कारी महतो–
जितिया पर्व थारु महिलाहरुको एउटा महान
सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा
बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग
मनाउँछन् ।
महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने
भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई
महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ ।
जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले
मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु
मात्र ब्रत बस्छन् । तर चितवन र यस आसपासका
जिल्लाहरुमा विवाहित र अविवाहित सबैले
समान रुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन
कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा
तीन दिन मनाईन्छ । सप्तमीको दिनलाई “लाहा
खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको
दिनलाई “पारन” भनिन्छ ।
जितिया ब्रत दुई किसिमको हुन्छ– साधारण
जितिया र खर जितिया । सप्तमीको बिहान
ब्रतालुहरु नजिकको खोला–नदीमा गई तोरीको
पिना प्रयोग गरी नुहाउँछन् । नुहाइसकेपछि
अलिकति तोरीको पिना घिरौलाको पातमा
राखेर खोलामा बगाउने चलन छ । तर अचेल
घिरौलाको पातको सट्टा कर्कलाको पात पनि
प्रयोग गरिन्छ । जितिया ब्रत कथा अनुसार
चिल्हो, सियरो नाम गरेका चील र स्याल जस्ता
जनावरहरु पनि जितिया ब्रत बस्ने भएकोले ती
जनावरहरुका निम्ति पातमा राखी पिना
बगाउने गरिएको हो । त्यस दिनभरि ब्रतालु
चोखो बसी बेलुका फेरि खोलामा गई नुहाउँछन् ।
सोही राती कुखुरा नबास्दै “डट्खट” वा दर खाने
गर्दछन् । “खर जितिया” ब्रतमा “डट्खट” खाइदैन ।
दर खाईसकेपछि ब्रतालुहरु जाग्राम बस्नुपर्दछ ।
उनीहरुले प्रत्येक घरबाट गीत गाउने महिला र
पुरुषहरुलाई ब्युँझाएर गाउँको एकै ठाउँमा भेला
गराउँछन् । ती रौराहर (गवैया) महिला पुरुषहरुले
त्यसबेला गाउने गीतलाई “बदहा गीत” भनिन्छ ।
बदहा गीत भोलिपल्ट अर्थात अष्टमीको बिहान
सम्म गाउने चलन छ । बिहान सबेरै ब्रतालुहरु
सबैजना खोला–नदीमा गई स्नान गर्छन् र
अघिल्लो दिनझै पातमा पिना राखी बगाउँछन् ।
स्नान गरेर फर्केपछि सबैजना भेला भई बेलको पात
टिप्न जान्छन् । त्यसलाई “बेलपाती लोर्हे जाई”
भनिन्छ । ब्रतालुहरुसँगै गवैया महिला पुरुषहरु पनि
जान्छन् । बेलको रुखको चारैतिर ब्रतालुहरु “झमटा
नृत्य” र गीत प्रस्तुत गर्दछन् । त्यसबेला गाउने
गीतलाई “फुला लोर्होनी गीत” भनिन्छ । गीत
समाप्त भैसकेपछि मात्र ब्रतालुहरुले बेलको पात
टिप्छन् । बेलको पात घरमा ल्याइसकेपछि
उनीहरुले एक दुई माना जति मास भिजाएर
राख्छन् । त्यस दिन ब्रतालुहरुले पानी पनि नखाई
उपवास बस्छन् । त्यसदिन महिलाहरु नयाँ
सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा
नृत्यमा झुमेर रम्छन् ।
उपासको बेलुकीपख करिब तीन–चार बजेतिर
ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई
पातमा अलिकति पिना बगाउँछन् । त्यसपछि
घरमा आई नयाँ नयाँ पहिरनमा जम्मा भई पाकडी
वा पीपलको बोटमूनि झम्टा नृत्यमा झूम्छन् ।
गवैया महिला पुरुषहरु पनि त्यहाँ जम्मा भई गीत
गाउँछन् । त्यसबेला गाउने गीतलाई “डार कटोनी
गीत” भनिन्छ । उता केटाहरु रुखमाथि चढेर रुखको
हाँगा काट्न तम्तयार हुन्छन् र गीत सकिएपछि
एउटा सानो हाँगा काटेर झारीदिन्छन् ।
ब्रतालुहरुले त्यस हाँगालाई भूँईमा नखसाली कथा
सुन्ने ठाउँमा लिएर जानु पर्ने हुन्छ । तर बाटोमा
केटाहरुले एउटा मोटो रस्सी तेस्र्याएर बाटो
छेक्छन् । गवैयाहरुले सुरीलो स्वरमा गीत
सुनाएपछि बल्ल बाटो छोड्छन् । त्यसबेला गाउने
गीतलाई “डगरोट गीत” भनिन्छ ।
कथा सुन्ने ठाउँमा त्यो हाँगा गाडेर सानो रुख
बनाइन्छ । रुखमा चीलको गुँड पनि बनाइन्छ ।
भूइँमा स्यालको ओढारको संकेत बनाइन्छ । त्यस
रुखको चारैतिर ब्रतालु महिलाहरु फलफुल, पानी,
दूध, दहि साथै बिहान भिजाएको मास र चामल
लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले
जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं
लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर
गएर फलाहार गर्छन् । त्यसलाई “फराहर” भन्छन् ।
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु
फेरि खोलामा नुहाएर खोलाको किनारमा
निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा
“गरग्वाङ” भनिन्छ), बनाएर मासको गेडाले पूजा
गर्छन् । मासको गेडा केहि दिनपछि त्यस
“गरग्वाङ” मा राम्ररी उम्रिएमा त्यस ब्रतालुको
सन्तान सुखको राम्रो लक्षण मानिन्छ ।
खोलाबाट घर आइसके पछि ब्रतालुहरु दहि
चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर
खानु भन्दा अगाडि गुइँठाको अङ्गारमा
काठको धुप बाली सबै खानकीको केही अंश
चढाएर मात्र खान्छन् । त्यसलाई “पारन” भनिन्छ
।
त्यसपछि भने ब्रत सकिन्छ र ब्रत सकिएपछि अन्य
परिकार माछा, मासु लगायत खान्छन् । पारन
गरिसके पछि बाँकी रहेको भिजाएको मास भुटेर
खान्छन् । त्यसदिन पनि दिनभरी झम्टा गीत र
नृत्य गरिन्छ साथै सबैको घरबाट केरा, चिउरा,
फलफूल बटुलेर कथा भन्ने मान्छे र पीपलको हाँगा
काट्ने केटाहरुलाई दिन्छन् । यसरी जितिया पर्व
सकिन्छ ।
जितिया ब्रतको कथासारः
जितिया ब्रत कथालाई जितबाहनको कथा पनि
भनिन्छ । यो कथा परापूर्वकाल देखि प्रत्येक वर्ष
जितियामा ब्रत बस्ने महिलाहरुले अनिवार्य सुन्नै
पर्ने हुन्छ । यो कथा नसुन्ने ब्रतालुहरुको ब्रत अपुरो
भएको मानिन्छ । वास्तवमा, यो कथा एउटा
पौराणिक तथा नैतिक कथा हो । यसले
ब्रतालुहरुलाई अनुशासित र कर्तव्यपरायण
बनाउनमा निकै महत्वपूर्ण भूमिका खेल्छ ।
यो कथाको पुरा अंश भन्न सात आठ घण्टा लाग्छ
तर अचेल एक दुई घण्टामै पनि सिध्याइन्छ ।
कथालाई मुख्य दुई खण्डमा ब्याख्या गरिन्छ । ती
दुई खण्डमा पनि अन्य सहायक खण्डहरु छन् । यहाँ
पहिलो खण्डको मात्र सारांश उल्लेख गरिएको छ
। कथा अनुसार एउटा छुट्टै संसारमा छुट्टै राज्यको
उदय हुन्छ जहाँ दुई वर्गको पनि अस्तित्व हुन्छ ।
एउट वर्ग राजखान्दान र अर्को रैति । सोहि
राज्यमा एउटा अविवाहित बुढीकन्याले कुनै
पुरुषको संसर्ग विना नै एउटा छोराको जन्म
दिन्छ । उमेर पाको भएकोले सबैले ती कन्यालाई
“मस्वासी बुढीया” भन्थे र उनको छोरोलाई
“मस्वासी बुढीयाको छोरा” ।
बुवाको कुनै अत्तोपत्तो नभएकोले छोराको
नामाकरण नै भएन । आमाले छोरालाई “बबुवा”
भनी सम्बोधन गर्थे । हुर्किदै बढ्दै जाने क्रममा
त्यो बालक अति नै तीक्ष्ण बुद्धि भएको र निकै
प्रतिभावान बन्दै गए । जुनसुकै खेलकुदमा उसलाई
हराउन सक्ने कोही पनि भएन । राजखन्दानका
बालकहरुसँग खेल्ने क्रममा पनि सबैलाई जित्दै
जान्थे । हारेको रिस पोख्ने क्रममा ती
राजखान्दानका बालकहरुले उनलाई निकै पिट्थे ।
तर एकदिन पिटाइसगै गाली गरे । उनलाई
भनिएको थियो– “बिना बाउको छोरो” । त्यो
बचन बाणको शब्दले उनी निकै रोए । ऊ सधंै झंै रुदै
घर आउँथे तर त्यस दिन आमाबाट आफ्नो बाबाको
बारेमा जान्ने अडान लिन्छ । केही सीप नलागी
आमाले बाध्य भएर आफ्नो जीवनमा घटेको
घटनाको वृतान्त सुनाउँछिन् । वास्तवमा उक्त
गरीब बुढी एक्लै बस्थे ।
एकदिन राजपरिवारका
सदस्यको
क्रियाक्रमका लागि
बुढीलाई पनि रक्सी
बनाउन धान ल्याइ
दिएका हुन्थे । तर
वर्षातको मौसमका
कारण धेरै दिन झरी
बादल लागेर धान
सुकाउन नपाएकोले
बुढीले भगवानको जप
गर्दै जसरी भए पनि धान सुकाउने व्यवस्था
मिलाई दिन प्राथना गरिन् र आफ्नो भाकल पूरा
भएपछि आफूले भगवानले चाहेको कुरा अर्पण गर्ने
भाकल गरिन् । भाकल पुरा भएपछि बुढीले आफ्नो
बाचा बिर्सिइन् जसले गर्दा भगवानले श्राप दिदै
घरको करेसाबारीमा पिसाब फेरिदिए ।
पिसाबबाट हरियो लहलहाउँदो साग उब्जियो तर
श्रापको कारणले वरिपरिका सबै तरकारीका
बोट सुकेर गए । तरकारीको अनिकालमा बुढीले
भगवानले पिसाब फेरेको ठाउँमा उम्रेको साग
पकाएर खाएपछि सोही दिन देखि गर्भवती
भएको सबै कहानी बुढीले आफ्ना छोरालाई
बताउँदै “बाबु तिम्रो बाबा स्वयम् भगवान नै हुन्”
भनी आश्वस्त पारिन् । अब भने छोराको मन
शान्त त भयो तर छोराको अर्को अडान
बुढीआमाले थेग्न सकेन । वास्तवमा छोराले
लिएको अडान थियो “बाबाको खोजी गरेर
आफ्नो नामाकरण गराउने” ।
केही सीप नलागी बुढीआमाले आफ्नो एक्लो
सहारा आफूबाट टाढा पठाउन बाध्य भईन । त्यो
केटो वर्षौ सम्म बाबाको खोजीमा भौतारिदै
गए र त्यस क्रममा उनले थुप्रै थुप्रै दुःख र पीडामा
बाँचीरहेका मानव र पशुपंक्षीहरुलाई भेटे र सबैको
आग्रह बमोजिम उनीहरुको दुखको कारण र
त्यसबाट मुक्त हुने उपाय पनि भगवानबाट पत्ता
लगाउने आश्वासन दिदैं गए । कठोर यात्रा पछि
उनी त्यस्तो ठाउ“मा पुगे जहा“ समुद्र पार गर्न
सकेको खण्डमा आकाशको र धर्तीको मिलन हुने
क्षितिज फेला पर्छ । त्यसै ठाउँबाट आकाश
मार्ग भएर उनले भगवानलाई भेट्न सफल भए । उनी
देवी देवताको रथ गुड्ने बाटोमा कुरेर बसे । त्यस
बाटो भएर गुड्ने सबै रथ रोक्दै “भगवान को हो ?”
भनी सोध्थे । देवी देवताको रथ रोक्न सक्ने
बालक कुनै साधारण बालक हुनै नसक्ने
अड्कलकासाथ सबैले भगवानकै छोरा भनी परिचय
पाउँथे ।
अन्तमा त्यो बालकले भगवानको पनि रथ रोकी
दिन्छ । भगवान पनि अचम्ममा पर्दै “को हौ
तिमी” भनी सोधे । बालकले आमाको सबै कथा
सुनाएर उनकै छोरा भएको पुष्टि गरेपछि भगवानले
पनि आफ्नै छोरा स्वीकार गरी काखमा राखी
मुख्य उद्देश्यको बारेमा सोध्छन् । आफ्नो छोरा
पहिचानको लागि यति संघर्ष गरी भेट्न आएको
थाहा पाई नामाकरण गरी पहिचान दिन्छन्–
“आजैदेखि तिम्रो नाम ‘जितबाहन’ भयो,
संसारका सबै प्राणी जगतले तिम्रो नाममा
जितिया ब्रत बस्नेछ ।” त्यति मात्र नभई बालकले
यात्राको क्रममा भेटिएका सम्र्पूण पीडित र
दुखीहरुको रहस्य पनि भगवानबाट थाहा पाए
अनि त्यसबाट छुटकारा दिलाउने उपाय पनि
आर्शिवाद स्वरुप पाए । फर्किने क्रममा पहिले
आफूले भेटेका सबै दुखी प्राणीहरुलाई उनीहरुका
दुःखका रहस्य र मुक्तिको उपाय भन्दै गए ।
वास्तवमा ती दुखीहरुको दुःखको कारण
उनीहरुको पूर्वजन्मको फल नभई यहि जन्ममा
गरेको कुकर्मको फल हो भनी बताउँदै फर्के । उनले
दिएका ज्ञानगुनका उपदेशहरु यसप्रकारका छन्
“आफ्नो व्यक्तिगत मात्र नभई अरुको सरसफाइमा
पनि ध्यान दिनुपर्ने, वातावरण सरसफाइमा ध्यान
दिनुपर्ने, पाहुनाहरुको सत्कार गर्नुपर्ने, अरुको
बालीनाली मास्न नहुने, बाटोघाटो मास्न नहुने,
आफ्नै खाद्यान्नमा चित्त बुझाउनु पर्ने, आफूले
जानेका ज्ञानगुनका कुराहरु अरुलाई सिकाउनु
पर्ने, छोराछोरीको विवाह समयमै गरिदिनु पर्ने”
इत्यादि हरेक उपदेशको छुट्टाछुट्टै पट्कथाहरु पनि
जितियाको कथाको यस खण्डमा रोचक
तरिकाले बयान गरिन्छ ।
कथाको दोश्रो खण्डमा गाउँशहरका महिलाहरु
जितिया ब्रत बसेको देखेर चील र स्याल पनि ब्रत
बस्छन् । चीलको नाम चिल्हो र स्यालको नाम
सियरो थियो । उनीहरु स्वर्गका श्रापित दुई
परीहरु मृत्युलोकमा विभिन्न चोला परिवर्तन गर्दै
बस्दै आएका थिए । एउटा नदी किनारको
घघुपाकडीको रुखको माथि चिल्हो बस्थे भने
सियरो रुखमूनि ओढार बनाएर बस्थे ।
मानिसहरुको देखासिकी गरेर दुवैजना खर
जितिया ब्रत बस्छन् । अरु ब्रतालुहरुले
घिरौलाको पात वा कर्कलाको पातमा
बगाएको पिनाले नुहाएर ब्रत शुरु गर्छन् । उपासको
दिनभरी पानी पनि नखाई ब्रत बसेपनि रातको
समयमा सियरोले भोक खप्न सकेन । चिल्हो
निदाएको समयमा नदीपारी जलिरहेको लासको
हड्डी खान्छ । चिल्होले निष्ठापूर्वक ब्रत सफल
पार्छ भने सियरो असफल हुन्छ ।
चोला परिवर्तन गर्ने समय आएपछि चिल्हो र
सियरो सुन्दर कन्याको रुपमा जन्म लिन्छ । उमेर
पुगेपछि चिल्होको विवाह जमिन्दारको
छोरासँग हुन्छ र सियरोको विवाह
राजखान्दानमा हुन्छ । दुवैले छोरा पाउँछन् । तर
सियरोको छोरा मर्छ । एवम् रितले चिल्होको
सातवटा छोरा हुन्छ र निरोगी र हट्टाकट्टा
हुन्छ भने सियरोको सातैवटा छोराहरुको
अल्पायुमै मृत्यु हुन्छ । सियरो डाह गर्न थाल्छिन् र
चिल्हो छोराहरुलाई मार्ने षडयन्त्र गर्छिन् । तर
चील्होले पूर्वजन्ममा निष्ठापूर्वक जितिया ब्रत
बसेकोले सियरोको हरेक षडयन्त्रहरु असफल हुन्छ ।
त्यसपछि सियरोले चिल्होलाई बोक्सीको
आरोप लगाउँछ । तर चिल्होले सियरोलाई पूर्व
जन्ममा जितिया ब्रत बसेको बेलामा गरेको
पापको परिणाम हो भनेर बताउँछ तर सियरोले
पूर्वजन्मको सबै कुरा बिर्सीसकेको हुन्छ र प्रमाण
पेश गर्न भन्छिन् ।
यसै बीचमा थुप्रै पटकथाको रुपमा चिल्होले
सियरोलाई ज्ञानगुनका कुराहरु सुनाउँछ ।
अन्तमा चील्होलाई सियरोलाई सोहि
घुघुपाकडीको रुखमूनि लगेर चराको गुँडमा रहेको
कुराहरु र स्यालको ओढारमा रहेको कुराहरु
सिपाहीहरुलाई निकाल्न लगाउँछ । स्यालको
ओढारबाट सियरोले खाएको हड्डीका टुक्राहरु
फेला पर्छ भने चीलको गुँडबाट मासका बोट
उम्रेको देखिन्छ जुन कुरा चीलले आवश्यक परेको
बेलामा लहलहाउँदो तवरले उम्रियोस् भनेर भाकल
गरेर छोडेको हुन्छ । अन्तमा सबै प्रमाण देखेर
सियरोले प्राण त्याग गर्छ तर चिल्होले
निष्ठापूर्वक ब्रत बसेकोले जप गरेर सियरोलाई
बचाउँछ र समय आएपछि दुवैजनाले पुनः चोला
परिवर्तन गरेर दुवै मिली अर्को जीवन बिताउँछ ।
यसरी कथा समाप्त हुन्छ ।
वर्तमान समयमा यसको सान्दर्भिकताः
थारु समुदायमा जितियाको ब्रत बसेका
ब्रतालुहरुले सुन्ने जितबाहनको कथा निकै
महत्वपूर्ण मानिन्छ । निष्ठापूर्वक ब्रत बसी
बेलुकाको समयमा जितबाहनको कथा सुन्ने
महिलाहरु जीवनभरी नै अनुशासित हुन्छन् ।
महिलाहरुलाई मात्र नभई पुरुष वर्गलाई पनि
कथाले विभिन्न व्यवहारिक ज्ञान सिकाउँछ र
व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका
लागि कथाले महत्वपूर्ण भूमिका खेल्दछ ।
बाबाआमाले आफ्ना छोराछोरीले बिराएको
समयमा “तिमीले जितियाको कथा सुनेनौं ?”
भनी झक्झकाउने गर्दछन् । वर्तमान समयमा
नैतिकताको खडेरी पर्न थालेको बेलामा
थारुलगायत जितिया पर्व मनाउने सबै समुदायलाई
जितियाको या जितबाहनको कथाको
माध्यमबाट नैतिकवान बनाउन सकिन्छ ।
पहिचानको वकालत गर्नेहरुले समेत जितबाहनले
चाहेकै जस्तो पहिचान खोजीरहेका प्रसंग पनि
मिल्छ । कथाअनुसार आफ्नो नाम या
पहिचानका लागि भगवानलाई भेट्न हिडेको
केटोले आफ्नो नामाकरण मात्र चाहेको भए उसले
बाटोमा भेटेका दुःखीहरुको पीडालाई कम गर्न
सक्ने थिएन । तर उनले पाएको अधिकार सहितको
पहिचानले सबैको दुःख पीडाबाट मुक्तिको
मार्ग पहिल्याउन सफल भए । देशको वर्तमान
परिस्थितिमा पहिचान पक्षधरले चाहेको
पहिचान पनि यस्तै खालको अर्थात सबै वर्ग,
जाति, लिंग, धर्म, क्षेत्रको पीडा कम गर्न सक्ने
खालको पहिचान हो । यसकारण पनि
जितबाहनको कथा एउटा पौराणिक कथा भएता
पनि समय सान्दर्भिक रहेको देखिन्छ ।
लेखक :- कारी महतो थारु मैग्जीन "सन्हाति" का प्रधान सम्पादक हुन