कमैयादेखि आर्ट ग्यालरीसम्म मिट्ठु थारुको यात्रा ।(एक पटक अवश्य पढ्नुस)

Monday, 13 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
(सुनिता खनाल/नयाँ पत्रीका)
मिट्ठु थारू ! कुनै सुनिएको नाम होइन । मिडियामा छाइरहने अनुहार पनि होइन । तर, उनले बनाएका चित्र ठूला भनिएका मान्छेका घरमा सजिन थालेको धेरै भयो । चित्र बनाउने कलाकारलाई उनीहरू चिन्दैनन्, तर, मिट्ठुले बनाएका चित्र आफ्नो बेडरुम र स्टडी रुममा सजाउँछन् । 
बाबु डंगौरा थारू कैलाली टीकापुरमा कमैया बस्थे । उनको पुर्खा कमैया बस्दै दाङबाट कैलाली आइपुग्यो । थारू समुदाय जमिन्दारको घरमा कमैया बस्ने चलन थियो । उनका बाबु पनि त्यसबाट अलग रहेनन् । आमा अग्नि थारू बाबुकै साथमा कमलरी बसिन् । सरकारले कमैया मुक्तिको घोषणा गरे पनि उनको परिवारले धेरै समयसम्म सुइँको पनि पाएनन् । जीवनभरि नै अर्ध दास भएर बस्न बाध्य भए थारूदम्पती ।
मिट्ठु जमिन्दारकै घरमा तीन दशकपहिले जन्मिए । उनी जन्मिँदा आमाबुबासँग पैताला अट्ने जमिन पनि थिएन । बाजेकै पालादेखि कमैया बस्दै आएको मिट्ठुको परिवार आर्थिक संकटबाट गुज्रिरह्यो । उनका आमाबुबाले जमिन्दारको काम गरेरै चार सन्तान हुर्काए । पढाउने क्षमता थिएन उनीसँग । पढ्न नपाएपछि घरको आँगन र खेतबारीको माटोसँग खेलेर बित्यो मिट्ठुको कलिलो समय । 
मिट्ठु माटोमै खेल्न थाले । गीलो माटो, कोइला र छेस्का बटुलेर कुनै न कुनै आकृति बनाउन थाले । कहिले फूल, कहिले मान्छे त कहिले जनावर बनाउँथे । त्यही माटो पनि मिट्ठुले अरूको खेतबाट डराइडराई ल्याउँथे । 
समय बित्दै गयो । मिट्ठुका बुबा कामको खोजीमा बिहार हानिए । यता मिट्ठुसहित उनको परिवार जमिन्दारको घरमा काम गर्थे । जब दसैँ आउँथ्यो, मिट्ठुको घरमा नरमाइलो वातावरणले घेरा हाल्थ्यो । मिट्ठु भन्छन्, ‘सबैको घरमा रमाइलो हुँदा हाम्रो परिवारमा रुवाबासी चल्थ्यो ।’ ती दिन सम्झिँदा आज पनि भक्कानिन्छन् उनी । तर, केही वर्षको बिछोडपछि बाबु फर्किए । उनीहरूको घरमा थोरै भए पनि खुसी फर्कियो । 
भारतबाट फर्किएपछि बाबुले राजधानी पठाए मिट्ठुलाई । उनका दाजु राजधानीकै कपडा कारखानामा काम गर्थे । उनैको साथ लागेर काठमाडौं आइपुगे, १३ वर्षे मिट्ठू । दाजुको साहुको काकाको घरमा घरेलु काम गर्न थाले मिट्ठुले । 
साहुको घरमा बसेर काम गरिरहँदा उनले शारीरिक यातना त खासै खेपेनन् । तर, मूर्ति बनाउँछु भन्दा घरबाट निकालिदिने धम्की आयो । वैद्य परिवारलाई मूर्ति पटक्कै मन पर्दैनथ्यो । ‘मेरो घर छाडेर आजै निस्किहाल् ।’ साहुबाका यस्ता वचनले उनी धेरै रोए, आर्थिक पाटो कमजोर भएपछि त्यो घर तुरुन्तै छोड्न पनि सकेनन् । कुचो, भान्छा र जुठा वर्तन टल्काउँदै चुपचाप बसिरहे । त्यसै दिन मनमनै निर्णय गरेका थिए, ‘म पेन्टिङ बनाउँछु । भविष्यमा म कलाकार बन्न चाहन्छु ।’ 
उनको स्कुलेयात्रा सुरु भयो जनप्रेमी प्राविबाट । ०६४ सालमा एसएलसी सके । उनको परिवारमै उनी एसएलसी पास गर्ने पहिलो व्यक्ति थिए । त्यो खुसीले हजार दुःखलाई क्षणभरमै ओझेलमा पारिदियो । जीवनमा महँगो उपहार पाएझैँ रमाए उनी । 
स्कुलका कक्षामा हुँदा उनले बनाएका चित्र देखेर छक्क पर्थे गुरुहरू । लोभिन्थे सहपाठी । प्लस टु त्यहीँ पढे । तर, पास हुन सकेनन् । पढ्ने जाँगर हरायो । उनले तत्कालका निम्ति पढाइलाई किनारामा राखिदिए । 
मिट्ठु एउटा अफिसको पिउन बन्न पुगे । बिहान–बेलुका काम गर्दै दिउँसो कार्यालय पुग्थे । आएको सानो तलबबाट केही पैसा आमाबुबालाई पठाउँथे । करिब सात वर्ष त्यसरी नै चल्यो उनको कर्मचारीय जीवन । 
मिट्ठुले पढाइ छाडिसकेका थिए । तर, पढाइको पीडाले एक्कासी पिरोल्न थाल्यो । जुन रहरले छोरोलाई राजधानी पठाए बाबु–आमाले, उनैप्रति अन्याय भएको ठाने मिट्ठुले । सोचे, ‘त्यो अफिसले दिने पैसा त पेन्टिङबाटै कमाउन सक्छु । यस्तै, जिन्दगी बाँचिराखेँ भने मेरो चित्रसँगको प्रेम त्यत्तिकै मर्नेछ ।’ क्षणभरको सोचले उनको जिन्दगीको गोरेटो फेरिनेवाला थियो ।  डल्लुस्थित बिजेश्वरी कलेजबाट फेरि सुरु भयो मिट्ठुको छुटेको पढाइ । अहिले ललितकलाका विद्यार्थी हुन् उनी । प्लस टु सके । पेन्टिङमा ब्याचलर गर्दै छन् । 
सानोमा शैक्षिक ज्ञानविना नै चित्र कोर्थे उनी । मूर्ति बनाउँथे । अभ्यास गरिरहन्थे । अरूको भन्दा भिन्नै हुन्थे उनका मूर्ति । आकर्षक हुन्थे पेन्टिङ । जब रङका मनोविज्ञान बुझ्न थाले, आफूले चित्र बनाउने रङसँग भिज्न थाले । थाहा छैन, आजसम्म उनले कतिवटा क्यानभासमा रङ भरे । त्यही क्यानभाससँगै रंगियो उनको सपनाको चित्र ।
०७२ सालबाट औपचारिक रूपमै पेन्टिङमा लागे उनी । रहरसँगै व्यवसायी हुने बाध्यता आयो अब । मान्छेलाई हेरेर जस्ताको त्यस्तै आकृतिमा उतार्नु उनको खुबी हो । उनले नेवारी युवतीले धारामा पानी खाइरहेको पोर्टेट (मुहारचित्र) बनाए । आर्टिस्टले नै आयोजना गरेको अनलाइन प्रतियोगितामा त्यो पेन्टिङ प्रथम भयो । उनले आफ्नो सपनाको थोरै नजिक पुगेको अनुभूत गरे । 
मिट्ठु माटोमै खेल्थे । गिलो माटो, कोइला र छेस्का बटुलेर कुनै न कुनै आकृति बनाउँथे । कहिले फूल, कहिले मान्छे त कहिले जनावर बनाउँथे । त्यही बाटो पनि मिट्ठुले अरूको खेतबाट डराई–डराई ल्याउँथे । 
दुई वर्षअघि १६ हजार मासिक तलब लिएर स्कुलमै पेन्टिङ सिकाउन थाले । साहुबालाई दिएको च्यालेन्ज पूरा गर्नु थियो उनलाई । थुप्रै पेन्टिङ बनाए । ठमेललगायत काठमाडाैंका प्राय आर्ट ग्यालरीमा पुर्‍याए आफ्ना चित्रहरू । ‘पेन्टिङ किन्नुहुन्छ ?’ भन्दै मुस्कुराउँथे उनी । पहिलो पेन्टिङ नै बिक्री भयो चार हजार मूल्यमा । सन्तोषको कमाइ, खुसीको कमाइ अर्थात् पहिलो कमाइ । जुन कमाइले आर्टका सामग्री किने र बाँकी गाउँमा बाबुआमालाई पठाइदिए । उनले आजसम्म २० वटा पेन्टिङ बेचिसके । सबैभन्दा धेरै मूल्य २० हजारमा हिमालको दृश्य भएको पेन्टिङ बेचेका छन् उनले । भन्छन्, ‘म भर्खरै पेन्टिङ सिक्दै गरेको पेन्टर हुँ । त्यसैले पनि मैले पेन्टिङको मूल्य कम राखेको छु ।’
सिन्धुलीका गाविस अध्यक्षको आधा कदको मूर्ति बनाएर ४० हजारमा बेचे उनले । दाङको थारू संग्रहालयमा राख्न उनी मूर्ति बनाउँदै छन् । त्यसबापत उनले एक लाख रुपैयाँ लिँदै छन् । 
रहरबाट सुरु गरेको उनको पेन्टिङ यात्रा यतिवेला परिवारकै जीवन धान्ने मेलो बनेको छ । यही नै उनको आम्दानीको महत्वपूर्ण बाटो बनेको छ । पहिला मूर्ति बनाउँछु भन्दा गाली गर्नेहरू अहिले उनलाई हौसला दिन थालेका छन् । अरू क्षेत्रमा थारू समाजबाट थुप्रै प्रतिनिधित्व भए पनि यस क्षेत्रमा औँलामा अटाउनेछन् । त्यसैका प्रतिनिधि पात्र हुन् उनी । यतिवेला उनका निम्ति हौसला दिनेहरू बढेका छन् । 
मिट्ठुलाई गत वर्ष कृष्ण जन्माष्टमीका दिन थारू समुदायले सम्मान गर्‍यो । आफ्नो श्रम र सीपको मूल्यांकन हुन थालेपछि दंग छन् अहिले उनी । भन्छन्, ‘अहिले घरबाट पनि पेन्टिङ नछाड्न सुझाब आउन थालेको छ ।’ 
नेपालमा उनीजस्ता कलाकारलाई विभिन्न संघसस्था र नेपाल सरकारबाट केही हदसम्म मूल्यांकन हुन थालेकोमा रमाउँछन् उनी । मूर्ति बनाउन खप्पिस मिट्ठु चित्रको तुलनामा मूर्तिको सम्भावना कम देख्छन् । भन्छन्, ‘चित्र जति बिक्री हुन्छ त्यसको तुलनामा मूर्ति कम बिक्छ ।’ 
अहिले पेन्टिङ किन्ने ग्राहकको संख्या बढेको छ । ग्यालरीको संख्या पनि बढेको छ । पहिले अनुत्पादक क्षेत्रका रूपमा हेरिने कला अहिले सजिलै जीविकोपार्जन गर्ने माध्यम बनेको उनको अनुभव छ । 
कम बोल्ने र ज्यादा मुस्कुराउने मिट्ठुले जीवनमा मनमनै एउटी युवतीसँग बडो प्रेम गरे । यो कुरा उनले कहिल्यै व्यक्त गर्न सकेनन् । ती युवतीलाई एकोहोरो प्रेम गरिरहे । अहिले त मिट्ठु विवाह नै नगर्ने सोचमा पुगेका छन् । भन्छन्, ‘मलाई जीवनमा केही न केही नयाँ गरिरहन मन पर्छ ।’ 
क्यानभासमा कुँदिएका मिट्ठुका चित्रले धेरैको मन जितिसकेको छ । अहिले हप्ताको दुई दिन एउटा स्कुलमा पेन्टिङ सिकाउँछन् । एक दिनको १२ सय लिन्छन् उनी । त्यो पैसाबाट जीवन चलाउन सहज हुँदै गएको उनी बताउँछन् । 
मिट्ठुको पेन्टिङ जिन्दगी राम्रो हुँदै गएपछि उनको परिवारमा खुसी छाउन थालेको छ । उनको गाउँमा थारू समुदायलाई समाजले हेर्ने नजर नै बदलिएको छ । निकै टाढाटाढाबाट मान्छे मिट्ठुको घरमा जान्छन् र भन्छन्, ‘मिट्ठु तपाईंको छोरा हो ? ऊ निकै राम्रो काम गरिरहेको छ ।’ कुनै बेला कमैया बसेका उनका बुबाआमा खुसीले हाँसिदिन्छन् । छोराको प्रगति देखेर भित्रभित्रै दंग पर्छन् । गाउँ सम्झिँदै मिट्ठु भन्छन्, ‘अहिले मलाई समाजले हेर्ने दृष्टिकोण बदलिएको छ । सबैले मप्रति गर्व गर्छन् । त्यो नै मेरा लागि ठूलो सम्पत्ति हो ।’
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu