दानवीर लालुराम चौधरी:- जसले जग्गादान गरेपछि टुंगियो वडाको कलह

Sunday, 21 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी /लोकान्तर,,
धनगढी:= कैलालीको गौरीगंगा नगरपालिका–१० उदासीपुरका स्थानीय लालुराम चौधरी उमेरले ७५ वर्षमा टेकेका छन् । उनको बढ्दो उमेरसँगै परोपकारी कदम पनि बढ्दै गएको छ ।
झण्डै ६ महिनादेखि वडा कार्यालय कहाँ राख्ने भन्ने बल्झिएको समस्यालाई हालै उनले निकास दिएका छन् । नगरपालिका–१० को वडा कार्यालय कहाँ राख्नेबारे वडाबासीबीच निकै सकसपूर्ण अवस्था थियो । सबैले आ–आफ्नो पायक पर्ने स्थानमा सार्नुपर्नेमा जोड गर्दै आएका थिए । तर, निर्विवादित जग्गाको विकल्प दिनमा भने सबै चुकेका थिए ।

कार्यालय स्थापनाको लागि हालै बोलाइएको भेलामा वडाबासीबीच सधैझैं बाझाबाझ हुँदै थियो । सो भेलामा लालुराम पनि सहभागी हुन पुगेका थिए । घम्साघम्सी भइरहेका बेला उनले ‘कार्यालय स्थापनाको लागि जग्गा म दिन्छु’ भने पछि सबैको बोली बन्द भयो ।
यति मात्रै कहाँ हो, दानवीर लालुरामले वडा कार्यालय स्थापनाको लागि मात्रै नभई एकसाथ स्वास्थ्य चौकी बनाउनको लागि पनि जग्गा दिन्छु भनेपछि महिनौंदेखि बेमेलमा बसेका वडाबासी पटपट–पटपट ताली बजाउन बाध्य भए ।
लालुरामले वडा कार्यालय स्थापना गर्न ४ कट्ठा र स्वास्थ्य चौकी स्थापना गर्न ३ कट्ठा गरी ७ कट्ठा जग्गा दान गर्ने घोषणा गरेका छन् । जसको मूल्य करीब २२ लाख रुपैयाँ हुन आउँछ ।

उनी भन्छन्, ‘समाजमा समस्या देखेपछि मलाई राम्रो लाग्दैन । समाजको समस्याले तनाव दिन्छ । बल्झेको समस्यालाई निकास दिन मैले थोरै सहयोग गरेको हुँ ।’

वडा कार्यालय स्थापनाको लागि वडा क्षेत्रको करीब ५ ठाउँबारे विवाद थियो । तर, टुंगो कतै लाग्न नसकेको वडाध्यक्ष पदमबहादुर ऐर बताउँछन् । लालुरामले गरेको हिम्मतको वडा कार्यालयले स्वागत गरेको बताउँदै उनले उचित सम्मान दिने प्रतिवद्धता जनाए । 
गौरीगंगा नगरपालिकाका मेयर भीम देउवाले चाँडै नै लालुरामसँग भेट्ने इच्छा भएको बताए । महिनौंदेखि बल्झिएको समस्यालाई निकास दिएको बताउँदै मेयर देउवाले समाजमा लालुरामजस्ता दानवीर पुरुष बिरलै मिल्ने भन्दै प्रसंसा गरे ।

सादा जीवन उच्च विचारका खानी लालुराम पहिलैदेखि सामाजिक कार्यमा क्रियाशील छन् । धेरै समस्याको निकास व्यक्तिगत प्रयासबाटै दिएका छन् । वडा कार्यालय र स्वास्थ्य चौकी स्थापनाको लागि मात्रै होइन, उनले २०४६ सालमा उदासीपुर गाउँस्थित सरस्वती माध्यमिक विद्यालय स्थापनाको लागि साढे ३ कट्ठा जग्गा दान गरिसकेका छन् ।मानव जीवनको सार्थकता बुझेको र यसै जीवनकालमै केही गर्नुपर्छ भन्ने विचार बोकेका लालुरामले एक पटक त १ विघा जग्गादान गर्ने घोषणा नै गरेका थिए । २०६४ सालमा प्राथमिक स्वास्थ्य चौकी उदासीपुर गाउँमा बनाए १ विघा जग्गादान गर्नेसम्मको घोषणा गरेको उनले सुनाए । तर, प्राथमिक स्वास्थ्य चौकी गाउँमा नबन्ने भएपछि दान गर्न नपाएको उनी बताउँछन् ।समाज उत्थानको प्रेरणा कहाँबाट मिल्यो भन्ने लोकान्तरको जिज्ञासामा उनी मन्द मुस्कानसहित भन्छन्, ‘मेरो मनमा पहिल्यैदेखि सामाजिक विकासका लागि केही गर्नुपर्छ । हामीले नगरे कसले गर्ला भन्ने भावनाले डेरा जमाएको छ । जन्मिदा खाली हात आयौं, खाली नै जानुछ । लिएर जानु केही छैन भन्ने कुरा पहिल्यैदेखि बुझेको छु । जुनकारण क्षमता अनुसारको सहयोग गर्ने तत्परता देखाउँछु ।’

अर्को प्रसङ्ग सुनाउँदै उनले भने, ‘मेरो जेठो छोरा सानो छँदा १ घण्टा पैदल हिँडेर पृथ्वीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा पढ्न जान्थ्यो । स्कूलबाट फर्केपछि उ निकै थाकेको हुन्थ्यो । फर्केपछि उ बिना खाना खाएर निदाउँथ्यो ।साह्रै चिन्ता लागेर आउँथ्यो । यो अवस्थामा छोरोले कसरी पढ्ला भनेर ? मेरो सन्तानझैं अरुको सन्तानले शिक्षाआर्जनमा समस्या झेल्न नपरोस् भनेर उतिबेलै सरस्वती माध्यमिक विद्यालयको भवन बनाउन जग्गा दिएको दिए ।’
लालुरामको नाममा १३ विघा जमिन थियो । उनले आफ्नो ३ भाइ छोरालाई जग्गाको अंश दिएपछि उनीसँग अझै ३ विघा जमिन थियो । त्यसै ३ विघा जमिनमध्ये उनले वडा कार्यालय, स्वास्थ्य चौकी स्थापनाको लागि ७ कट्ठा जमिन दिने निर्णयमा पुगेका हुन् ।उनको निर्णयमा उनको परिवारले साथ दिएका छन् । उनको जेठो छोरा भीम चौधरी र माइलो छोरा छोटेलाल चौधरीलगायत परिवारका सदस्यले बुवाको निर्णयमा साथ दिएको बताएका छन् । निर्णय लालुरामले एक्लै लिएका थिए । छोरासँग सल्लाह गर्ने मौका पाएका थिएनन् । जुनकारण बुवाले एक्लै ठूलो निर्णय लिएको भन्दै गुनासो पोखेका थिए ।

उनको जेठो छोरा भीमको समाजसँग भने केही गुनासो रहँदै आएको छ । उनले समाजको लागि योगदान दिने मान्छेलाई मूल्यांकन नगरेको गुनासो पोखे । स्कूल स्थापनाको लागि योगदान दिएपनि कुनै मूल्यांकन नभएको बताउँदै उनले भने, ‘बुवाले समाजको लागि ७ कट्ठा दान गर्ने घोषणा गर्नुभयो । पहिलेको जस्तो अवमूल्यन नहोस् भन्ने हाम्रो भनाई छ ।’
लालुरामले दान गरेको जग्गामा बनाइएको भौतिक संरचनामा ‘लालुराम शिर बगरिया कुश्मी’ लेखेको हेर्न पाउने इच्छा जाहेर गरेका छन् । ‘शिर बगरिया कुश्मी’ लालुरामको थर हो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu