रियालिटी सो डान्स प्लसले फेमस बने बाबू ओमप्रकाश, छोरा अभय र आयुष

Monday, 22 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := भारतीय टिभी च्यानल स्टारप्लसबाट प्रशारण हुने रियालिटी शो डान्स प्लसमा छनोट भएपछि पर्सा जिराभवानी गाउँपालिकाका ओमप्रकाश चौधरी र उनका छोरा अभय र आयुषलाई अहिले भ्याईनभ्याई छ  ।

काठमाडौंस्थित कालिमाटीको एउटा गल्लीमा रहेको ओमप्रकाशको डेरा खोज्न सञ्चारकर्मी र फ्यानको ताँती लाग्न थालेको छ । भेट्न आउनेबाट सेलिब्रेटी झै व्यवहार पाउँदा उनीहरू दङदास छन् । ‘राजधानी बसेर एक दशक संघर्ष गर्दा गुमनाम जिन्दगी बाँचिएको थियो,’ ३१ वर्षीय ओमप्रकाश भन्छन्, ‘अहिले सन्चारजगत र आफन्तले पछ्याएको देख्दा यो सबै सपना जस्तो लागि रहेको छ । अन्र्तवार्ता दिन र शुभकामना लिन भ्याई नभ्याई छ ।’

डान्सप्लसमा अडिशन दिएर छनोट भएपछि दसैं अघि मुम्बईबाट स्वदेश फर्किएका उनीहरूको अन्र्तराष्ट्रिय रियालिटी शोमा पाएको सफलताले खुशिको सीमा छैन ।

आफ्नो बिगतलाई सम्झिदा अहिले पनि ओमप्रकाशलाई यो सफलता अपत्यारिलो र गर्विलो लाग्छ । २०५६ साल देखि नृत्य गर्न थालेका ओमप्रकाशले एक दशक वीरगन्जमै बसेर बिभिन्न स्कुलमा डान्स टिचर र सानो किराना पसल चलाएर जिविका चलाए । तर त्यहा आफ्नो प्रतिभाले बढी अवसर नपाउने देखेपछि उनी ९ बर्ष अघि राजधानी खाल्डो छिरे ।

तर गृह जिल्लाको सदरमुकाम र मुलुककै राजधानीको बसाई र हातमुख जोर्न गर्नु पर्ने संघर्षको अन्तर ठूलै थियो । राजधानी छिर्दा थुप्रै सपनाको भारी बोकेर आएका थिए उनी । सुरुमा २ छाक खान पनि निक्कै संघर्ष गरेका उनले पछि ३/४ वटा स्कुलमा डान्स टिचर र केही प्राइभेट क्लास सन्चालन गरेर जिविका चलाउन थाले । अन्तत: ९ बर्ष लामो संघर्ष पछि सफलताको शिखर उक्लेको अनुभव गर्दैछन् अहिले ।

परिवार पाल्ने र छोराहरूलाई उचित शिक्षादिक्षा दिने मेसोमै उनले अन्र्तराष्ट्रिय मन्चमा नृत्य गरेर नेपालकै नाम राख्ने आफ्नो रहर दबाएका थिए । तैपनि जेठा छोरा अभय र कान्छा छोरा आरुषलाई अन्र्तराष्ट्रिय प्लेटफार्ममा लगेर आफ्नो रहर पुरा गर्ने अठोट गरे । छोराहरूलाई आफैले नृत्यको प्रशिक्षण दिन थाले । आफूले नृत्यको औपचारिक प्रशिक्षण नलिएपनि उनले छोराहरूलाई गुरु बनेर अहोरात्र दिएको प्रशिक्षणले अन्तत: उनको सपना पुरा भयो ।

मुम्बई अडिशनमा छोराहरू मात्र नभई छोराहरूसंगै ओमप्रकाशलाई पनि नाच्न निर्णायकहरूले आमन्त्रित गरेपछि बाबुछोराहरूको नृत्य टिम बनेको छ, प्रतियोगितामा । त्यसो उनीहरूको सहित यस पटक नेपालबाट अन्य ३ नृत्य टोली तथा प्रतिस्पर्धीहरू यो प्रतियोगितामा छनोट भएका छन् । सुजन मार्पा, सब्रिना गुरुङ्ग र ऱ्यापिडो च्याम्प्ज गु्रप पनि नेपालबाट छनोट भएका छन् । काठमाडौंमै लिइएको अडिसनमा २ सय जना सहभागी भएपनि केवल ४ डान्सर र समूह मात्र छनोट भएको थियो । मुम्बई पुगेर पनि पटकपटकको अडिसन पछि टिभी छनोट राउन्ड सम्म पुगेको ओमप्रकाश बताउछन् ।

बिबिएस प्रथम बर्ष सम्म पढेर अध्ययनलाई थाती राखेर घरव्यवहार, जागिर र छोराहरूको नृत्य प्रशिक्षणमा होमिएका ओमप्रकाशका १२ बर्षिय छोरा अभय हाल कक्षा ६ र ८ बर्षिय छोरा आयुष हाल कक्षा २ मा राजधानीकै एक स्कुलमा अध्ययनरतछन् । उनीहरू पनि बुवाबो सपना साकार पार्न पाएकोमा अन्यन्त खुशि छन् । ‘बुवाले आफ्नो रहर दबाएर हाम्रो लागि देख्नु भएको सपना अब पुरा हुन लागेको छ,’ जेठा अभयले भने, ‘हामी तीनै जना निक्कै मिहिनेत गरेर अझै अघि बढने छौं ।’

भविष्यमा आफूहरू पनि नृत्यकै क्षेत्रमा लाग्ने योजना कान्छा आरुषले सुनाए । नृत्य बाहेक आफूहरूको मनमा अरु केही नरहेको उनले बताए । बुवा ओमप्रकाश भने छोराहरू हाल सानै रहेको र भविष्यमा उनीहरू बयस्क भएपछि जुनसुकै क्षेत्र रोजेपनि आफूले नृत्य क्षेत्रमै लाग्ने करबल नगर्ने बताए । दुबै छोराका नृत्यको आइडल बाबु ओमप्रकाश हुन् भने ओमप्रकाशको आइडलहरू रेमो डिसुजा, सुशान्त खत्री, धर्मेश हुन् ।

हालको सफलताले अत्यन्त उत्साहित ओमप्रकाश अहिले अवसरको बाटो खुलेको अनुभव गर्दैछन् । ‘डान्सप्लसमा हामी जति अगाडी बढेपनि नबढेपनि हाल सम्मकै सफलताले अवसरको बाटो खुलेको अनुभव गर्दैछुँ,’ उनले भने, ‘म नृत्य आफ्नो लागि मात्र नभई देशकै लागि गर्न चाहन्छु, आजिवन नृत्य क्षेत्रमै लाग्ने छु, छोराहरूलाई अझै ठूला नृत्यको अन्र्तराष्ट्रिय मन्च र स्तरहरूसम्म लग्नेछु ।’

         (शंकर आचार्य/कान्तिपुर दैनिक)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu