थारु बस्तीमा ‘सखिया नाच’को रौनकता बढ्दै ( सक्दो सेयर गर्नुस )

Thursday, 21 September 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नबिने चौधरी | आसोज ५ | चितवन

दसै नजिकिँदै जाँदा कञ्चनपुरका थारु बस्तीमा ‘सखिया नाच’को रौनकता छाएको छ ।
कृष्णजन्माष्टीको दोस्रो दिनदेखि सुरु हुने सखिया नाच दसँैंको अन्तिम दिनसम्म हुने गर्दछ । कञ्चनपुर कृष्णपुरका मुक्त कमैया शिविरका भलमन्सा तुलसीराम चौधरीले यहाँ हरेक दिन साँझ सखिया नाच हुने गरेको बताउनुहुन्छ ।

यसका साथै यहाँका अन्य थारु बस्तीमा समेत सखिया नाचको रौनक सुरु भइसकेको छ । थारु परम्पराअनुसार हुने सखिया नाचमा विभिन्न देवीदेउता, भगवानको जीवन लिलालाई गीतको माध्यमबाट गाइने गरेको भलमन्सा चौधरीको भनाइ छ ।

‘पछिल्लो समयमा सखिया नाचलोप हुने अवस्थामा आउँदैछ,’ चौधरीले भन्नुभयो–‘थारु संस्कृति, कला र वेषभूषाको संरक्षणका लागि अब थारु लगायत नागरिक समाजका अगुवाले सोच्नुपर्दछ ।’

सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्राथना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहिआएको छ ।

‘अहिले दैनिक ७०÷८० जना स्थानीय जम्मा भएर भलमन्साको घरमा सखिया नाचिरहेका छन् ।’ समाजसेवी समेत रहेका तुलसीराम चौधरीले भन्नुभयो–‘दसैँको घटनस्थापनादेखि थारुको घर÷घर र गाउँ गाउँमा यो नाच नाच्ने चलन छ ।’

उहाँका अनुसार सखिया नाचमा विशेषत युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गर्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ ।

महिलामा एकजना मोहरनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोहरनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् ।

त्यस्तै मादल बजाउने अगुुवा, पच्छुवा मदरियाले त्रासन् मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा रहेको छ ।
सखिया नाचमा नाच्ने युवती विशेषगरी थारु पहिरनमा सजिएर नाच्ने गर्दछन् । बिशेषगरी उनीहरुले फेफी, बुलकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, अ‍ैरम, मङ्गौरी,तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौती जस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरिया जस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्दछन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu