परम्परागत कला संस्कृति माथि आधुनिकताको प्रभाव (लेखक:- उन्नती चौधरी)

Monday, 6 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारू समुदायको पहिचानसंग जोडिएर रहेक कला, संस्कृति, नाच गान, खानपिन, बोली भाषामाथि कहि न कहि प्रहार भइरहेको नयाँ पुस्ताले अनुभूत गर्दैछन् । परापुर्वकालदेखि चल्दै आएका पौराणिकतामा आधारित यी सबै कलाहरुको आफ्नै ‘रस’, ‘राग’ रहेपनि विस्तारै विलय हुने अवस्था आइपुकेको छ । पुर्खाहरुको भनाई अनुसार थारू समुदाय कलाको धनी हुन्, थारू समुदायमा कसैलाई दुखः पर्दा आफ्नो कलात्मक तरिकाले विलाप गर्दै दुखेको मनमाथि सान्त्वनाको दिनु र खुशी भएका व्यक्तिलाई मात्तिन नदिन मनोरञ्जनबाटै खुशीको क्षणलाई एकआग्रह गराउनु यो समुदायको अर्को कला हो । यो समुदायलाई एक डालोमा गोलबद्ध हुन यी नै कला संस्कृति, रहनसहन खानपीन, बोलीभाषा र नाचगानको निकै महत्व छ ।
      (लेखकः उन्नती चौधरी )
पृष्ठभूमि :
एकाइसौं शताब्दीसम्म आइपुग्दा समेत एउटा यस्तो गाउँ छ, जुन गाउँमा थारू समुदाय बाहेक अन्य कुनै समुदायको बसोबास हुन सकेको छैन । १००औं वर्ष अगाडि जंगलको झाडी, नदीको ढिक, घाँसको थुप्रोलाई सोहर्दै नयाँ बस्ती बन्यो । यो बस्तीको आफ्नै कहानी छ । गाउँका अगुवाहरुले भन्ने गरेको तर्क अनुसार जंगबहादुर राणाले थारू समुदायका तान्त्रिक (गुरुवा) भागुदास भन्ने व्यक्तिलाई उपहार स्वरुप यो ठाउँ उपलब्ध गराएका थिए । भागुदास दाङबाट बसाइ सराइ गरी उपहार पाएको ठाउँमा आए र जंगल फडानी गरि एक बस्ती बसाले । उनले आफ्नै नामबाट बस्तीको पहिचान खुलाए । भागुदासबाट अपभ्रमित हँुदै भागुको ‘भा’ र दासको ‘दा’ बाट भादा भएको अथ्र्याउँछन् । १३ घरधुरीबाट शुरुवाट भएको भादा गाउँमा हाल २ सय ३८ घर परिवार छन् । भागुदासले आफ्नो बस्तीमा थारू समुदाय बााहेक अन्य जातजातिलाई बसोबास गर्न नदिने भनेर तान्त्रिक विद्या पढ्नु हुन्थ्यो रे । र त्यहि तान्त्रिक शक्तिको कारण हालसम्म भादा गाउँमा अन्य समुदायको बसोबास हुन नसकेको जनविश्वास छ ।
शासन व्यवस्था उहिले र अहिले :
थारू समुदायमा पुर्खौदेखि चल्दै आएको प्रथाहरु विशेषतः हालसम्म पनि कायमै छ । उहिलेको शासन व्यवस्था अहिलेको भन्दा केही फरक थियो । भादा गाउँमा बस्ती बसाल्ने भागुदास कैलालीकै एक थारू ‘महत्तो’ जमिन्दारको छोरीसंग विबाह गरी आफू पनि जमिन्दार बने । पुरै गाउँ जमिन्दारको निर्देशन अनुसार चल्थ्यो । जमिन्दारको खेत रोपाई सकेपछि मात्रै आफ्नो खेतमा रोपाई शुरु गर्नुपर्ने सो बस्तीका किसानहरुको बाध्यता हुन्थ्यो । जमिन्दारलाई आफ्नै खेत अवलोकन गर्नु पर्यो भनेपनि गाउँलेहरु ‘डोली’ मा बोकेर खेत अवलोकन गराउँथ्ये । विस्तारै नेतृत्व हस्तान्तरण हुँदै भलमन्सा, बडघर, प्रथा आयो । जुन अहिलेसम्म कायमै छ । अहिले भलमन्सासंगै जनप्रतिनिधिहरुको सयूक्त निर्णयलाई निर्णायक मानिन्छ ।
संस्कार/सांस्कृति :
विगतको दिनमा थारू समुदायको आफ्नै संस्कार र सांस्कृति थियो । पहिला पहिला यो गाउँमा सबै जना ‘दंगाहा’ दाङको भाषा मात्रै बोल्थे । सेतो गुन्यू र चोलीले गाउँ सजिएको हुन्थ्यो । महिलाहरुको शरिर गरगहनाले लटरम्ब हुन्थ्यो । पुरुषहरू सेतो टोपी, चौवन्दी र भेग्वा लगाउँथे । गाउँमा कुनै चाडपर्व आउन साथ गाउँमै पाहुना बस्नुपर्ने चलन हुन्थ्यो । एकले अर्कोलाई निमन्त्रणा गर्दै मालुकको पातबाट बनाइएको दुनामा जाँरको झोल र टपरीमा विभिन्न परिकारहरु राखेर खान बोलाउने चलन थियो । जसले गर्दा समुदायमा सद्भाव खल्बलिदैन थियो । समुदायमा हरेक काम सामुहिक रूपमा गरिन्थ्यो । अपनत्वको डोरीमा बाँधिन्थे, सहयोगी भावना हुन्थ्यो । सुखमा होस्, या दुखमा एकले अर्काको मनोभावना बुझ्ने गर्दथे । तर अहिलेको पुस्तामा मनिमाइन्ड अर्थात हरेक पल पैसामा केन्द्रीत भएको कारण एक आपसमा मितव्ययिता घट्दो क्रममा छ । नयाँ पुस्ताहरुमा रम्परागत सांस्कृति जोगाउनुपर्छ भावना जाग्नु पर्छ । तर परम्परागत संस्कृतिको महत्व थाहा नपाएर अपनत्व ग्रहण गर्नमा सकिएको छैन ।
नाचगान :
उहिलेका पुस्ताहरु थारू समुदायमा मेलमिलापको दुरी नटुटोस् भनेर मौसम अनुसार नाचगान गरेर मनोरञ्जन लिन्थे । परम्परागत नाचमा जातीय मौलिकता झल्किन्थ्यो । खुशी, उमंग मनोरञ्जन कुसंस्कारलाई भट्काउने खालको सन्देशहरु नाचगानबाटै सञ्चार रहन्थ्यो । यति सम्मकी कसैको घरमा बच्चा जन्मिदा खुशीको रागमा नाच गान गरिन्थ्यो । त्यसैगरि कोही मान्छेको मृत्यू हुँदा दुखलाई खुशीमा परिणत गर्न सान्त्वना स्वरुप पनि नाच नाचिन्थ्यो । उतिबेलाको हरेक नाचमा आफ्नै रस हुन्थ्यो । थारू समुदायले नाच्ने विभिन्न प्रकारका नाचहरु थिए । सखिया, झुम्रा, मघौटा, लठ्ठी नाच, बर्का नाच, मुग्रहुवा नाच, कठघोरी नाच, दिननचुवा नाच, विरिजा भारत लगायत थिए तर हाल यी मध्ये ४/५ नाच मात्रै नाच्ने गरेका छन् । बाँकी नाच लोप भइसकेको अवस्थामा छ । यी सबै नाचको आफ्नै सन्दर्भ र विशेषताहरु छन् ।
जस्तै सखिया नाचः हेर्ने हो भने पुराणसँग जोडिएको छ । यो पौराणिक नाच भित्र भगवानको लिला दर्शान्छ । कृष्ण भगवानले गोपिनीहरुलाई मनोरञ्चन दिइरहेको रस सखियामा झल्किन्छ । सखिया नाच साथी साथी बीचको अपनत्व, सद्भाव र विजयको उत्सब अर्थात मानसिकरुपले खुशी बनाउने सन्देश दिन्छ । हाल सम्म यो नाच नाचिरहेको अवस्था छ । पछिल्लो पुस्तालाई यो नाचको रस बारे खासै जानकारी छैन । नयाँ पुस्ताले अहिले नाचिरहेको सखिया नाच केवल मनोरञ्जनको लागि मात्रै नाच्ने गरेका छन् ।
लठठी नाचः पहिला पहिला पुर्खाहरु जंगलमा बस्थे, जंगलमै हुकिन्थे जसले गर्दा जंगली जनावरहरुसंग बच्नाको लागि लठ्ठी घुमाउने कला सिके । यो नाचले आत्मारक्षाको संकेट गर्छ । हाल आएर यस्तो मनोरञ्जन लिई नयाँ पुस्ताले नाचिरहेका छन् ।
मुग्रहुवाः यो नाच सैन्य अभ्याससंग जोडिएको छ । एक बस्तीले अर्को बस्तीलाई धपाउने चलन पनि थियो । धपाउने क्रममा उतिबेला हतियारहरु केही थिएनन् । जंगलमा बसोबास गरेकोले हतियारको नाममा काठलाई प्रयोग गरिन्थ्यो । जसले गर्दा कसैसंग लडाई नै लड्नु पर्यो आफ्नो ध्यानलाई एकआग्रह कसरी गर्ने भनेर यो नाचको माध्यमबाट ज्ञान, सीप सिकाइन्थ्यो । मुग्रहुवा नाच काठको मुग्राले नाच्ने नाच हो । यसमा प्रत्येक जोडीले कलाको माध्यमबाट आफ्नो शरिरलाई कसरी सुरक्षित राख्ने भन्ने संकेट दिइरहेको हुन्छ । लठ्ठी नाच र मुग्रहुवा अलिअलि मिल्दो जुल्दो भएपनि केही फरक छ । यो नाचमा मयूरको प्वाखलाई आफ्नो शरिरमा सजाएर राखिन्छ र लडाइको क्रममा सजिलो खाले पहिरन लगाउनुपर्छ भन्ने संज्ञा दिइरहेको हुन्छ ।
झुम्रा नाच : एक ठाउँमा भेलाभइ झुम झुम नाच्ने नाच झुम्रा नाच हो । यो नाचमा एक जना मादल बजाउने र एक जना नाच्ने नचुनियाँ हुन्छन् । बाँकी दुई ग्रुप बनाएर गीत गाउनेहरुको लाइन हुन्छ । गीतमा समय सान्र्दभिक सवाल, विषयबस्तुमा केन्द्रीत हुन्छ । यो नाँच बाह्रै महिना नाच्न नाँच हो ।
अन्तमाः थारू समुदायमा अहिलेपनि धेरै नाचहरुको अवशेषहरु सुरक्षित छन् । पछिल्लो अवस्थामा विभिन्न नाममा थारू समुदायको हस्तकला, नाँच गान, खान पान पहिरन सबै लोप हुने क्रममा छ । त्यसको पछाडि कही रहस्यात्मक कुराहरु छन् । थारूहरुको संस्कृतिलाई ओझेलमा पार्नु, अदृष्यरुपले हस्तक्षेप गर्ने जस्ता गतिविधिले हामी सम्रग थारू समुदाय सचेत हुन आवश्यक छ । अनि मात्रै हामी हाम्रो कला संस्कृति जोगाउन सक्छौं र शीर ठाडो गरे भन्न सक्छौ कि थारू हुनुमा मलाई गर्व छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu