राम अवतार चौधरी,,
कपिलवस्तु:= मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन नहुँदा चर्को मुल्यमा खरिद गर्नुपरेको कृषकहरुले गुनासो गरेका छन् । सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल सरकारले तोकेको मुल्यभन्दा झण्डै दोब्बर मूल्यमा खरिद गर्नुपरेको कपिलवस्तुका किसान मर्कमा परेको बताएका छन् । सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेको छ तर पनि बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका स्थानिय उत्तम सिटीले बताए ।
अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनले जिल्लाका सहकारी संस्थामार्फत मलको बिक्री वितरण गर्दै आएको छ । आधिकारिक बिक्रेताबाट मात्र बिक्री गर्नुपर्ने सो मल कपिलवस्तुको चन्द्रौटा स्थित शिवगढी सहकारी संस्था लगायत एग्रोभेटका व्यापारिक पसलबाट गोप्यरुपमा तोकेभन्दा बढी मूल्यमा बिक्री भइरहेको स्थानियले गुनासो गरेका छन् ।
मलको बिक्री वितरणमा अपनाइएको प्रणाली नै गलत रहेकोले रासायनिक मलमा राज्यले दिएको अनुदान कृषक समक्ष पुग्दै यसको चोरी बजारी भएको छ । मल बिक्री वितरणको जिम्मा पाएको सहकारी संस्थाले (५० किलो प्रति बोराको अनुदानको युरिया मल रु ८ सय २६), (डिएपी रु २ हजार २ सय ७६) तथा (पोटास रु १ हजार ६ सय ७६) बिक्री मूल्य तोकेकामा बजारमा उक्त मल युरिया प्रतिकिलो रु ३०–३५ र ५० केजी बोराको १ हजार ५ सय), (डिएपी प्रतिकेजी रु ६०–६५ र ५० केजी बोराको ३ हजार–३ हजार १ सय) र (पोटास प्रतिकेजी रु ६०–६५ र ५० केजी बोराको ३ हजार १ सय) सम्मा बिक्री भइरहेको बताईएको छ ।
मल खादको विक्री वितरणको जिम्मा पाएको सहकारी संस्थाले मल बिक्री गर्दा प्रति बोरामा रु १२ देखि ५० सम्म छुट दिने हो तर सो मल बिक्री गर्दै आएका कतिपय सहकारी संस्थाले आफूखुशी मूल्य तोकेर बिक्री वितरण गर्ने गरेको तर सम्बन्धित निकाय मौन रहेको समेत किसानहरुले बताएका छन् । मल बिक्री गरि मनग्य आम्दानी गर्न पाइने भएपछि कपिलवस्तुका विभिन्न स्थानमा मल बिक्री गर्नेतर्फ केन्द्रित भई धमाधम सहकारी संस्था खोल्ने क्रम बढेको छ ।
त्यसैगरी केही समय यता विभिन्न मिडियामा आफ्नो सहकारीमा अनुदानको मल महगो मुल्यमा विक्री वितरण गरेको खबर आफूले थाहा पाएपछि श्री शिवगढी सहकारी संस्थाले आफूले बिक्री गरेको मलखाद अनुदानको नभएर भारतबाट ल्याएको मल भनेर लागत खर्च बढी पर्न गएर किसानलाई बिक्री गर्दा मुल्य घटबढ पर्न गएको र आफूहरुले अनुदानको मल सरकारले तोकेको भन्दा बढी रकम नलिएको सो सहकारी संस्थाले बताएको छ । हाल भने सोही मल सहकारीमा केही मात्रमा भएको दाबी गर्दै अनुदानको मलखमद सहकारीमा आउन करिब एकहप्ता लाग्ने शिवगढी सहकारीका व्यवस्थापक तुलसीराम चौधरीले बताए ।