काठमाडौं – टिकापुर घटनाको मुख्य आरोपी भन्दै प्रहरीले फरार सूचीमा राखेको रेशम चौधरीकी श्रीमतीले काठमाण्डौमा आन्दोलन सुरु गरेकी छन् । टिकापुर १ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रेशमलाई निर्वाचन आयोगले प्रमाणपत्र नदिए पछि उनकी श्रीमती रन्जिता चौधरी आन्दोलनका लागि काठमाण्डौ आइपुगेकी छन्।
शुक्रवार दिउसो रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर सरकारलाई आफुहरुको माग सुनुवाई गर्न माग गरेकी रन्जिताले दिउसो माइतिघर मण्डलामा धर्ना दिएकी छन् । उनले त्यहां आन्दोलन स्वरुप मैन बत्ती बालेर विरोध जनाएकी छन्।
“जनताले आफ्नो मताधिकारको प्रयोग गरेर निर्वाचित गरिसकेको अवस्थामा पनि निर्वाचन आयोगले प्रमाणपत्र पनि दिएको छैन, मैले आयोगले प्रमाणपत्र दिनुपर्छ भन्ने माग लिएर यहां आएकी हुं, उनले भनिन् ।
उनले निर्वाचित भइसकेको ब्यक्तिको प्रमाणपत्र रोक्ने कुनै अधिकार आयोगलाई नभएको बताइन् । “आयोगको काम निर्वाचन गराउने र प्रमाणपत्र दिने हो, उनले भनिन्, दोशी भए नभएको हेर्ने निकाय अर्काे छ।”
प्लेकार्ड बोकेर केही समर्थकका साथ माइतिघर मण्डलामा भेटिएकी उनले आफ्ना पतिलाई मतदाता समक्ष निर्धक्क भएर आउने बातावरण बनाउन पनि आग्रह गरिन् । उनले टिकापुर घटना पछि आफ्ना पतिलाई भेट्न नपाएको बताइन् । “ साढे दुई वर्ष भइसक्यो हामी छुट्टिएर बसेको उनले भनिन्, पारीवारीक पीडा त छंदैछ तर अहिले जनताले त्यो वातावरणको अन्त्य हुने अवस्था बनाईदिनुभएको छ । अब त्यस्तो पीडा हुँदैन ।”उनले आफ्ना पतिलाई न्याय दिने कुरामा आफु विश्वस्त भएको बताइन् । “सरकारले यो घटनामा छिट्टै छानविन गरेर दोशी भए कारवाही गरोस् होइन भने हामीलाई भेट्ने मौका दिइयोस्” उनले भनिन् ।
टिकापुर घटना हुँदा उनले आफ्नो छोरा ६ वर्षका मात्र रहेको बताइन् । “मैले छोरालाई बुवा विदेश जानुभएको छ भनेर सम्झाएको छु, छोराले पनि त्यसरी नै बुझेको छ” उनले भनिन् । सरकारले छानविन गरेर निर्दाेश सावित भए त्यसको क्षतिपुर्ती पनि सरकारले दिनुपर्ने उनले बताइन्।
उनले आफुहरुलाई थारु समुदायको भएका कारण निर्वाचनका क्रममा पनि निकै दुख दिएको बताइन् । उनले निर्वाचनको प्रचार प्रसार समेत गर्न नदिएको बताइन् । “विभिन्न वहानामा हामीलाई दुख दिइयो, उनले भनिन्, मतगणना स्थल भित्र पनि हामीलाई पस्न दिइएन ।”उनले अहिले सरकारको ध्यानाकर्षण गराउन आन्दोलनको पहिलो चरण सुरुगरकोे भएको बताउंदै माग सुनुवाई नभए अर्काे चरणको आन्दोलन गर्ने चेतावनी दिइन् । उनले निर्वाचित भएर पनि विजय जुलुस पनि निकाल्न नपाएको बताइन।
