प्रत्येक व्यक्तिको आफ्नो पहिचान हुन्छ । सोही पहिचान उसलाई अरुसामु चिनाउने गर्दछ । संसारले उसलाई विभिन्न नाम वा संज्ञा वा अरु सूचकद्वारा जान्ने गर्दछ । ऊ को हो ? भन्ने प्रश्नको उत्तर नै उसको पहिचान हुन्छ । ती उत्तरहरु समाजमा स्थापित हुन्छन् र त्यसले सामाजिक सत्ताको निर्माण गर्दछ । जस्तो कि कुनै व्यक्ति नामले चिनिन्छ, थरले चिनिन्छ, जातले चिनिन्छ, धर्मले चिनिन्छ, भाषाले चिनिन्छ, प्रजाती (मानव), ठाउँको नामले चिनिन्छ । क्षेत्र, पेशा, लिङ्ग, वर्ग, देशको नामले चिनिन्छ । त्यसैगरी ऊ पितृसत्ता वा मातृसत्ताको हिस्सा बन्दछ ।
हाम्रो पितृसत्तात्मक समाजमा पुरुषहरुको पहिचान स्थायी हुन्छ भने महिलाहरुको पहिचान परिवर्तनशील ।झण्डै देशको ५१.५ प्रतिशत रहेको महिलाको पहिचान व्यवहार र कानुनमा समेत परिवर्तनशील हुन्छ । जसलेगर्दा कयौं महिलाहरु आत्मविश्वास गुमाउने गर्दछन् । प्रष्टता नभएर अकमकाउने गर्दछन् । ऊ को हो भन्ने प्रश्नको उत्तर खोज्दा खोज्दै मानसिकरुपमा उनलाई बलियो हुन समय लाग्दो रहेछ । सही समयमा आफुलाई नचिन्दा आफुभित्रको अथाह क्षमता गौण हुँदोरहेछ । नहुनु पनि कसरी ? बाल्यावस्थामा छोरी एउटा नामसहित आमा वुवाको छोरी, हजुरवा–आमाको नातिनी, भाइको दिदि बहिनीजस्ता सम्बन्धद्वारा सामाजिकरुपमा आफ्ना पहिचान बोक्छे । स्थानियतहमा पञ्जिकरण गरिदा नामसहितको जन्मदर्ता प्रमाणपत्र, पहिचानपत्र पाउँछे । १६ वर्ष पुरा भएपछि देशको कानुनबमोजिम नागरिकता पनि पाउँछे । नागरिकतामा उनी बुवाको नामबाट चिनिन्छे । उनलाई जन्माउने आमाको नाम लेखिदैन् ।
समाजमा दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्नु पर्दोरहेछ । किनभने महिलालाई समाजले बनाएको खोटो नियममा पुरुषभन्दा कमजोररुपमा हेर्ने गर्दछ ।
विवाह पश्चात श्रीमानको थर र जात समेत कतिपय अवस्थामा बदलेको पाइन्छ । हाल आएर नेपालको संविधानअनुसार आमाकोे नामबाट पनि नागरिकता पाउने व्यवस्था त छ तर त्यो झण्झटिलो प्रक्रियामुखी भएको कारणले बुवाको नामबाट बनाउने नागरिकता सहज देखिन्छ । अब उनले एउटा नयाँ पहिचान पायो; संसारलाई चिनाउने नाम पायो, थर पायो, अभिभावक पायो, राष्ट्रद्वारा कानुनबमोजिम पाउने सेवासुविधा पाउनयोग्य भयो । जागिर पाउने भयो तर यो पहिचान उनको अन्तिम पहिचान भएन । सामाजिकरुपमा उनलाई हेर्ने दृष्टिकोण बदलिदैन, उनको क्षमता, योग्यता, कला, सीपमाथि प्रश्न चिह्न उठाइन्छ । व्यवहारतः समाजमा दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्नु पर्दोरहेछ । किनभने महिलालाई समाजले बनाएको खोटो नियममा पुरुषभन्दा कमजोररुपमा हेर्ने गर्दछ । पुरुषलाई दक्ष र सक्षम बनाइन्छ । छोरी भनेको अर्काको सम्पति, नासोकोरुपमा लिने गरेको पाइएको छ । जसलेगर्दा उसलाई मानसिकरुपमा कमजोर बनाउदै लैजान्छ । ऊ जन्मेको घर उसको हैन्, ऊ हुर्केको समाज उसको हैन्, उनी त अर्काको लागि बनेको अरे !
मानव चरित्र स्वार्थी हुन्छ । उसलाई सन्तानबाट पनि स्वार्थ हुन्छ । बुढेसकालमा छोराले पालनपोषण गरोस्, छोरीको घरको पानी पनि पिउन नपरोस् भन्ने चाहना राखिन्छ । लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यकमा यो प्रंशङ्गको व्याख्या गरेका छन् । त्यस्तो चाहना अफवाह हो, भ्रम हो, रुढीबादी मानसिकताको उपज हो । पिओस् पनि कसरी सारा सम्पति त छोराका लागि ! मर्दा छोराको हातवाट अन्त्येष्टि हँुदा कसैले नदेखेको स्वर्ग जान पाइने स्वार्थले सारा पैतृक सम्पत्तिमा छोराको हक हुने सामाजिक व्यवस्थाको संकिर्णता जटिलरुपमा समाजमा छ । यदि स्वर्ग हुन्छ नै भन्ने अन्याय गर्नेहरुलाई स्वर्ग जान त्यती सहज होला त ? कस्तो अचम्म आफ्नै सन्तानलाई न्याय गर्न नसक्ने बाआमाका लागि स्वर्गको ढोका खुल्ला त ? एउटालाई आफनो र अर्कोलाई पराई ठान्ने ? यस्ता थुप्रै प्रश्न आफैलाई सोध्न जरुरी छ । धर्मशास्त्रको परिकल्पनाको बारेमा धेरै चर्चा नगरौं । यो सवको जड पितृसत्तात्मक सोच हो । वर्षौदेखि यसले मान्छेलाई आन्तिरिक तथा बाह्य बातावरणद्वारा यस्तै सिकाएको हुन्छ । मुत्यु अन्तिम सत्य हो भनी जान्दाजान्दै, पितृसत्तात्मक सोचबाट बाहिरिन नसकी छोरा र छोरीवीच भेदभाव गर्दछ ।
विवाहपश्चात श्रीमानको घरमा नामका लागि मात्र तथा सरकारी रकम दस्तुर छुटकालागि जग्गा रजिष्टिरी तथा अन्य सम्पत्तिमा नाम दिइएको पाइन्छ ।
‘छोराछोरी बराबरी आधा धर्ती आधा आकाश’ कानुनीरुपमा पैतृक सम्पतिमा छोराछोरी दुवैलाई समान हक अधिकारको व्यवस्था ल्याइसकेको छ । तर व्यवहारमा यसको सफल कार्यान्वयन हुनसकेको छैन् । यो कार्यान्वयन नहुनुमा छोरीहरु उदार र निस्वार्थ भएर पक्कै होइन् । केही कानुनी प्रावधान र केही समाजिक बाधाको कारणले रहेको छ । सम्बन्धहरु बचाउनकालागि दाजुभाइ र बुवाआमासंगको सुमधुर सम्बन्ध विग्रन नदिनकालागि उनीहरु पैतृक सम्पत्तिको अधिकारभोग माइतपटि नै छाडेको पाइन्छ । अधिकांश महिलाहरु सरकारी पहिचानद्वारा पाउने सम्पतिमा हक दावी गरेको देखिदैन् । आर्थिकरुपमा उनीहरुको पैतृक सम्पतिमा पहिचान देखिन्न । विवाहपश्चात श्रीमानको घरमा नामका लागि मात्र तथा सरकारी रकम दस्तुर छुटकालागि जग्गा रजिष्टिरी तथा अन्य सम्पत्तिमा नाम दिइएको पाइन्छ । बेच्ने तथा के गर्ने अधिकार, निर्णय अधिकार दिएको पाइदैन ।
महिलाहरुको पहिचानको सबैभन्दा महत्वपूर्ण कोशेढुङ्गा विवाहपछि नयाँ जीवन, नयाँ घर हुन्छ । जहाँ पहिचान बदलिन्छ, बोलाउने नाम बदलिन्छ, ठाउँ बदलिन्छ, नातासम्बन्ध बदलिन्छ । दायित्व बदलिन्छ, काम बदलिन्छ, कर्तव्य बदलिन्छ, खानपान गर्ने तरिका बदलिन्छ । ठूलाबडासँग गरिने व्यवहार बदलिन्छ, सम्बोधन बदलिन्छ, चालचलन बदलिन्छ । रहनसहन बदलिन्छ, पहिरन बदलिन्छ हुदाँहँुदै आफैलाई हेर्ने आफ्नो नजर बदलिन्छ । अनि बल्ल उनी झल्यास्स विउझेजस्तो हुन्छ र बुवाको घरमा पाएको स्वतन्त्रता सम्झिन्छ । थोरै भएपनि एउटा स्वतन्त्र छोरी विवाहमा आफुलाई गरगहना र सुन्दर साडीभित्र सजिएकी गुडियाजस्तो । एउटा वस्तुजस्तो जो सुन्दर सपनाकासाथ विदाई गरिन्छ । योग्य संरक्षकको जिम्मा भनेर कन्यादान गरिन्छ । दानमा पाएको वस्तुको पहिचान बडो अपठ्यारो हुँदो रहेछ । समाजिक चलन यस्तैछ । अचम्मको सामाजिक परिवर्तन ।
हाम्रो समाजले महिलाहरु दवाउनको लागि संस्कारको ठूलो आड लिन्छ । तराईतिर विवाहपश्चात गरिने केही विधिहरुमा घुङ्गघट दिने, चुमौन हुदा बुहारी स्वागत गर्दा डालाले टाउको दवाउने, बेहुलीको टाउकोमा सुरक्षाको नाममा घुम्टो दिइन्छ । आफनो शरीरलाई कैदीजस्तो बनाउनु पर्ने अपराधबोध गरेर लुकाएको नजरजस्तो अनुहार छोप्ने चलन जसलाई संस्कारको नाम दिइएको छ । त्यो केवल दवाउनकालागि, पहिचान हराउनका लागि, शरीरका महत्वपूर्ण सञ्चारमाध्यममा बाधाकालागि आँखा दुनिया नहेरोस भनेर, कान सुन्न नपाओस भनेर । मुख असललाई असल र खरावलाई खराव भनेर नबोलोस भनेर मात्र । उपभोग्य वस्त्ुाकोरुपमा आदेश पालन गर्नकालागि पहिचान पाइन्छ । यसलाई संस्कारको मुकुण्डो धारण गराउँदो रहेछ ।
अहिले छोरीहरु र महिलाहरु म यो हुँ भनेर प्रश्नको उत्तर खोज्नेबेला भएको छ । विवाह जीवनको महत्वपूर्ण पाटो हो । तर अन्तिम लक्ष्य हैन ।
पाउन त पाइन्छ पहिचान कसैको धर्मपत्नी, कसैको पत्नी, कसैको बुहारी, आमा, भाउजु, काकी आदिजस्ता । साथै ऊ जन्मेको गाउँ, शहर, ठाउँ, जिल्ला, वा भनौं देशको नामले चिन्निछ । उसमा उसले गर्व त गर्छे तर जिम्मेवारी पनि बढ्दै जान थाल्छ । गलतलाई गलत र खरावलाई खराव भनी भने उसको मात्र बदनामी हुदैन । गाउँदेखि देशकै बदनामी गराउँदो रहेछ । सबैसँग बोल्नु हुदैन भन्ने चलनले पिरोल्दो रहेछ । अत्यधिक महिलाहरु घरेलु हिंसा, शोषण, दमन, उत्पीडनको सिकार हुनुपर्दो रहेछ । पहिचान त कता कता ? पीडित बन्नु पर्दो रहेछ । त्यसैले अधिकांश महिलाहरु चुप लाग्नुमा नै समझदारी सम्झेर भाग्य सम्झेर बाँच्दा रहेछन् ।
महिलाहरु अवस्था हेर्दा अहिले छोरीहरु पहिचान संकटमा छ । अहिले छोरीहरु र महिलाहरु म यो हुँ भनेर प्रश्नको उत्तर खोज्नेबेला भएको छ । विवाह जीवनको महत्वपूर्ण पाटो हो । तर अन्तिम लक्ष्य हैन । उसको पहिचान, उसको सौख उसको सीप, उसको कलाको क्षमता, उसको दक्षता, निखार्ने र देखाउनेबेला आएको छ । आफ्नो पहिचानसहित आफ्नो अस्तिव, सम्मान जोगाउनेबेला आएको छ । आफ्नो लागि आफै गर्न सक्ने दृढ संकल्प गर्न सकेन भन्ने पहिचान बन्ने हैन हराउँदै जाने पक्का छ । यसमा सबै सचेत हुनु जरुरी छ । यसरी लैंङ्गिक समानता र समताको सिद्धान्तद्वारा समाज चल्नु जरुरी छ ।
लेखिका :=ममता चौधरी