हमार सनेश सहकर्मी,
सन्तकुमार चौधरी,,
चितवन:=चितवनको रत्ननगरमा माछापोखरी खन्ने क्रममा इनार फेला परेको छ । रत्ननगर नगरपालिकाको वडा नं. ९ लालपर्सा स्थित इन्द्रराज राउतले आफ्नै खेतमा माछापालनका लागि पोखरी खन्ने क्रममा इनार भेटिएको हो ।इनार धेरै वर्ष पुरानो हुन सक्ने अनुमान गरिएको छ । माछापोखरीका लागि झण्डै सात मिटर गहिराई खनेर कोदालोले माटो सम्याउने क्रममा इनार भेटिएको इन्द्रराज राउतले जानकारी दिनुभयो ।
चारकट्ठा क्षेत्रफलमा पोखरी निर्माण भइरहेको थियो । माछा पोखरी खन्ने क्रममा इनार भेटिए लगतै पोखरी निर्माण कार्य तत्कालका लागि रोकिएको छ । पुरातात्वीक विभागले पत्रचार गरेर नै तत्कालका लागि इनार वरिपरि कुनैपनि खालका संरचना नबनाउन भनेपछि पोखरी निर्माण कार्य रोकिएको हो । इन्द्रराज राउतका जेठा छोरा वकिल राउतले विभागबाट एउटा टोलीले अवलोकन गरेर फर्कीएपछि निर्माण कार्य रोक्न पत्रचार गरेको जानकारी दिनुभयो । विभागले पत्रमा प्राचिन इनार भएकोले तत्कालका लागि सो क्षेत्रको संरचना यथात नै राख्नु भनि उल्लेख गरेको छ ।
यो इनार गौतम बुद्धको पालाको हुन सक्ने विभागले समेत अनुमान गरेको छ । विभागले केहि साताभित्रै उत्खननको कार्यलाई प्राथमिकता दिने तयारी थालेको छ । उत्खनन देखि इनारको संरक्षण कार्यमा सहयोग गर्न रत्ननगर नगरपालिकालाई समेत विभागले आग्रह गरेको छ । नगरपालिकाका प्रमुख नारायण वनले इनार संरक्षणलाई प्रमुख प्राथमिकता दिएर नगरपालिका अगाडी बढ्ने वताउनुभयो । यो विषयमा पुरातात्वीक विभागसँग पटक पटक समन्यव भइरहेको समेत जानकारी दिनुभयो ।
इनार भेटिएको ठाउँ थारु बस्ती हो । चितवनको रैथाने बासिन्दाको रुपमा थारुलाई लिने गरिन्छ । यो वस्तीमा एउटापनि इनार छैन । पहिला पहिला इनारको पानी खाए मान्छेमर्ने भएकाले इनारको साटो नजिकैको खोलाको पानी पिउनका लागि प्रयोग गर्दै आएको वस्तीका अगुवाहरु बताउँछन् । यो इनार अहिलेको नभई धेरै पुरानो हुन सक्ने स्थानीयको अनुमान छ । झण्डै नौं महिना अघि माछापोखरी खन्ने क्रममा इनार भेटिएको भएपनि प्रचार प्रशार नहुँदा यो विषय बाहिर आउन सकेको थिएन ।