(लेखक:=विराट अनुपम,,)
इटहरी := प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकको मेयर हुनासाथ रोमनाथ ओली एकाएक लोकप्रिय भए । कारण– उनले दमकका आदिम रैथाने धिमाल जातिको सम्मानको लागि नेपालमै पहिलो पटक फस्ट सिटिजन घोषणा गरे ।
फस्ट सिटिजन अर्थात् प्रथम नागरिक भनेर धिमाल जातिलाई घोषणा गर्नुको अर्थ धिमालहरूको आदिम आवादी र उत्पत्तिसँग दमक जोडिएकाले हो । धिमालहरू दमकमा बाहिरबाट मान्छेहरू आप्रवासन भएर आउनु अगाडिदेखि नै बसोबास गरेकाले हो ।
फस्ट सिटिजन भएपछि दमकमा धिमालहरूको आधिकारिक मान्यता र सम्मान बढ्यो । जुनसुकै पोर्टफोलियो भएका भए पनि नगरका धिमालका एक प्रतिनिधि पोडियसमा भिआइपी भएर बस्न पाए । वडाध्यक्ष वा सदस्य भएर नगरको भूमिकामा भएका धिमालले पनि प्रधानमन्त्री प्रमुख अतिथि भएको कार्यक्रममा प्रधानमन्त्रीसँग कुम जोडेर बस्न पाउने आधार फस्ट सिटिजनले दियो ।नगरका हरेक जागिर र अन्य कार्यक्रममा आदिवासीको तर्फबाट धिमालको मुख्य मान्यता हुने भयो । धिमाल जातिको संस्कार झल्काउने २ युवायुवतीको मूर्ति नगर परिसरमा बन्यो । यसरी सीमान्त धिमालहरू फस्ट सिटिजनको घोषणा हुनासाथ एकाएक नयाँ इज्जत र प्रतिष्ठामा पुगे ।
हो ठीक यसैगरी इटहरीमा पनि यो क्षेत्रमा आदिम आवादी गरेका थारुहरू फस्ट सिटिजन हुनुपर्छ भन्ने कुरा मलाइ ‘क्लिक’ भयो । मैले यो विषयमा इटहरीका थारु अगुवाहरूसँग जिज्ञासा राखे । खासगरी थारु संस्कृतिका जानकार तथा प्राज्ञ राम धामी र थारु समुदायको नेतृत्व गर्ने इटहरीका चितनारायण चौधरी र सुशीला चौधरीसँग मैले यो कुरा उठाएँ । सबैको एउटै धारणा थियो, ‘इटहरीमा थारुलाई फस्ट सिटिजन बनाए राम्रो हुन्छ ।’ मैले यो कुराको आफूले काम गर्ने मिडियमा समाचार पनि बनाएँ ।थारु नै रहेका इटहरीका मेयर द्वारिकलाल चौधरीसँग पनि मैले इटहरीमा थारुलाइ फस्ट सिटिजन बनाउन तपाईंको किन चासो छैन भन्ने प्रश्न गरेँ । यसमा मेयर चौधरीले लाचार र भावुक उत्तर दिए । उनले भने, ‘मलाई अहिले पनि थारुको मात्रै कुरा गर्छ भन्ने आरोप छ । अझ यो गरेँ भने मलाई त्यो आरोप लाउनेहरूले त्यही कुराको गोयबल्स प्रचार गरेर राजनीति सक्छन् ।’
मैले दाङको तुलसीपुर नगरमा थारु भाषालाई थारु मेयरले नै कामकाजी भाषा बनाएको र काठमाडांैमा नेवार समुदायका मेयर केशव स्थापितले नेपाल भाषालाई कामाकाजी भाषा बनाएको उदाहरण दिँदा पनि मेयर चौधरी ‘कन्भिन्स’ भएनन् । अझ ती सबै तत्कालीन एमालेकै मेयरहरू हुन् भन्दा पनि मेयर चौधरी ‘कन्भिन्स’ हुन सकेनन् ।मेयरसँगै दर्जन वडाध्यक्ष र थुप्रै थारुहरू जनप्रतिनिधिहरू हुँदा पनि इटहरीमा थारु भाषालाई पनि नेपालीसँगै सरकारी कामकाजको भाषाको मुद्दा नगरकार्यपालिकामा उठेको छैन । न त दमकमा जस्तै फस्ट सिटिजन बनाउने कुरामा कुनै सार्वजनिक बहस भएको छ । केवल आदिवासी सङ्ग्रहालय र अन्य खुद्राखुद्री भौतिक पूर्वाधारका कामहरूमा इटहरी उपमहानगरका कागजी कामहरू भइरहेका छन् । तर, दीर्घकालीन महत्वको र यो क्षेत्रका रैथाने थारुहरूको संस्कृति, संस्कार अनि भाषालाई उच्च मान्यता दिनेगरी ‘फस्ट सिटिजन’का कुनै पनि कामहरू भएका छैनन् ।
यसकारण इटहरीमा थारु हुनुपर्छ ‘फस्ट सिटिजन’
इटहरीको नाम थारु भाषासँग जोडिन्छ । इटहरीका पुराना निजी जग्गा जमिनको सबै स्वामित्वको इतिहास खोज्दा थारुहरू भेटिन्छन् । अरु त अरु हाल इटहरीका चोकमै रहेको अर्बाैँ मूल्यको नगरपालिकाको जग्गा अनि पोखरी दिने दाताहरू पनि थारु नै हुन् । इटहरीलाई पहाड अनि भारतबाट आप्रवासीहरू आउन योग्य बनाउनमा थारुहरूको ठूलो योगदान छ । खासमा इटहरीबाट थारुहरूको इतिहास बिर्सिँदा इटहरी पूर्णत अपूर्ण हुन्छ ।कुनै बेला ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या भएका थारुहरू इटहरीमा घटिरहेका छन् । थारुको सङ्ख्या नघट पनि आप्रवासीहरूको सङ्ख्या जग्गा प्लटिङसँगै बढेकाले उनीहरू अल्पमतमा पर्ने क्रममै छन् । २०६८ सालको जनगणनामा इटहरीमा थारुहरूको जनसङ्ख्या १९ प्रतिशत हाराहारी मात्रै छ । १ लाख ४० हजार ५ सय १७ जनसङ्ख्यामा जम्मा २७ हजार २ सय १० मात्रै थारु छन् । यो सङ्ख्या अब ३ वर्षपछि २०७८ सालमा गनिने नयाँ जनगणनामा सङ्ख्या थप कम हुनेछ ।
एकातिर सङ्ख्यामा थारुहरू पहाडका खसआर्य, आदिवासी अनि भारतबाट आएका मानिसको जनसंख्याको कारण चेपुवामा छन् । संस्कृतिकै क्षेत्रमा पनि थारु संस्कृतिको अतिक्रमण बढ्दो छ । थारुका बच्चाहरू क्रमशः आफ्नो मातृभाषा बिर्सन थालेका छन् । अझ धर्म परिवर्तन गराएर थारुहरूको पुरानो संस्कार मासिने क्रम पनि इटहरीमा चर्को रूपमा बढेको छ । थारु बस्तीमा खुलेका चर्चहरूले थारुहरूको पुरानो संस्कार एकएक गर्दै उखेलेर उनीहरूको मौलिकता मासिरहेको छ ।थारुहरूले इटहरीको सरकारी ‘जब मार्केट’मा अन्य क्षेत्रबाट आएका आदिवासीहरूसँग भिड्न नसकेर जनजाति कोटामै जागिर गर्न पनि समस्या छ । अरु त अरु यहाँका रैथाने थारुहरू इटहरीको आदिवासी जनजाति महासंघको निर्णायक तहमा पनि छैनन् । जसरी धरानको जनजाति सङ्गठनको नेतृत्वमा त्यहाँका रैथाने किराँती अनि लिम्बूहरू छन् । इटहरीमा थारुहरूको त्यो अवस्था छैन । आज किराँती क्षेत्रको राई इटहरीको आदिवासी जनजाति सङ्गठनको नेता बन्न सकेका छन् तर, इटहरीका थारु बाहिर त परै जाओस् इटहरीमै पनि नेतृत्वको मुख्य हर्ताकर्ता बन्न सकेका छैनन् । केही वर्ष अगाडि मात्रै इटहरीमा आएर डेरा गरेर बस्नेहरू पनि जनजाति सङ्गठनका नेता छन् । इटहरीमै पहिलेदेखि आवादी गरेर बसेकाहरू नेतृत्वमा छैनन् ।
यत्तिका धेरै आधार हुँदाहुँदै इटहरीमा थारुलाई ‘फस्ट सिटिजन’ बनाउने कुरा उठेको छैन । आदिवासी जनजातिको अधिकार र स्थानीय अपनत्वको कुरा चर्कोगरी उठाउने सङ्गठनहरूले पनि यो कुरामा सार्वजनिक समर्थनका बहसहरू गरेका छैनन् ।
ठीक छ थारुहरूले बोल्न जानेनन् अब हामी स्थानीय संस्कार, संस्कृति अनि आदिवासीका मौलिकता जोगाउनुपर्छ भन्नेहरूले कम्तीमा यसको बुलन्द समर्थन गर्नुपर्छ । आज विश्व आदिवासी दिवस हो । यो दिन यो बहसको लागि एक सुन्दर र शक्तिशाली प्रस्थानबिन्दु हुन सक्छ ।
