<कबिता>
[[बकपत्र]]
"
हिउँको सिरेटोले
चिमोटिरहेको पाखो
बारीमा फुलिरहेका थिए
फापरका फूलहरु ।
फुल्न सकेर पनि फल्न
नसकेका ती फूलहरुलाई
फलाउने प्रयास नगरेकी होइनन् उनले
तर लागेर फल झुल्न सकेनन्
लटरम्म फापरका फूलहरु ।
त्यो दृश्य नियाल्दै
समीरको झोक्कासँगै मच्चिदै थियो
बारीको बीचमा ठड्याइएको
एक निर्जिव बुख्याचा ।
फापरलाई फुलाएर फलाउन
असमर्थ उनले बुख्याचामा
भने जीवन भर्ने अठोट् गरिन् ।
काटेर आफ्नो सुन्दर कपाल
सजाई दिइन् उसको शीरमा लुछेर
आफ्नै मासु भरिन् कुरुप अनुहारमा
अलिकति आँखाको ज्योति
अलिकति श्रवण शक्ति
अलिकति आवाज र अन्त्यमा
मष्तिस्कको केही अंश भरेर
मूर्त बनाउने आँट भरिन् ।
अन्तिममा पहिरिएको आफ्नै वस्त्र
फुकालेर लगाई दिइन्
र सग्लो बनाइन् ।
अहो ! त्यो बुख्याचा
साँच्चिकै शक्तिशाली मान्छे पो बन्यो ।
फुलिरहेका फापरका फूलहरुलाई
झुलिरहने बाला बनायो
उसले चमत्कार गरेर देखायो।
अपसोच !
जसले प्राण भरिन बुख्याचामा
उनैको केश लुछ्न थाल्यो
चिथोर्न थाल्यो
मासु ज्योति छेक्न थाल्यो
आवाज बन्द गरायो
मष्तिस्कमा डरको बीज रोप्यो
र आफैलाई पहिराएइको बस्त्र बिर्सेर
उल्टै उनलाई गिज्याउन थाल्यो ।
छेकिएको ज्योति छरियो भने
बन्द आवाज खुल्यो भने
रोपिएको डर नष्ट भयो भने
लाज ढाकिएको लुगा खोसियो भने के हुन्छ ?
आज मान्छे बुख्याचा हो
र बुख्याचा मान्छे हो
जो अहम्ताको चुलीमा सानले
बिराजमान छ ।
साबधान बुख्याचा !
तिम्रो कुरुपतामा रुप भरेको
निर्जिवतामा जीवन भरेको
स्नेह र मायाले बाँधेको
सबै सबै बिर्सियौ तिमीले
तर कहिल्यै नबिर्सनू
बनाउन जान्नेले भत्काउन पनि सक्छ ।
"
जयन्ती मगर सरगम
*बुटवल*
Admin:अंकर 'अन्जान सहयात्री'
