प्रेम गिरि,,
सुनसरी := सुनसरीको दुहवीमा थारु गोठाले महोत्सव पर्व हुँने भएको छ । थारु कल्याण कारिणी सभा नगर कमिटि दुहवी, थारु महिला सभा दुहवी, थाकस मोरङ सुनसरी लगायत सुनसरी मोरङका ३ ओटा थारु संस्थाहरुको आयोजनामा दुहवी ५ स्थित श्री सरस्वती माविको खेल मैदानमा कार्तिक ५ गते सोमवार गोठाले महोत्सव हुँने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा थाकसका केन्द्रिय पार्षद देवकुमार चौधरीले सोमवार हुँने गोठाले महोत्सवमा थारुजातीको विभिन्न परिकारहरु माछा बगिया लगायतबाट अतिथि सत्कार गरिने र थारु कला संस्कतिको जर्गेना गर्न झाँकी सहित थारु भेषभुसामा सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिनु भएको छ । पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष सम्पतलाल चौधरीले गोठाले पवको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो ।
गोठाले पर्व कोजागत पूर्णिमाका दिन धुमधामकासाथ मनाउँने गरिन्छ । गोठाले पर्वमा कुल देवताको पुजा गरि नातागोता इष्टमित्रहरुलाइ वोलाइ विभिन्न परिकारहरु खुवाइने र भोलपिल्ट कुँड पावनको व्रत वसेर इच्छाएको मनोकामना पुरा हुँने विश्वास गरिएको छ । थारु गोठाले महोत्सवमा सुनसरी मोरङबाट करिव ५ हजार बढीले अवलोकन गर्ने र महोत्सव समपन्न गर्नकालागि २ लाख खर्च हुँने अनुमान आयोजकले गरेको छ । मोरङ र सुनसरीमा बोलिने थारु भाषा छुटै बिशेषता भएकोले २०१८ सालको जनगनणामा थारु भाषाको पहिचान पाएको हो । थारु संस्कृतिविद् भुलाई चौधरी भन्छन, ‘हाम्रा पालामा विहान विहानै पराति गाउने चलन थियो। तर अहिलेका पुस्ता विहान विहानै र्याप पप गीत गाउदै उठ्छन् र सुत्छन्।आमाबुवाले उनीहरुलाई आफ्ना मातृभाषा थारु हो भनेर भन्न पनि लजाउँछन्। नयाँ पुस्तामा थारु भाषा, नाँच र पहिचानका न कुनै गीत सिकाउँछन् न कुनै स्कुलमा यसको बारेमा पढाइन्छ। यसकारण यो त्यतिकै विस्तारै विस्तारै मिश्रित भइरहेको छ। हराइरहेको जस्तो लाग्छ।’ यसैगरी थारु समुदायमा निर्गुण गीत, धामी गीत, घरेलु जडिबुटीको प्रयोग लोप हुने अवस्थामा छ । हरिनाम, लछमीडाढी, ठारिबरद, बजरमुठिया, गोठाले (कोजाग्रत)मा लक्ष्मी स्तुति लोपोउन्ख छ । यसका साथै चाँचैर, वीरहैन,कहबी, फोकरा, पीहानी, लोक कथाले भरिएको थारु भाषा साहित्य अहिले दिनप्रतिदिन दयनीय बन्दै गइरहेको छ। थारु भाषा साहित्य अलिखित रुपमा समृद्ध भएकाले यसको संरक्षण र विकाशका प्रयास बिगत केही दशकदेखि थारु कल्याणकारिणी सभाले गरिरहेको छ ।
थारु कल्याणकारिणी सभाका केन्द्रिय सल्लाहकार मिलिराम चौधरीले संस्कृति संरक्षणसंगै सामाजिक विकृतिलाई निर्मुल पार्न र थारु समुदायको हक, अधिकार प्राप्तीका लागि थारुहरुलाइ संगठित पार्न दुहवीमा पहिलो पटक वृहत थारु गोठाले महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । रेडियो नेपालले आफ्नो क्षेत्रीय प्रसारणमा थारु भाषामा कार्यक्रम चलायो तर समय थोरै दियो। हाल सप्तकोशी, पपुलर, रामधुनी, झुम्का, कोचिला एफएमबाट थारु भाषाका केही कार्यक्रमहरु नियमित प्रसारण भइरहे पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन । यसरी थारु भाषा र संस्कृति लोप हुँदै जानु के नेपाली संस्कृतिको अपुरणीय क्षति होईन र ? नेपाल सरकार, सरोकारवाला र भाषा विज्ञहरु नजरमा किन पर्न सकिरहेको छैन ?
