विराटनगर : नेपालमा प्रतिबन्ध लगाइएको नेट्वर्किङ व्यवसायमा प्रयोग गरिने औषधि भारतबाट तस्करी हुने गरेको पाइएको छ । नेट्वर्किङ कम्पनीको नाम नै उल्लेख गरिएका औषधी अवैध रुपमा भित्र्याउने गिरोह प्रहरीले पत्ता लगाएको छ ।डीएक्सएन नामक नेट्वर्किङ कम्पनीको औषधिसहित दुई महिलालाई विराटनगरबाट मंगलबार साँझ पक्राउ गरिएको हो भनेर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौला नेत्रृत्वको टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिका १० की ३४ वर्षीया सुस्मिता राई र २२ वर्षीया सम्झना मगरलाई पक्राउ गरेको हो ।शरीरका विभिन्न अंग र झोलामा लुकाएर औषधि ल्याउँदै गर्दा उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ । नेट्वर्किङ व्यवसाय प्रतिबन्ध लगाइएको अवस्थामा किन र कुन प्रयोजनका लागि भारतबाट औषधि ल्याइएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका दुबैलाई प्रहरीले बुधबार आवश्यक अनुसन्धान अघि बढाउन विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । ‘नेट्वर्किङका माध्यमबाट सर्वसाधारण ठगिने क्रम बढेकाबेला प्रतिबन्धित औषधि तस्करीबारे अनुसन्धान थालिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले भने ।भारतबाट भन्सार शुल्क तिरेर मात्रै औषधि आयात गर्न पाइन्छ । पक्राउ परेका महिलाको नेट्वर्किङ व्यवसायमा आवद्धताबारे अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ।
