बढी पुस्तक तथा मातृभाषा सम्बन्धि पत्रपत्रिका प्रशान भएका छन् । तर अहिले थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोको पहलमा सिर्जनशील थारु समाज र थारु अनलाइन डट कम, चितवनले प्रकाशन गर्दै आएको सङ्हाती त्रैमासिक बाहेक अन्य कुनैपनि पत्रपत्रिकाले निरन्तरता पाएका छैनन् ।
राजधानीका संचार गृहमा मातृभाषाको अवस्था –
राजधानीबाट प्रकाशित हुने सरकारको प्रत्यक्ष लगानी भएको गोरखापत्रले ३० वटा मातृभाषालाई समेटेर दैनिक २ वटा भाषाका समाचार, विचार तथा अन्तरवार्ताहरु प्रकाशन गर्दैआएको छ । थारु, राइ( चाम्लीङ )मगर, शेर्पा, ताजपुरीया, भोजपुरी मैथली, अवधि, राजवंशी, कुमाल लगायतका ३० वटा मातृभाषा नियमित रुपमा प्रकाशन हुँदै आएको छ। यसको व्यस्थापनका लागि गोरखापत्रले प्रत्येक एउटा मातृभाषा बरावर दुईजना कर्मचारी नियुक्ति गरेको छ। सम्बन्धित मातृभाषालाई संयोजन गर्न एकजना संयोजक र एकजना उपसंयोजकलाई नियुक्ति गरेको हो । गोरखापत्रमा नियुक्ति पाएकाहरुले राम्रै पारिश्रमिक समेत पाउने गरेका छन् । गोरखापत्रमा थारु भाषाका संयोजक लक्की चौधरीका अनुसार एउटा भाषा महिनाको कम्तीमा पनि २ पटक सम्म छापिने गरेको छ । गोरखापत्रले पनि मातृभाषाका लागि छुट्टै संवाददाताहरु राख्न सकेको छैन् । विचार, तथा फिचर न्यूजहरु अरुले पठाएका लाइनै स्थान दिदैआएको छ । मातृभाषाकै लागि गोरखापत्रले दैनिक एउटा पेज दिएको छ। यता रेडियो नेपालले पनि २० वटा भाषालाई उच्च प्राथामिकताका साथ प्रशारण गर्दै आएको छ । २०५१ सालदेखि रेडियो नेपालमा क्षेत्रीय प्रशारण अन्तर्गत २० वटा भाषामा कार्यक्रम प्रशारण हुन थालेको हो । नेपाल टेलिभिजनमा भने नेवारी, थारु, भोजपुरी, मैथिलि भाषामा कार्यक्रम र समाचार प्रशारण हुँदै आएको छ । राजधानीका अन्य निजी क्षेत्रबाट प्रकाशन हुने तथा प्रशारण हुने संचार गृहले मातृभाषालाई स्थान दिएका छैनन् । तर प्रेस काउन्सीलको तथ्यांकमा भने, विभिन्न भाषाभाषिका गरी देशभर जम्मा ६ हजार २ सय २१ पत्रपत्रिकाहरु संचालनमा रहेका छन् । ति मध्ये अँग्रेजी माषाका ४ हजार २ सय ८१, नेपाली र अँग्रेजी गरी दुवैभाषामा प्रकाशित हुने १ हजार ४९, हिन्दीभाषामा प्रकाशित हुने पत्रिका २५, नेवारीमा ४३, मैथिलिमा २७, भोजपुरीमा ८, संस्कृतमा ३, उर्दुमा ६, तिब्बतियन भाषामा २, थारु भाषामा १२, लिम्बुमा ३, डोटेलीमा ३, तामाङमा ८, राइमा १ ( ओम्बुले राई ) बान्तवा राई १ र अन्य २ सय ९२ वटा पत्रिकाहरु रहेका छन् ।
यी मध्येपनि ५ सय ४ वटा पत्रिका दैनिक प्रकाशित हुँदै आएका छनभने, अँग्रेजीमा अर्ध साप्ताहिक ३५ वटा, २ हजार ३ सय ६६ वटा नेपाली र अँग्रेजी भाषामा साप्ताहिक पत्रिका प्रकाशित हुँदै आएका छन् । यस्तै ४ सय ३२ वटा पत्रिका पाक्षीक रुपमा प्रकाशित हुँदै आएका छनभने, १८ सय ४६ वटा पत्रिका मासिक रुपमा प्रकाशित हुँदै आएका छन् । यस्तै ५ सय २९ वटा पत्रिका त्रैमासिक, ६० वटा अर्धवार्षिक र ६९ वटा बार्षिक पत्रिका प्रकाशित हुँदै आएको प्रेस काउन्सीलले प्रकाशित गरेको मिडिया डाइरेक्ट्री २०६९ मा उल्लेख छ ।
लेखक -आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) चितवनका अध्यक्ष हुनुहुन्छ ।
