[[कबिता]]
"म हराएको छैन बा"
"कुण्डी नलाउनु होला दिलको द्वारमा"
बसन्तले अंगडाई लिँदा,
वर्षाले हाछ्यौँ गर्दा अनि ग्रीष्मले कोल्टे फेर्दा,,
म आउने छु बा।
घरि बादल बनेर,
घरि हुरि बतास बनेर,,
ढोका ढक्ढक्याउन।
"नियाल्नु होला ब्यारेकतिर"
एक्ले बरको डालीमा बसेर काग कराउँदा,
सुगाले मकै बारीमा आतंक मच्चाउँदा
अनि संग्राम खोला बेस्सरी सुस्साउँदा,,
म आउने छु बा।
घरमुनिको आँप लटरम्म फल्दा,
गाइने दाईले सारंगी बजाउँदा
अनि आकाशमा चांद मुस्कुराउँदा,,
जरूर आउनेछु म।
"लकेजभरी खुशी बोकेर"
हजुरको पैतलामा गाडिएका छेस्काहरू
निलकाँडाले निकाल्न,
चर्किएको घरको भित्ताहरू टाल्न
अनि साल सिसौका पत्ताहरू खसाल्न,,
म आउने छु बा घाउमा मलमपट्टि बनेर,
अँध्यारोमा मैनवत्ति बनेर
अनि समस्याको नंग्रा काट्ने नङकट्टी बनेर
एकदिन पक्कै आउनेछु।
"गाऊँ थर्किने गरि गीत गाउँदै"
ठूली छोरी मेहंदीमा सजिँदा
अनि छोराको कलममा मसी सकिँदा
म आउनेछु बा आफ्नो मूटुको टुक्रा अरुलाई सुम्पिँदा।
दिदिको हातको सप्तरंगी टीकाले निधार सजाउँन,
खेतमा हल चलाउँन
अनि काजी बाको मुखमा नोटको बन्डलले हिर्काउन,,
छिट्टै फर्कि आउनेछु।
"म हराएको छैन बा"
मरुभूमीमा पसिना सिंचिएर!
सपनाको खेति गर्दैछु।
जवानी बेचेर खुशीका दानाहरूले,
जिन्दगीको खाली भकारी भर्न,
म आउनेछु बा।
आँसुको सरबत पिएर,
मृत्युलाई धोका दिएर
अनि उज्वल भविष्य मुठ्ठिमा लिएर,,
घरमा खुशीको दीप जलाउन;जरूर आउनेछु।
"हो म हराएको छैन बा"
समय मात्रै टाढिएको हो।।
प्रतीक संग्रामी
Admin:अंकर 'अन्जान सहयात्री'
