चितवनमा धरहरा, घुँगी र चिचरको आकर्षण

Thursday, 18 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रत्ननगर महोत्सवमा बाँस र सेतो कपडाबाट बनाइएको धरहरा हेर्न लागेको  भीड (बायाँ) र ५ फिट अग्लो फाइबरबाट बनाइएको घुँगी तथा चिचरको मूर्ति ।
टाँडी (चितवन) — टिकौली चौरमा जारी नवौं रत्ननगर महोत्सवको मुख्य आकर्षण नमुना धरहरा बनेको छ । धरहरा चढ्न र हेर्न दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । बाँस, प्लाई र सेतो कपडाबाट बनाइएको ७५ फिट अग्लो धरहराले सबैको ध्यान तान्ने गरेको छ । पहिलोपटक महोत्सवमा पुग्नेहरू दंग पर्छन् । ‘काठमाडौंको धरहरा भूकम्पले ढालेर हेर्न पाइएन,’ टाँडीका मनीष खनालले भने, ‘यो धरहरा नमुना लाग्यो ।’ 

उनी पहिलोपटक महोत्सवमा पुगेर धरहरा देख्दा सुरुमा आश्चर्यमा परे । निकैबेर नियालेर मात्र धरहरा चढ्न तयार भए । बैरिया माविमा कक्षा १० मा अध्ययनरत उनी साथीसँग महोत्सवमा धरहरा बनाएको खबर सुनेर हेर्न पुगेका थिए । उनी मात्र होइन । अधिकांश बालबालिका, युवायुवती तथा वृद्धवृद्धाको केन्द्र धरहरा बन्ने गरेको छ । महोत्सव प्रवेद्वारमै भएकाले सबैको आँखा पहिला धरहरामा पुग्छ । धरहरा चढेर वरपर नियाल्न पाइन्छ ।
धरहरा बनाउन १३ लाख खर्च भयो । दैनिक २ हजारभन्दा बढीले धरहरा अवलोकन गर्ने गरेका छन् । ‘०७२ को भूकम्पले काठमाडौंको धरहरा ढल्यो तर अझै बनेको छैन,’ महोत्सव आयोजक रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले भने, ‘त्यसैले सरकारलाई चाँडो बनाउन दबाब दिने उद्देश्यले धरहराको प्रतिमूर्ति बनाएका हौं ।’ उनका अनुसार महोत्सवमा दैनिक दर्शकको भीड लाग्ने गरेको छ । पुस २७ देखि महोत्सवमा ४ सय ५० स्टल राखिएको छ । महोत्सवमा माछापालनलाई प्रवद्र्धन गर्ने गरी माछाका भुराको प्रदर्शनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानालगायतको स्टल राखिएको छ । केराका परिकार चाख्न दर्शकको दैनिक भिड लाग्ने गरेको छ । ५० करोड बढी कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसम्बन्धी प्रविधि, बीउवीजन राखिएको छ । अघिल्ला वर्षहरूको महोत्सवजस्तै यो वर्ष बंगुरपालन व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले टाँडी बजार क्षेत्रमा बंगुरका परिकारसहित स्टल राखिएको छ । पोर्क, पोल्ट्री, कृषिका खाद्य परिकार, जनजातिका परिकारसहित आयोजना गरिएको चौथो राष्ट्रिय पोर्क फुड फेस्टिबल ६ गतेसम्म चल्नेछ ।
५ फिट अग्लो घुँगी र चिचर
खैरहनी नगरपालिका ५ स्थित जनकौली गौचरणमा जारी पाँचौं खिचरा महोत्सवको मुख्य आकर्षण फाइबरबाट बनाइएको ५ फिट अग्लो घुँगी र चिचरको पोकोको मूर्ति बनेको छ । महोत्सवमा आउनेको पहिलो नजर घुँगी र चिचरको मूर्तिमै पर्छ । माघीको अवसर पारेर थारू कल्याकारिणीसभा क्षेत्र नम्बर ७ ले आयोजना गरेको महोत्सवमा थारू समुदायले बनाएका परिकार राखिएका छन् ।
माघ ८ गतेसम्म चल्ने महोत्सवमा थारू समुदायको संस्कृति मुख्य आकर्षण बनेको छ । ‘घुँगी र चिचरको पोकोको मूर्तिमा फोटो खिच्नेको भीड नै लाग्छ,’ महोत्सवको अतिथि आमन्त्रण तथा सत्कार समिति संयोजक चन्द्रा चौधरीले भनिन्, ‘मूर्तिले महोत्सवमा आकर्षण थप्ने काम गरेको छ ।’ मूर्ति माडीका दिनेश्वर चौधरीले बनाएका हुन् ।
महोत्सवमा हस्तकलाका सामान प्रदर्शनीमा राखिएको छ । मायाको चिनोका रूपमा घुँगीको मूर्ति दिने गरिएको छ । टाढाटाढादेखि दर्शक महोत्सवमा आउने गरेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारले गीतसंगीतमार्फत दर्शकको मन जित्ने गरेका छन् । महोत्सवमा करिब २ सय स्टल रहेका छन् ।
                                                 source:-kantipur dailly 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu