थरुहट र मधेसबाट एकैसाथ आन्दोलन सुरु हुन्छ :-पिडित जेलबन्दि लक्ष्मण थारु

Thursday, 28 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

तेस्रो मधेश–थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुर प्रहरीको हत्या भयो। उक्त घटनाको आरोपमा कैलालीको धनगढी कारागारमा २५ जना जेल जीवन बिताउँदैछन्। यीमध्येका एक हुन् थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारु। एमाले निकट विद्यार्थी संगठनबाट राजनीतिक सुरु गरेका थारु माओवादी हुँदै मधेशवादी दलमा छन्। विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट बाहिरिएर उनी राष्ट्रिय जनता पार्टी (राजपा)मा जेलभित्रै बाट प्रवेश गरेका थिए। यसपाला चुनावमा पराजय भोगे उनले। जेलभित्र रहेका चौधरीसँग बीपी साहले गरेको कुराकानीको सम्पादित अंश:-

मधेश–थरुहट क्षेत्रमा आएको प्रतिनिधि सभा र प्रदेश सभाको मत परिणामलाई कसरी लिनु हुन्छ?

नयाँ संविधानप्रति हाम्रो असहमतिका कारण आन्दोलन जारी थियो। अहिले पनि हामी आन्दोलनमै छौं। यस्तै अवस्थामा हामीले स्थानीय निकाय र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन स्वीकार गर्नुपर्यो। हामीले आन्दोलन जारी नै राखेका छौं, सँगै लोकतान्त्रिक प्रक्रिया निर्वाचनमा पनि सहभागी छौं।

समग्रमा आएको मतपरिणाम न त दुखद् छ न त खुशी हुने खालको छ। मध्य खालको परिणाम आएको छ। दुई नम्बर प्रदेशबाहेक अन्य क्षेत्रमा हाम्रा उम्मेदवारहरु खासै जित्न सकेनन्। तर, मत सबै ठाउँमा आएको छ। मधेश थरुहटमा मधेशी थारुको भावनाको विकास भएको छ। यो खुशीको कुरा हो।

थरुहट क्षेत्रबाट चुनावमा उठे पनि तपाईँ किन पराजित हुनुपर्‍यो?

म चुनावमा पराजित भएको कारणले थोरै पनि चिन्तित छैन। हामीलाई थारु मधेशी जनताले मत दिएको हो। म चुनावमा उठेको कैलाली क्षेत्र नम्बर पाँचमा २९ प्रतिशत थारुमात्र छन्। बाँकी अन्य समुदायका छन्। त्यसकारण मलाई असहज भयो। तर, थारु समुदायले दिएको भोटबाट म सन्तुष्ट छु।

म चुनाव हार्नुको अरु पनि कारण छन्। यस क्षेत्रमा राजपाको संगठन बलियो छैन। यहाँ वाम गठबन्धन र कांग्रेस सांगाठनिक रुपमा बलिया छन्। र, उनीहरुको समुदायको बाहुल्यता पनि छ।

म जेलमा रहेकोले खासै प्रचारप्रसार पनि गर्न पाइएन। समय र स्रोत साधन थोरै थियो। पार्टीभित्र पनि समीकरण मिलेको जस्तो लागेन। त्यसकारण मैले चुनाव हारे पनि केही छैन।

मत परिणाम यस्तो आएपछि अब टीकापुर घटनाको कसरी अवतरण होला?

थारुहरुमाथि दमन गरिएको छ। विभिन्न लान्छना लगाएर थारुहरुलाई दबाउन खोजिएको छ। राज्यको सम्पूर्ण स्रोत साधन लगाएर थारुलाई कमजोर पार्न खोजिएको छ। यसका बाबजुद पनि थारुहरु लड्दैछन्।

कैलालीका जनताले थरुहट आन्दोलनकारीको पक्षमा ५० हजार मत दिएर प्रष्ट पारेको छ कि आन्दोलन जयज छ र जारी रहनेछ। थारुहरुले यति मत दिएर हाम्रो हौसला बढाएका छन्। टीकापुर घटना राज्यको व्यवहारबाट भएको प्रमाणित गरेको छ। राज्यको त्रुटी हो टीकापुर घटना।
जनताले हाम्रो सम्मान गरेका छन्। जनताको निर्णय सबैभन्दा माथि हुन्छ। त्यसकारण राज्यले पनि हामीलाई सम्मान गर्नुपर्छ। राजनीतिक ढंगले समस्याको समाधान गर्नुपर्छ।

थरुहट आन्दोलन जारी रहेको भन्नु हुन्छ। त्यसो भए अबको आन्दोलन कस्तो होला?

थरुहट आन्दोलनका नेताहरु जेल जाँदैमा आन्दोलन सकिएको होइन। यो त आन्दोलनको तयारी हो। थारुहरुको मन मस्तिष्कमा झन् आन्दोलन बढ्दैछ। राज्यले जति दमन गरे आन्दोलन त्यति नै बढ्नेछ।

अब हाम्रो आन्दोलन शान्तिपूर्ण तवरबाट अगाडि बढ्नेछ। पूर्वका मधेशीहरु अब खुलेरै हाम्रो आन्दोलनमा आउनेछन्। पहिलो मधेश आन्दोलनमा थारुहरुले सहयोग गरे तर पछिल्लो केही समय मनमुटाव देखियो। अब मधेश थरुहटको आन्दोलन एकै स्वरमा हुनेछ। मधेश थरुहट आन्दोलनमा एकैसाथ आगो बल्नेछ।

जेलमा परेका आन्दोलनकारीको अवस्था कस्तो छ?

हामी २५ जना अहिले जेलभित्र छौं। निरन्तर २८ महिनादेखि जेल जीवन बिताउँदै छौं। हामी २५ जनामा कतिपय नेता र सर्वसाधारणहरु छन्। अहिले जेलभित्र समान्य अवस्था छ।

२५ जना मध्ये २० जनाको बालबच्चा र परिवार छन्। उनीहरु घरका मुखिया हुन्। उनीहरु पक्राउ पर्दा उनको परिवारको बिचल्ली भएको छ। कतिपयको घर जग्गा लिलामी हुँदैछ। धेरैका छोराछोरी पढ्नबाट बञ्चित भएका छन्। आर्थिक अवस्था दयनीय रहेकाहरुको छोराछोरी सडकमा आइसकेका छन्।

हामीलाई पक्राउ गरेपछि प्रहरीले दिएको यातनाका कारण अहिले पनि केही घाइते छन्। उनीहरुको शरीरमा अहिले पनि घाउ र चोट छ। उनीहरुले निरन्तर औषधी खानु परेको छ।

जेल परेपछि राजनीतिक दलका नेता तथा अगुवाहरुको कुनै सहयोग पाउनु भयो कि छैन?

अहिलेसम्म कुनै सहयोग वा राजनीतिक व्यवहार भएको छैन। जेलभित्र कैदीहरुकै शासन चल्ने भएकोले यहाँ हामी राजनीतिक बन्दीका रुपमा छौं। तर, राजनीतिक दलका नेता तथा अगुवाहरुबाट कुनै सहयोग पाइएको छैन।

रेशम चौधरीले चुनाव जिते पनि उनले जितको प्रमाणपत्रसमेत पाउन सकेनन् त?

रेशम चौधरीलाई जनताले सफाइ दिइसके। उसको इजत बढाइदिए। अब ऊ जननिर्वाचित हुन्। त्यसकारण नेपाल सरकारले पनि उसलाई सम्मान गर्नुपर्छ। रेशम चौधरीलाई सहज रुपमा काम गर्ने वातावरण बनाइनुपर्छ।

तपाईका विषयमा शीर्ष नेतृत्वले कस्तो भूमिका खेल्न सक्छ?

हाम्रा पार्टीका नेताहरु अहिले पनि आ–आफ्नै क्षेत्रमा छन्। उहाँहरु काठमाडौं फर्केपछि हाम्रो विषयमा विशेष बहस हुनेछ। उहाँहरुले राजनीतिक मध्यस्तताबाट टीकापुर र थरुहट आन्दोलनको व्यवस्थापन गर्नुपर्छ।

         साभार := पहिलो पोष्ट डटकमबाट

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu