सहकर्मी ,
नवीन चौधरी,,
कोल्हबी:= कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवस्थित इलाका प्रशासन कार्यालय कोल्हबीका कार्यालय सहयोगीको लापारवाही देखिएको छ । कोल्हबी नगरपालिका वडा नम्बर ८ बस्ने रोशन खड्काले श्रावण २० गतेका दिन नेपाली राहदानीको लागि सिफारिस लिन आउदा कार्यालयको अधिकारिक ब्याक्तिले रुजु गर्ने ठाउँमा यस कार्यालयको करारमा नियुक्ति भएका कार्यालय सहयोगी ओम नारायण चौधरीले खड्काको नागरिकताको नक्कलमा आफ्नै नामको हस्ताक्षर प्रयोग गरी रुजु गरेर जिल्ला प्रशासन कार्यालय कलैयामा पठाइएको हो ।
इलाका प्रशासन कार्यालय कोल्हबीका कर्मचारी मधुरेश कुमार साहसंग कार्यालय सहयोगीलाई अधिकार दिइएको छ कि छैन भन्ने प्रश्न गर्दा आज आफु अनुपस्थित रहेको र आफुलाई केहि पनि थाहा नभएको तथा यस बारे जिल्ला प्रशासन प्रमुखसंग जिज्ञासा राख्नु होला भनेर बताउनु भयो । यस पश्चात जिल्ला प्रमुख गणेश प्रसाद भट्टराइसंग कुरा गर्दा यो गलत भएको हो र यस बारे आफु अनुसंधान गरी प्रकृया अगाडी बढाउने बताउदै यस्ता गतिबिधिहरु अगामी दिनहरुमा पनि चासो राखि खबर गर्नुहोला भनी हाम्रा संचारकर्मीलाई हौसला दिनु भयो ।
उक्त बिषयमा कोल्हबी नगरपालिकाको जन प्रतिनिधिहरुसंग कुरा गर्दा इलाका प्रशासन कार्यालय कोल्हबी नगरपालिकाको मातहतमा नरहेको बताउछन् । यस कार्यालयमा सेवा लिन जाँदा कार्यालय सहयोगीहरु अनुशासनमा नरहेको र कहिले सुब्बा बस्ने कुर्सीमा त कहिले कार्यालय प्रमुख बस्ने कुर्सीमा बसिरहेको एक सेवाग्राही नागेन्द्र चौधरीले बताए ।