सम्बन्ध टुट्यो, आत्मविश्वास टुटेन : कृति जसले हार मानिनन्, सँधै जितिन्

Tuesday, 7 February 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


'के कुराले छोरी मान्छेलाई दह्रो बनाउँछ?'
'आत्मविश्वास'
आदर्शका कुरा जस्तो सुनिन सक्छ तर जब कृति भट्टराई आफ्नो आत्मविश्वासको कथा सुनाउँछिन्, तब लाग्छ यथार्थमा आफै प्रतिको विश्वास माथि रहन्छ।
कक्षा आठ पढ्दामै बुबा गुमाउनुको पीडा, २३ वर्षको उमेरमा सम्बन्ध विच्छेद र हरेक पाइलामा साथ दिएकी आमाको मृत्यु। 'यो सब सहन गाह्रो थियो तर यथार्थबाट भाग्न मिल्दैन। स्वीकारें अघि बढें। आत्मविश्वास सधैं साथ रह्यो त्यसैले हारें जस्तो आजसम्म लागेको छैन।'
अनौपचारिक कुराकानीकै क्रममा जोडियो कृतिका स्कूले दिनदेखिको आत्मविश्वासको प्रसङ्ग।
परिवेश हो नयाँ बानेश्वर थापागाउँको अर्ग्यानिक एस्प्रोसो कफी सप। भेटिन्छिन् विश्वास, उपहार, उनको सम्झनामा जस्ता फिल्ममा अभिनय गरेर अभिनेत्रीको परिचय बनाएकी कृति। कुनै समय कृतिलाई हेर्न दर्शक नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिसिरियल 'गहना', 'कसलाई आफ्ने भनुँ' जस्ता सिरियल कुर्थिन्। अहिले उही कृति मुस्कानसहित क्याफेमा ग्राहक कुर्छिन्।

'कलाकारितामा त लागुन्जेल सबैले चिन्छन्। काम गर्न छोड्नुस् सम्झने निकै कम हुन्छन्' केही बेर हाँसेर थप्छिन्,'धन्न मलाई सम्झने पनि छन्। खुशी लाग्छ छोटो समयमै कलाकारिताले पहिचान दिएकोमा।'
टिभीमा हिरोइनहरु देख्दा उनलाई आफू पनि त्यस्तै नाच्न पाए हुन्थ्यो, आफूले नाचेको धेरैलाई देखाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। सानी थिइन् उनी टिभीमा आफैलाई कल्पना गर्दा।
'मेरो रहर एसएलसी दिए लगत्तै पूरा भयो। डान्स क्लास जान थालेको मलाई उज्ज्वल घिमिरेले फिल्म अफर गर्नुभयो। मैले नाईं भन्न सकिंन', केही मलिन हुन्छिन् र थप्छिन्,'तर परिवारले सहजै स्वीकार्नु भएन।'
१५ वर्षकी छोरी। भर्खरै स्कूल छोडेर भविष्यको बाटो केलाउने उमेरमा हुनु। र ठीक त्यही बेला फिल्म खेल्छु भनेर ढिपी कस्नु। न पैसा न इज्जत, फिल्म लाइनमा केही छैन- भन्ने विश्वास समाजले राख्थ्यो। कृतिको आमाले अभिनयमा लाग्न नदिनु स्वभाविक थियो। तर छोरीको रहरको अघि कृतिको आमा निरीह भइन्।

कृतिले सन् २००१ मा पहिलो फिल्म 'विश्वास' साइन गर्दा केही दिन घरमा कसैले उनीसँग दोहोरो कुरा गरेनन्। आमा र भाइले मुख मोडेको देख्दा उनको मन निकै दुख्थ्यो। 'सोच्थें राम्रो काम गरेर खुसी बनाउँछु', केही उत्साही भावमा थप्छिन्,'पहिलो फिल्ममै मेरो अभिनय धेरैले मन पराएपछि आमाले बुझ्नुभयो मेरो ढिपी केका लागि हो भन्ने।'

छोरीले तारिफ बटुलेपछि उनकी आमाले बुझिन् कृतिको अभिनय प्रतिको रुचि। सुनाउँछिन्,'आमाले भन्नु भयो जे गर्दा सन्तुष्टि मिल्छ त्यही गर।'
त्यसपछि उनले उपहार, उनको सम्झनामा जस्ता फिल्ममा अभिनय गरिन्।
पढाईमा अब्बल उनी आमसंचार र पत्रकारिता लिएर पढ्न थालेकी थिइन्। पढाईको विषय र रुचिका कारण रेडियोमा कार्यक्रम पनि चलाउन थालिन्।
'प्लस टूको रिजल्ट सोचेजस्तो नआए पछि भने अभिनयलाई थाती राख्ने निधो गरें। र रेडियोमा प्रस्तोता र हप्तामा एक/ दुई दिन मात्र सुटिङ हुने सिरियलमा सीमित रहें।'

जीवनको एउटा मोड जसले बलियो बनायो
बिए दोस्रो वर्षमा अध्ययनरत थिइन् कृति। उमेरले २२ टेकेको मात्र थियो। चञ्चल स्वभावकी उनी कसैको प्रेममा परिन्। सम्बन्ध गाँसिन्। सम्बन्ध प्रेमी प्रेमिकामा सीमित रहेन जब उनको विवाह भयो। कृतिको विवाह एक हिसाबमा विद्रोह थियो। समाजसँगको विद्रोह, परिवारसँगको विद्रोह।
परिवारमा निम्तिएको असहज वातावरण बीच सञ्चारकर्मी रवि श्रेष्ठसँगको प्रेम र अन्तरजातीय विवाह गरेकी थिइन् उनले।
'प्रेम प्रेम प्रेम भन्ने चाहीँ केही पनि नहुँदो रहेछ जीवनमा। सम्बन्धप्रति श्रद्दा, विश्वास र सम्मान बढे प्रेम पनि बढ्छ। र विश्वास घटे प्रेम पनि घट्छ', केही भावुक बनेकी कृति भन्छिन्,'हाम्रो सम्बन्धमा सम्मान र विश्वास बाँकी नरहेपछि बाँधिएर बस्नु ठीक लागेन।'
विवाह र विवाहले निम्त्याएको अवस्थाले उनलाई केही समय नमज्जाले थलथलायो। तर कृति सोच्छिन् भोग्नु पर्ने हरेक अवस्था पाठ हो। र उनको जीवनमा घटेको सो घटनाले पनि उनलाई केही सिकायो। भन्छिन्,'प्रेमलाई स्वतन्त्र छोड्नु हुँदैन विश्वासले बाँध्नु पर्छ तर सम्बन्ध स्वतन्त्र हुन आवश्यक छ। यही पाठ सिकें।'
डिभोर्सलाई नकारात्मक दृष्टिकोणबाट मात्र हेर्ने त्यो समयको नेपाली समाजमा कृतिले एक्लै उभिने साहस बटुलिन्। 'ममा एउटा कन्फिडेन्स थियो, एक्लै भए पनि भोकै मर्दिन। आफ्नै ढङ्गले जिउन सक्ने शक्ति छ भन्ने', आफै प्रतिको विश्वासका कारण अस्वस्थ सम्बन्धबाट आफैला़ई पर राख्न गाह्रो नभएको यसरी सुनाउँछिन्।
बाँधिए पछि अफ्ठ्यारो हुन्छ। र अफ्ठ्यारोमा रहन गाह्रो। उनको सम्बन्धको मामलामा यस्तै केही भयो जसबारे उनी खुल्न चाहन्नन् तर भन्छिन्,'जे भयो राम्रैको लागि भयो। अहिले म जहाँ छु खुसी छु।'
घरमा झगडा गरेर गाँसेको सम्बन्ध बिग्रिएला भन्ने उनले सोचेकी थिइनन्। त्यसैले डिभोर्सको कुरा चल्दा आमासँग डराएकी थिइन् उनी। तर आमाले नै भनिन्,'समस्यालाई नलुकाएर राम्रो गर्‍यौ। लुकाएको भए धेरै कुरा बिग्रन्थ्यो।'
'आमाले त्यति भन्नाले मैले कहिले पनि पछाडि फर्किएर हेरिंन र हेर्नु पनि परेन। त्यति शक्ति हुँदो रहेछ आमाको बोलीमा', कृति नोस्टाल्जिक हुन्छिन्।

अभिनयका कारण चिनिएकी कृति कलाकार कि पूर्व कलाकार?
कृति भट्टराईकै शब्दमा भन्दा- उनले केही वर्षयता आफूले चाहेको र सोचेको जस्तो फिल्म पाएकी छैनन्। अफरहरु आएका छन्। तर बस् सोचे जस्तो छैन।
'केही वर्ष पारिवारिक समस्याका कारण नदेखिएकी हुँ। तर अभिनय छोड्छु कहिले पनि भनेको छैन। राम्रो स्क्रिप्ट नपाएको पक्कै हो', उनले पर्दामा नदेखिनुको कारण खुलाइन्।
त्यसैले पर्दामा उनलाई नदेखेको करिब १० वर्षनै भयो। नयाँ दर्शकहरुले उनलाई नचिन्नु पनि स्वभाविक हो। तर यो कृति संचारको दुनियाँबाट अलग्गिएकी भने पक्कै छैन।
कक्षा ७ मा पढ्दा भर्खर १२ वर्षकी थिइन् कृति। सोही उमेर देखिनै हातेमालो बाल क्लबकी सदस्य। रेडियो कार्यक्रम प्रस्तोता। जनचेतनामूलक बाल कार्यक्रमबाट सुरु भएको यात्रा ३० वर्षको उमेरसम्म निरन्तर चलिरहेको छ।  इमेज एफएमसँग आवद्द भएर विभिन्न कार्यक्रम निर्माण तथा प्रस्तुत गर्न थालेको एक दशक भयो। अहिले उनलाई एफएमको म्युजिक एक्सप्रेस भन्ने कार्यक्रममा उनलाई नियमित सुन्न सकिन्छ। न्युज एफएममा समाचार वाचन र रिपोर्टिङमा लागेकी उनी हाल अनलाइनमा पनि सक्रिय छिन्।
भन्छिन्,'अभिनय मेरो पहिलो प्रेम जसलाई मिस गर्छु धेरै। र सञ्चारकर्म मेरो हरेकदिनको धर्म।'
क्याफे विजनेस किन?
समय र लगानीको सदुपयोग। सन्तुष्टिको अर्को खोजी। यही जवाफ दिन्छिन् कृति।
'संघर्ष हरेक क्षेत्रमा गर्नैपर्छ चाहे त्यो कलाकारिता होस् वा कफी व्यापार। म संघर्षको विभिन्न रुपलाई नियाल्ने प्रयासमा छु', कफी सपमा लगानी गर्नुको उदेश्य बारे बताउछिन्।
हरेक क्षेत्रमा राम्रो मात्र होइन उत्कृष्ट गर्न सक्ने व्यक्ति अगाडि आउँछ भन्ने विश्वास छ कृतिलाई। आत्मविश्वास र धैर्य क्षमता भएकाहरु उत्कृष्ट हुने उनको ठहर छ। 'र म आफ्नो क्षेत्रमा अगाडि आउन संघर्षरत छु।'

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu