थारु जन हो आफ्नो ईतिहास आफै लेखौं[ दिल बहादुर चौधरी]

Thursday, 10 November 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हामी नेपालको इतिहास पढ्यौं भने कतिपय कुरा अपत्यारिलो लाग्छ। मन गढन्ते लाग्छ । हामी सानो छँदा नालापानीको युद्धबारे पढ्थ्यौं । जहाँ अँग्रेजसँग नेपालका महिला, बालबालिकाहरु समेत लडेको इतिहासमा लेखिएको छ । तर ‘कुमाउँ गढवालको इतिहास’ लेख्ने भारतिय इतिहासकार बद्रीदत्त पाण्डेयले नेपाली शासकहरुको बारेमा निकै हिंस्रक, मानवता नभएको प्राणीको रुपमा चित्रित गरेका छन् । उनले कुमाउँ गढवालमा शासन गर्दाताका गोर्खा शासकहरुले जनतासँग केही माग्दा नदिएको झोंकमा उनका पुरा परिवारलाई बन्दी बनाएर हरिद्वारमा ल्याउने र बेचबिखन गरेको कुरा उल्लेख गरेका छन् । यस्तो अबस्थामा कसरी गोरखालीहरु बालबालिकाहरु समेत मिली अँग्रेजसँग लडे होलान् ? बिचार गर्न आवश्यक छ । त्रसित अबस्थामा रहेका जनताहरु शासकहरुलाई साथ दिन गाह्रो हुन्छ । त्यसैले आज त्यस्ता बिषयहरु बारेमा सोधखोज गर्न आवश्यक देखिन्छ ।

इतिहासबारे नेपालका तमाम इतिहासकारहरु समय समयमा टिकाटिप्पणी गरेका छन् । पछिल्लो घडीमा राजा रजौटा, शासकहरुका भजन मण्डलीले तयार पारेको इतिहास मात्रै सही हुन सक्तैन भन्ने आवाज पनि उठिरहेको छ । त्यसैले नेपालको बैकल्पिक इतिहासको पनि कुरा आइरहेको छ । यस सम्बन्धमा बिद्वान लेखक आहुति, युग पाठकले कलम चलाइसकेका छन् । ‘को थिए नालापानी युद्धमा मारिएका महिला र बालबालिका’ शीर्षकमा सेतोपाटी डटकममा आहुतिको लेख पढ्ने अवसर पनि पाइयो । उनले तिनलाई बादी महिला हुन सक्ने बताएका छन् । बद्रीदत्तका अनुसार ती बालबालिका वा महिला क्रूर गोर्खा शासकले बन्दी बनाएर लगिएका कुमाउ गढवालका जनता हुन सक्नेतिर सूचित छन् ।

हाम्रा अग्रज, पुर्खा लेखकहरु रामानन्द प्रसाद सिंह, तेजनारायण पंजियार पनि इतिहासकारहरुले थारुहरुका बारेमा लेखेको कुरा मन नपरेर नै प्रमाण, तर्कसहित बुद्ध थारु जातिका सन्तान थिए, बुद्ध थारु थिए भनी लेखे । नेपालको इतिहासमा राजालाई थारुहरुले कसरी सहयोग गरेका थिए ? थारुहरुका सहयोग र ईमान्दारीबाट प्रभावित भएर कसरी समय समयमा गोर्खा राजाहरुबाट लालमोहर पाए ? भन्ने इतिहास लेखे र समुदायलाई अतुलनीय, अविष्मरणीय देन दिएर गए । त्यसैगरी महेश चौधरी, सुबोधकुमार सिंह, डा. गोपाल दहित, शंकरलाल चौधरी, अशोक थारुहरुले थारुहरुबारे महत्वपूर्ण पुस्तक लेखेर समुदायप्रति ठूलो गुण लगाएका छन् ।

अब इतिहास लेख्ने पालो तपाईं हाम्रो काँधमा आएको छ । हाम्रो देशको इतिहास काठमाण्डौ खाल्डोको वरिपरी सीमित छ । यथार्थ भन्दा पनि शासकहरुको भजन र गुणगानमा केन्द्रित छ । गीतकार, लेखक र कविका गीत, कविता पनि स्तुतीका रुपमा धेरै आए, अहिले पनि आइरहेका छन् । ‘हाम्रा राजा कस्ता छन ? जस्ता प्रजा छन्, चौतारीमा राजा भेटिए, चौतारीमा रानी भेटिए्’ गीत, ‘काम दिने नाम दिने सुख दिने राजा, हामी सबलाई बराबरी माया गर्ने राजा’ कविता त्यसैका उदाहरण हुन्, नमूना हुन् । इतिहासमा थारु, मधेशी, आदिवासी जनजातिहरुका राज्य कसरी खोसिए ? थारुहरु कसरी दुःख पाए ? पंचायत कालमा कसरी तिनीहरु दुःख पाए ? तराईका मालिकहरुलाई कसरी कज्याइयो ? उनीहरुमाथि गोर्खा शासन कसरी लादियो ? तराई कसरी उपनिबेश हुन पुग्यो ? पुलिस, प्रशासन, स्थानिय अड्डा अदालतमा थारुहरुलाई किन राखिएन ? थारु कसरी दासमा रुपान्तरण भए ? देशमा १० बर्षसम्म युद्ध भैसक्दा पनि थारुहरुलाई निजामति कर्मचारी, पु्रशासनिक क्षेत्रमा जानबाट रोक्न अघोषित रुपमा प्रतिबन्ध किन लगाइएको छ ? किन थारुहरुका माग अहिले पनि गणतान्त्रिक महाराजहरुका लागि उचित हुन सकेको छैन ? राज्यको पुनर्संरचना हुँदा पनि किन थारुहरुलाई पाँच टुक्रामा बिभाजित गरिएको छ ? अब यस्ता बास्तबिक कुराहरु थारुहरुको इतिहासमा लेख्न जरुरी छ ।

थारुहरुको बास्तविक अबस्था, अहिलेका जातिबादी पहाडबादी दलका चाहना, उनीहरुका कर्तूत थारुहरुले लेख्न आवश्यक छ । सत्यतासहितका विचारहरु निरन्तर समुदायका बिचमा प्रवाह गर्न आवश्यक छ । भोलिका दिनहरुमा हाम्रा सन्ततिहरुले देशका भजन मण्डलीहरुले तयार पारेका इतिहासहरु मात्रै पढ्ने अवस्था नरहोस् । सर्टिफिकेट, योग्यता, प्रमाण पत्रका लागि तिनीहरु शासकहरुका गुणगानका रुपमा लिखित इतिहास पढून्, तर थारुहरुको बास्तविक इतिहास पढ्नबाट बञ्चित पनि नरहून् भन्ने सोंचाई अहिलेका पुस्तामा हुन जरुरी छ । वास्तविक इतिहास कोर्न जरुरी छ ।

पछिल्लो घडीमा सानो पुस्तक भएपनि कृष्ण सर्बहारी र गणेश चौधरीद्वारा लिखित ‘थरुहट आन्दोलन, टीकापुर कथा’ पनि थारुहरुको अवस्थालाई राम्रोसँग चित्रण गरेको छ । यस्ता अन्य अवस्था पनि पुस्तकमार्फत आउन जरुरी छ । राज्यको आड लिई लाखौं पहाडी नागरिकहरु, शासकहरुले थारुहरुमाथि अन्याय गरे, अत्याचार गरे, ती सबै घट्नालाई पुस्तकमा समेट्न गार्हो होला, किन कि एक समय थियो, जुन समउमा थारुहरुलाई नहेप्ने, गाली नगर्ने, बिनारकम उनीहरुको जग्गा जमिन नहडप्ने मान्छ्े पहाडिया ब्राम्हन÷क्षेत्री कहलाउँदैन थियो । फेरी पनि साझा रुपमा राज्यले, दलका मुखियाहरुले गरेका कर्तूत, अन्याय, अत्याचारको पोका खुलासा गर्न आवश्यक छ ।

अन्त्यमा के भनौं भने सबैको भाग एक्लै खाइरहेका शासकहरु अधिकारको बँटवारा गर्न चाहँदैनन् । अधिकांशतः इतिहास जित्नेकै बन्दछ । ‘जो जिता वही सिकन्दर’ भन्दछन् । हामी थारुहरु महाहरुवा भित्र पर्दछौं । हार्नेहरुको इतिहास कमै बन्दछ तर हरुवाहरुले पनि आफ्नो इतिहास लेख्नु पर्दछ । बास्तविक इतिहास लेख्न सकिएन भने भोलिका सन्ततीका लागि त्यो अन्याय हुनेछ । थारु समुदायमा विचार प्रवाह र इतिहास लेखनको खडेरी छ । मधेशी समुदाय, पहाडका आदिवासी जनजाति समुदाय संचारमार्फत जसरी निरन्तर समुदायका हकहित, पीरमर्काका कुरा प्रवाह गरिरहेका छन्, विचार प्रवाह गरिरहेका छन् । थारुहरुले पनि त्यसरी कलम चलाउन, बिचार प्रवाह गर्न आवश्यक छ । हाम्रा यथार्थ अबस्था हामीले भन्दा अरुले राम्ररी नबुझ्न सक्छन् । त्यसैले थारुले आफ्नो इतिहास आफैं लेख्न जरुरी छ ।
            (   लेखक=दिल बहादुर चौधरी )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu