पुर्बिया थारु समुदायको मौलिक पर्व ( गोठाले )/लिङ्क खोली पढ्नुहोस्

Monday, 22 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लेखिका :-निरा भगत ,,
नेपालको मौलिक सम्पत्ति भनेको यस देशका जनताको विविध सांस्कृतिक—धार्मिक परम्परा तथा प्रचलनयुक्त परम्पराहरू रहेको छ।
सांस्कृतिक तथा धार्मिक मूल्य—मान्यता एवं विश्वासहरू रहेर पनि विविधतामा एकता छ र एकताभित्र विविधता अटाएको छ । एउटै धर्म सम्प्रदायभित्र पनि सांस्कृतिक र धार्मिक प्रचलन फरक—फरक रहेको पाइन्छ । यसरी फरक संस्कृतिको बीचमा पनि अत्यन्त सौहार्दपूर्ण धार्मिक एवं सांस्कृतिक सहिष्णुता रहेको छ । हिन्दु धर्म सम्प्रदायभित्र विभिन्न जातिमा सांस्कृतिक मूल्य—मान्यताहरू फरक रहन्छ । त्यसमा एउटै थारु सांस्कृतिक प्रचलन हेर्दा नेपालको पूर्वीय थारु र पश्चिम भागमा रहेको थारु समुदाय बीचमा पनि सांस्कृतिक परम्परामा मतभिन्नता रहेको पाइन्छ । थारु वंशजको खोज अनुसन्धान गर्दा त्यसमा रहेको विविधता पाउन सकिन्छ । थारु समुदायभित्र रहेका विभिन्न थरहरू जस्तै— चौधरी थारु,राना थारु, खाँ थारु, भगत थारु, मोदी थारु आदि,इत्यादि ती विविधताको खोज यस लेखमा नगरिने हुँदा यहाँ पूर्वीय थारु समुदायले मनाउने गरेको तर सरकारी प्रचार नभएको, ठूलो महत्त्वको पर्व भएर पनि ओझेल परेको पर्वको नाम हो– गोठाले पर्व । 

यो गोठाले पर्व द्वापरयुग श्री कृष्ण भगवनाको पालादेखि मनाउँदै आएको पाइन्छ । अपवादमा बाहेक थारु समुदायको मूल पेसा कृषि एवं पशुपालन नै रहेको र कृष्ण भगवान पनि गोठाले भई गाईवस्तु चराउने तथा गाईवस्तुको संरक्षण गर्ने गरिएको हुँदा कृष्ण भगवानको पालादेखि गोठाले पर्व मनाउने प्रचलन आएको मानिन्छ । गो भनेको पहाडी समुदायमा गाई अर्थ लाइन्छ, कानुनले पनि त्यही भन्छ । थारु समुदायमा गोको अर्थ गोरु मानिन्छ । यसबाट गो भनेको गोरु र ठाले भनेको स्थान, ठाउँ मानिन्छ । यसबाट गोरु रहेको स्थानको पर्व भन्ने बुझिन्छ । किसानको लागि गोरु पालनकर्ताको रूपमा रहन्छ । द्वापर युगमा सबै जमिन पानीले भरी गाईगोरुलाई असुविधा हुँदा गोबर्धन पर्वत बनाएर श्री कृष्ण भगवानले रक्षा गरेको धार्मिक ग्रन्थमा पाइन्छ । यो गोठाले पर्व थारु समुदायले हरेक वर्षको कोजाग्रत पूर्णिमाको दिन मनाउने गर्छन् । 

दसैंको टीका विसर्जनपछि आउने कोजाग्रत पूर्णिमाको दिन लक्ष्मीको बास हुन्छ भन्ने विश्वास गरिन्छ । लक्ष्मीको बास भएपछि वर्षदिन भरिसम्म भोकमरी आउँदैन । सबैमा खुसी आउँछ । मंगलै—मंगल हुन्छ, कुनै अनिष्ट आउँदैन, त्यसैले सबै सुखी र खुसी रहन पाइन्छ भनी त्यो पर्वमा उत्साह आउँछ । सानै उमेरमा विवाह गरी घरमा गएका छोरीहरू, दिदीबहिनी, चेलीबेटी त्यो दिन माइत आएछन् । माइतमा आउँदा घुम्टो ओड्नु पर्दैन । कुमारी हुँदाकै जस्तोगरी हाँसीखुसी आफ्नो दिदीबहिनी, साथीसंगिनी भेट हुने, रमाइलो गर्ने, दु:खसुखका कुराहरू एकअर्कामा सुनाउने । सुखदु:ख बाँड्ने पर्वको रूपमा पनि लिइन्छ । त्यो दिन थारुहरूको मौलिक परिकार बनाएर इष्टमित्र, नातागोता सबैलाई खुवाउने, बाँड्ने प्रचलन पनि रहेको छ । 

यसरी थारु समुदायले वर्षदिनको पीरताप बिर्सिएर, ईश्वर भक्ति र पारस्परिक सहयोग एवं सद्भाव बाँड्ने दिनको रूपमा थारु संस्कृतिले अंगिकार गरेको पर्व हो, यो गोठाले पर्व । यो गोठाले पर्व थारु समुदायको मौलिक पर्वको रूपमा लिइन्छ । हिन्दु सनातन धर्मालवम्बीहरूले यस पूर्णिमाको दिन अरू प्रकारले मनाए पनि थारु समुदायले मनाएको शैली भने अरू समुदायको भन्दा फरक छ । सबै जाति समुदायमा मौलिकपनको ह्रास आउने क्रममा पनि थारु समुदायमा भने यो यथावत नै रहनु प्रशंसनीय कार्य मान्नुपर्छ । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu