निर्मला प्रकरण : यातना दिएको भन्दै विशाल चौधरीको परिवारले प्रहरीविरुद्ध उजुरी दिए

Tuesday, 25 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

विष्णुप्रसाद देवकोटा/अन्नपूर्ण,,
महेन्द्रनगर := निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै न्यायका लागि परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

सोमबार विशालका बुवा वीरवहादुर चौधरीले कञ्चनपुर प्रहरीले पक्राउ गरिसकेपछि हिरासतमा यातना दिएको भन्दै उजुरी दिएका हुन् । आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा विरवहादुरले ईमेल मार्फत उजुरी पठाएका छन् । ‘मेरो छोरालाई निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै पक्राउ गरियो’ उजुरीमा विशालका बुवा वीरवहादुरले भनेका छन्, ‘हिरासतमा नै उसलाई मानसिक र शारिरीक दुबै यातना दिएर आरोप स्वीकार्न लगाइयो ।’

वीरवहादुरले छोरा काठमाडौंबाट फर्केर आएपछि मात्रै उसलाई यातना दिएर आरोप स्वीकार्न लगाइएको जानकारी भएको उजरीमा भनेका छन् । उनले राष्ट्रिय मानवअधिकार आयोगलाई यातना दिएको बारे आवश्यक छानविन गरी आवश्यक कारवाहीका लागि सिफारिस गरिपाउँ भन्दै उजुरी दिएका हुन् ।

‘कञ्चनपुर र काठमाडौं दुबै ठाउँमा हिरासतमा राखेर यातना दिइएको छ’ वीरवहादुरले भने । ‘यातना दिएर अपराध कसुर स्वीकार्न लगाउनेलाई कारवाही होस् ।’ विशाललाई कञ्चनपुर प्रहरीले मंसिर १९ गते दिउँसो २ बजेतिर भीमदत्त नगरपालिका–१८ स्थित घर नजिकैबाट पक्राउ गरेको थियो । अर्काे दिन विशालका बुवा वीरवहादुरलाई साथमा पठाएर काठमाडौं लगिएको थियो । अनुसन्धानका क्रममा विशालको डीएनए समेत परीक्षण गरिएको थियो ।

उनको डिएनए नमिलेपछि गत शुक्रबार विशाललाई रिहा गरेको थियो । शनिबार मात्रै परिवारले जिम्मा लिएका हुन् । काठमाडौंमा नै केन्द्रीय अनुसन्धान ब्यूरोले भीमदत्त नगरपालिका–१८ भगतपुरकै प्रदीप रावललाई पक्राउ गरेपछि उनकै बयानका आधारमा विशाललाई समेत प्रहरीले अनुसन्धानका लागि काठमाडौं झिकाएको थियो ।

‘केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं पठाउन भनेपछि हामीले विशालकै बुवाको साथमा काठमाडौं पठाएका थियौँ’ निर्मला हत्याप्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले भने, ‘जिल्लामा हामीले सामान्य सोधपुक्ष गरेर पठाएका हौँ, यातना दिने भन्ने सवाल नै हुँदैन ।’

शुक्रबार रिहा भएपछि अर्कोदिन महेन्द्रनगर पुगेका विशालले जिल्ला प्रहरी कार्यालय परिसरभित्रै सञ्चारकर्मीहरुसँग समेत आफूलाई डरत्रास देखाएपछि आरोप स्वीकारेको बताएका थिए ।

उपचारका लागि काठमाडौं लगियो:-

अनुसन्धानका क्रममा प्रहरी हिरासतबाट रिहा गरिएका १६ वर्षीय विशाल चौधरीलाई उपचारका लागि काठमाडौं लगिएको छ । प्रहरी हिरासतमा मानसिक र शारिरीक यातना दिएपछि विशाल बिरामी भएको भन्दै उपचारका लागि काठमाडौं लगिएको अधिकारकर्मीहरुले जानकारी दिएका छन् ।

‘प्रहरी हिरासतबाट छुटेर आइसकेपछि विशालको स्वास्थ्यमा समस्या आएको परिवारले जानकारी दिए’ अधिकारकर्मी शारदा चन्दले भनिन् । परिवारकै सदस्यले आग्रह गरेपछि अधिकारकर्मी, नागरिक समाजको पहलमा उपचारका लागि काठमाडौं पठाएको उनले बताइन् ।परिवारका अनुसार विशाल फर्केदेखि सुत्न नसकेको, रातीको समयमा बरबराउने, कराउने र डराइरहेका छन् । विशाललाई परिवारकै सदस्यको साथमा सोमबार उपचारका लागि काठमाडौं पठाइएको हो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu