अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांङ्कअनुसार मगरपछि सशस्त्र जनयुद्धमा सबैभन्दा धेरै ज्यान गुमाउने थारुहरु नै हुन्। त्यतिबेला ९ सय १२ जना थारुहरु मारिएका थिए जसमा जनयुद्धको प्रथम थारु सहिद हुन् बर्दियाकी जुग्गन चौधरी ‘जुना’। अध्येता तथा लेखिका इन्दु थारु भन्छिन्, ‘जुनालाई नै जनयुद्धको प्रथम थारु सहिद मानिन्छ त्यसैगरी कैलालीमा भने पहिलो थारु महिला शहिद भगवती चौधरी ज्वाला हुन्।’ सहिदको बारेमा कम दस्तावेजीकरण त भएको छ नै त्यसमाथि दस्तावेजमा महिला त्यति अट्दैनन्।
यसबारे अध्ययन गरेका अध्येता दिनेश श्रेष्ठले खलिहान आन्दोलनको बारेमा पुस्तक ‘बर्दिया, जमिनदारी, नेपाली कांग्रेस र जननेता राधाकृष्ण थारु’ मा यो गोलीकान्डबारे उल्लेख गरेका छन्।
त्यसैगरी लवकान्त चौधरीले ‘मासिन्या दस्तुर’ नामको चित्रकला प्रदर्शनीमा थारु सहिदहरुको योगदानबारे उल्लेख गरेका छन्। प्रथम थारु महिला सहिद को हुन् भन्ने यकिन नभए पनि इतिहासका जानकारहरुले कोइलीदेवी थारुको नाम लिने गरेको पाइन्छ। उनका बारे अध्ययन अनुसन्धान कमैमात्र गरिएका छन्। विभिन्न सन्दर्भ सूचिमा पनि उनको बारेमा निकै कम उल्लेख छ। बर्दियाका थारु किसानहरुको खेन्ह्वा अर्थात् खलिहान आन्दोलनबारे धेरैलाई थाहा नहुनसक्छ। यो आन्दोलनमा कोइलीदेवी थारुलगायत ६ जनाले ज्यान गुमाएका थिए। २००७ सालमा देशमा प्रजातन्त्र स्थापना भयो। प्रजातन्त्र आए पनि किसानमाथि जमिन्दारको शोषण उस्तै थियो। कमैया किसानहरुले जमिन्दार र शोषणविरुद्ध विद्रोह गर्दै आएका थिए। २००८ साल वैशाख १५ गते बर्दिया जिल्लाको राजापुर क्षेत्र अन्तर्गत मानपुर टपराको बेलवा भन्ने गाउँमा मोही कमैया किसानहरुले जमिन्दार विदुर नरसिंह राणाको खल्यानमा ३ कुर (भाग) पाउनुपर्छ भन्ने माग राखी खल्यान घेरेका थिए।
त्यो दिन खल्यान घेराउमा रहेका मोही कमैयाहरुको माग पूरा गर्न छोडी जमिनदार राणाले राजापुर चौकीबाट पुलिस बोलाएर गोली हान्न लगाए। त्यतिबेलाका थानेदार खड्कबहादुर गिरी थिए। त्यो हत्याकाण्डमा बेलवाका कोइलीदेवी थारु र पेपवा थारु, मंगलपुरका चापु थारु, कोहलीका लक्ष्मीप्रसाद थारु, दयारामपुरका पतिराम थारु, गुलराका डिबवा थारुसहित ६ जनाको ज्यान गएको थियो।
सो घटनामा १७ जना किसानहरु घाइते हुन पुगेका थिए। श्रेष्ठको पुस्तक ‘बर्दिया, जमिनदारी, नेपाली कांग्रेस र जननेता राधाकृष्ण थारु’मा उल्लेख भए अनुसार घाइते हुनेमा बेलवा गाउँकै दादरे थारु, सेतु थारु, लक्ष्मी थारु, लहरु थारु, विष्णु थारु, लालमनी थारु र लखेरु थारु, खल्लाजयपुरको परवारी थारु, कोलहीको लालु थारु, मुडैयाको बड्कु थारु, सोहेलीको भगत थारु र जुम्मन थारु, बदालपुरको भंगे थारु, जयपुरका बेचन थारु र जखेरु थारु थिए। आन्दोलनमा सहादत प्राप्त गर्ने एकमात्र महिला कोइलीदेवीको बारेमा दस्तावेजमा निकै कम लेखिएको छ। कुनै पुस्तकको भूमिकामा उनको इतिहास सीमित छ। कसैमा उनीबारे बुक्रही (कमलहरी)को परिचय दिइएको छ।
थारु बुद्धिजीवि तथा अधिवक्ता सन्तराम धारकटुवाका अनुसार धेरैले यो घटनामा नेपालका पुलिसले भारतको पुलिसको पनि सहयोग मागेका बताउँछन्। उनी भन्छन् ,‘त्यतिबेला यहाँको जमिन्दारसँग पुलिसको पहुँच थिएन। भारतबाट पुलिस झिकाएर मारिएको भन्ने पनि इतिहास रहेको छ। साथै कतिपयले थारु किसानहरुले लुटको प्रयास गरेर आरोप लगाउँछन्। यथार्थमा उनीहरुले आफ्नो हक मागेका थिए।’
उक्त गोली काण्डको छानविन गर्न सरकारले जमिनदार विरोधी नेता राधाकृष्ण थारुसमेतको जाँचबुझ टोली बनाएको थियो। तर, छानबिन घटनाको टोलीले के निष्कर्ष निकाल्यो त्यो थाहा हुन सकेन।
कोइलीदेवी नै प्रथम थारु महिला सहिद हुन् :
अभियानकर्ता तथा अध्येता
दिनेश श्रेष्ठ,
२००७ सालको क्रान्तिभन्दा अगाडी बर्दियालाई राजाको क्षेत्र मानिन्थ्यो। त्यतिबेला कम्युनिष्ट पार्टी बनिसकेको थिएन। निर्मल लामा, विष्णु मानन्धर आदि नेताहरु त्यस क्षेत्रमा काम गर्थे। त्यतिबेला किसानलाई उत्पादनको ४ भागको १ भाग मात्र दिइन्थ्यो। उनीहरुले ४ भागको ३ भाग पाउनुपर्छ भन्ने नारा लगाए। त्यतिबेला सबैभन्दा ठूलो जमिनदार हरिहर शर्मा थिए। १४ हजार विघाको मालिक थिए उनी। अरु पनि हजारौं विघा जमिन भएका मालिकहरु थिए। बर्दियालाई अलग ठेक्का राज्य मानिन्थ्यो। २००७ सालको क्रान्तिपछि किसानहरुले आफ्नो हकहितका लागि लड्नुपर्छ भन्ने जानिसकेका थिए। त्यसैले खल्यान घेरे। थानेदार र जमिन्दार मिलेर गोली चलाए। जसमा कोइलीदेवी पनि मारिइन्। त्यसैले उनलाई पहिलो थारु महिला सहिद मान्न सकिन्छ। मैले नै सबैलाई यो घटनाको बारेमा जानकारी गराएको हो।
त्यतिबेला बीपी कोइराला गृहमन्त्री थिए। यो घटना निकै ठूलो विषय बनेको थियो। बीपीले गोलीकाण्डको छानबिन गर्न नेता राधाकृष्ण थारु समावेश गरी त्रिपुरेवरसिंह प्रधानको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ टोली बर्दिया पठाएका थिए। छानविन गर्दा अन्याय भयो भन्ने पनि निष्कर्ष आयो। तर, त्यो घटनालाई अहिलेसम्म राज्यले ध्यान दिएको छैन। हिजोको राजाको शासनमा होस् या अहिले पार्टीको शासनमा कसैले पनि यस्ता कुरालाई महत्व दिएर हेर्दैनन्।