कुनै बेला थारू गाउँमा मात्रै
सीमित गीतहरू अहिले आवाजमा मात्रै होइन,
दृश्यमा पनि रेकर्ड हुन थालेका छन् । थारू गाउँ
र संग्रहालयहरूमा भिडियो खिचेर
व्यावसायिक रूपमा गीतलाई बजारमा
ल्याउन थालिएको छ ।
मरना ट मरनु मै बराबरा मुरघा
खाइबेर ट नुन मिर्चक चटनी...
सुशील चौधरीले लेखेको उपर्युक्त गीत थारू
समुदायको इतिहास र जीवनशैलीसँग
सम्बन्धित छ । ठूलठूला कुखुरा मारेर
मालिकलाई खुवाउने तर आफू भने
नुनखुर्सानीसँग खाना खानुपर्ने बाध्यतालाई
यो गीतमा प्रस्तुत गरिएको छ ।
‘थारू समुदाय कमैया कमलरी बसेर अरूको
सेवामा समर्पित भयो,’ गायक रोशन रत्गैयाले
भने, ‘अरूको जीवन बन्यो तर उनीहरूको बनेन ।
अरूलाई मिठोमिठो खुवाउने तर आफू खान
नपाउने बाध्यतालाई गीतमा देखाइएको छ ।’
थारू गीतहरूको छायांकन गर्ने क्रममा गीतको
भावअनुसारको स्थान र वेशभूषा छनोट
गरिएको उनले बताए । ‘नमुना थारू ग्राम, थारू
सांस्कृतिक संग्रहालयजस्ता ठाउँहरूमा गीत
छायांकन गरिएको छ,’ उनले भने, ‘यसले हाम्रो
समुदायको इतिहास र जीवनशैलीलाई गीतसँगै
जीवन्त बनाउँछ ।’
अहिले रोशन र समीक्षा चौधरीले गाएका
दुइटा थारू गीत छायांकन गरिएको छ ।
फिरोज चौधरीको रचना र संगीत रहेको
‘ठुन्यार, ठुन्यार, ठुन्यार–बठिनियाँ काल
जुगके’ पनि छायांकन गरिएको छ । लोसिना
लामिछाने, पुष्पा चौधरी, नवीन चौधरी,
वीर चौधरी र राजु परियारले गीतमा अभिनय
गरेका छन् । दीपक चौधरी र दीप चौधरीले
यसको निर्देशन गरेका हुन् !
( कन्तिपुरबाट सभार )
