इन्द्र चौधरी
नेपाली रङ्गमन्च क्षेत्रमा काठमाडौका विभिन्न नाटकघरहरुमा धमाधम नेपाली भाषाका नाटकहरु मन्चन भैरहेकै अवस्थामा अलि पृथक आनन्द र स्वाद दिने हिसाबले नाटक "भुरभुरा रहर" प्रदर्शनमा आएको छ, जुन नाटक ठेट थारु (दङ्गाली /डगौरा) भाषामा लेखिएको छ । यो रङ्गमन्चिय दृष्टिकोणबाट पहिलो एतिहासिक थारु नाटक हो । यसलाई समाजसेवी तथा साहित्यकार सुशील चौधरीले लेखेका हुन भने प्रणव आकाशले निर्देशन गरेका छन् ।
रहर भनेको रहर नै हो । रहर गर्ने मान्छे चाहे धानी होस् वा गरीब परिवारको। यो नाटकमा एउटा गरीब परिवारमा जन्मिएकी र हुर्किएकी एक जवान युवतीको रहरलाई प्रस्तुत गर्न खोजिएको छ र त्यही रहरका कारण परिवारमा के कस्तो समस्या र चुनौतीहरु देखापर्छ भन्ने पारीवारिक पृष्ठभुमिलाई कलात्मक ढङ्गबाट चित्रण गरिएको छ।पाँच दशक अगाडिको थारु समुदायको अवस्था र त्यतिबेलाको रहनसहनलाई जिवन्त रूपमा प्रस्तुत गर्न खोजिएको नाटकले अहिलेसम्म हेर्न आउने जो कोहि दर्शकको मन जित्न सफल भएकोछ। नाटक हेरिसकेकि हरेक दृष्टिबाट उत्कृष्ट भनि सभसद जनक चौधरीले खुलेर प्रसंशा गरे। समाजसेवी/बुद्धिजीवी सुरेन्द्र चौधरी तथा गीता चौधरीले थारु समाजको यथार्थतालाई देखाइएको नाटक प्रसंशनिय रहेको बाताउदै कलाकारहरुलाई बधाई दिनुका साथै अन्तरास्ट्रिय मञ्चको लागि पहल गर्ने कुरा बताए। चर्चित रंगकर्मी आशिष मल्लले ´भुरभुरा रहर` रंगमञ्चमा ल्याएको नयाँ क्रान्ति हो भन्दै स-कलाकारहरुलाई हार्दिक बधाई दिए। यसैगरी आफ्नो जीवन संग मेलखाएको बताउदै निकै भावुक भएकी पुर्वसभासद शान्ता चौधरीले आफू संगै अन्य दर्शकलाई पनि रुवाएकी थिइन। थाबिसका केन्द्रीय अध्यक्ष चन्द्रप्रसादले दर्शकले भाषा नभुझे पनि कथा सजिलै बुझ्न सकिने बताए।
रङ्गकर्मीका रूपमा परिचित प्रणव आकाश आफ्नो अभिनय यात्रा " जिम्दा सपना " बाट आरम्भ गरेका थिए । केही समय अगाडि आफ्नै लेखन तथा निर्देशनमा नाटक " मान्छे पोल्ने भट्टी " मन्चन गराएका थिए । नेपालको इतिहासमा हेर्दा थारु भाषाको नाटक नभएको अवस्थामा अहिले उनै रङ्गकर्मी पहिलो पटक थारु नाटक गरेर ऐतिहासिक कार्य गरेका छन् । निर्देशक प्रणव भन्छन् - " यो नाटकको उद्देश्य थारु जातिका सस्कृती र चाल्चलनको जगेर्ना गर्नुको साथै पहिचान दिनु पनि हो र यो केवल नाटक नभएर एउटा उत्सव पनि हो । यो नाटक थारु जातिको सामाजिक जीवनको ऐतिहासिक दस्तावेज हो ।"
चम्पन साँस्कृतिक समुहको प्रस्तुति रहेको यो नाटकमा राजधानीमा रहेका नन्दु चौधरी, अन्जु चौधरी, इन्द्र चौधरी, दोषरण चौधरी, गायत्री चौधरी, भुमिका चौधरी, निरज चौधरी, अनुपा चौधरी, भिस्मा चौधरी, शान्ती सपना, दीपक चौधरी "दीप",जीतु चौधरी, सरिता पछल्डङ्ग्या लगायतका थारु कलाकारहरूले अभिनय गरेका छन्। यही पौषको १५ देखि सुरु भएको नाटक २३ गतेसम्म काठमाडौंको कालिकास्थानमा अवस्थित सर्वनाम थिएटरमा मन्चन हुनेछ ।