थारु को हुन् ? जान्न को लागि पुरापढ्नुस :: हमार सनेश डटकम

Tuesday, 10 October 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

थारु को हुन् ?

- नीरा भगत थारु, काठमाडौं

कहिलेकाहीं एक्लै घोत्लिँदा मेरो मनमा तर्कना आउँछ– थारु को हुन् ? राष्ट्रियताको मामिलामा अत्यन्त कट्टर थारु जातिले पराधीनको कल्पना गर्न सक्दैन ।

तर थारु समुदाय देशभक्त भए पनि देशभित्रै इतिहास र पहिचानविहीन भएको छ । थारुको चिनारी राजनीति होइन । राजनीतिले थारुको इतिहास र पहिचान होइन, पद—प्रतिष्ठा भजाउँछ । थारुको चिनारी आम देशवासीले थाहा पाउनुपर्छ ।

शारीरिक बनोटका आधारमा थारु आर्यन होइनन् भन्ने निचोड धेरै विद्वानको छ । जनसंख्याका दृष्टिले छैठौं स्थानमा रहेको थारु समुदाय मंगोलियन पनि मानिँदैन । शारीरिक नापका आधारमा द्राबिडियन र भारतीय प्रदेशको जाति भन्ने तर्कलाई डा. मजुमदारले खण्डन गरेका छन् ।

बाबुराम आचार्यले थारुलाई मंगोलियन मानेका छन् । केही अनुसन्धानविदले पहाडको मगर, खोंँचको हायु, दनुवार र मधेसको थारु एउटै वर्गका जाति हुन् भन्ने तर्क गरेका छन् ।

थारु समुदाय मधेसी पनि होइन । मधेसमा बस्ने भएकाले मधेसी भन्ने हो भने ३ सय वर्ष पहिलादेखि बस्ने पहाडी समुदायको मान्छे मधेसी होइन ? जातीय वर्णको दृष्टिकोणले हेर्ने हो भने थारु पहाडी पनि हो, किनकि उसको वंश शाक्य खलकको बसोबास पहाडमा छ ।

थारु हिमाली पनि हो, उसको खलक मगर जातिको बसोबास हिमालमा पनि छ । थारु खुजेली हो, उसका खलक हायु, दनुवार आदि जातिका रूपमा खोँचहरूमा बस्छन् । थारु मधेसी पनि हो, किनकि उसको मूल पुर्खा नै तराई आवाद गराउने हो ।

जब जातीय एकताको कुरा हुन्छ, तब थारुको एउटै शरीर एउटै प्राण हुन्छ, यसमा न पहाडी, न हिमाली, न मधेसी हुन्छ । हुन्छ त केवल नेपाली । हिमाल, पहाड, तराई सबैतिर थारुका वंश छन्, थारु जातिका उपजाति छन् ।

पहाडको विरोध गर्दा दाहिने हातको तिरस्कार, हिमालको विरोध गर्दा अर्को हातको पीडा हुन्छ । मधेस त प्राणसञ्चारक हो । मधेसका भूमिसन्तान नै थारु हुन् ।

कुनै थारुले सत्तालोलुपताका कारण म यो क्षेत्रको, यो भूमिको, मलाई केवल यही ठाउँ चाहियो भन्छ भने त्यसभित्र निहित स्वार्थ हुन्छ । थारु हिमाली, पहाडी, मधेसी अलग–अलग होइन, सबै हो । समग्रमा थारु नेपाली हो । नेपाली हो र त थारु हो ।

तपाई थारु समुदायका दिदी–बहिनी, दाजु–भाइलाई क्षेत्रीयताको कुरा सोधे भनिदिनुस्– म केवल थारु हुँ र नेपाली हुँ । थारुले कुनै क्षेत्रीयता अंगिकार गर्दैन । सबै क्षेत्रमा थारु छन्, कुन थारु प्यारो ? कुन हेला ?

नेपालमा राजनीतिक सिद्धान्तको बाढी लागेको छ । कोही समाजवादी, साम्यवादी, पुँजीवादी, पुरातनवादी, लोकतन्त्रवादी, प्रजातन्त्रवादी आदि । कुनै थारु साम्यवादी बन्छ, समाजवादी बन्छ या कुनै वादी बन्छ भने उसले थारु भएर पनि थारु संस्कृति बुझ्दैन ।

थारुको सिद्धान्त बुझ्दैन । थारुको आफ्नै सिद्धान्त छ । थारुहरू प्रकृतिवादी हुन् । थारुले धनी पुज्दैन, गरिबको उपेक्षा गर्दैन । धनीलाई गरिब बनाउँदैन, गरिबलाई धनी बनाउँछ, तर कस्तो धनी ?

मिहेनतको धनी, परिश्रमको धनी, जीविका चलाउन सक्ने सीपको धनी, मनको धनी, उदारताको धनी, भ्रातृत्वको धनी, मातृत्वको धनी, गुणकारको धनी, इमानदारिताको धनी, न्यायिक विवेकको धनी, लगनशीलताको धनी, उपकारको धनी, दानको धनी, मानको धनी ।

थारुले विभेद गर्दैन । थारु समुदायमा लैङ्गिक विभेद पनि अपवादमा मात्र सीमित छ, त्यो पनि अरू जातको संगतमा । थारुमा माथिल्लो जात, तल्लो जात भनेर छूत–अछूत हुँदैन ।

थारुको यो सिद्धान्त नै विभिन्न वाद र पार्टीका नाराभन्दा उत्कृष्ट र जीवन उपयोगी छ । थारु समुदाय वर्गविहीनतामा विश्वास राख्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu