संघीयताबारे थारु समुदायको बुझाई (पढेर सेयर गर्नुहोस्)

Tuesday, 10 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लेखिका :-निरा भगत,,
एक नेपाली कविले लाक्षाणिक भावमा भनेका छन् किः सोझा जति काठ सब काटिन्छन्, बाङ्गा जति काठ सब छोडिन्छन् । मानविय आचरण, विचार र स्वाभाव यस्तै छ । बाङ्गा–टिङ्गा, टाठा–बाठाहरु प्रयोगमा ल्याइँदैनन्, सिधासादा र सरल व्यक्ति नै सबैको प्रयोगको तारो हुन्छ । सोझो काठ हँसिया, कुटो कोदालाको बिँडदेखि घर–चोक जताततै प्रयोग हुन्छ तर बाङ्गो काठ जङ्गलमै जिवित रहन्छ । कसैको तारो बन्नु पर्दैन । यही अवस्था नेपालका थारु समुदायको राजनीतिक छायाँचित्रमा देखिन्छ । नेपालका थारु समुदायहरु संघीयताका बारेमा के चाहन्छन् ? भन्ने स्वयम् थारु नेताहरु थारुका नामबाट स्थापित गैरसरकारी संस्थासमेतले थारु समुदायको मनोभावना बुझेको पाइदैन । थारु समुदायको मनोभावना थारु नेताहरुको भाषण हो कि ? थारु समुदायको नामबाट खुलेका गैरसरकारी संस्थाको वक्तव्य हो कि ? यसबारेमा वास्तविकता बुझ्ने चेष्टा कसैबाट भए–गरिएको देखिएन । थारु समुदायको धारणा बुझ्नुअघि उसको प्राकृतिक स्वभाव, रहनसहन, पेसा व्यवसाय आदि बुझ्नु जरुरी रहेको हुन्छ । साथै थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक अवस्थाका बारेमा पनि विश्लेषण गर्नु जरुरी रहन्छ ।
प्रकृतिपूजक थारु जातिले यस बर्षको जनगणनाताका विवरण टिपाउँदा बौद्धधर्म लेखाउन आम थारु समुदायलाई थारु कल्याणकारी सभा लगायतका संस्थाले सार्वजनिक आह्वान नै गरेका थिए ।
थारु जातिको स्वभाव सरल, उपकारी, गुणी, स्वभिमानी भएकैकारण अन्य जुनसुकै जातिसँग पनि यो जाति स्वभाविक रुपले घुलमिल भएको हुन्छ । प्रकृतिपूजक थारु जातिले यस बर्षको जनगणनाताका विवरण टिपाउँदा बौद्धधर्म लेखाउन आम थारु समुदायलाई थारु कल्याणकारी सभा लगायतका संस्थाले सार्वजनिक आह्वान नै गरेका थिए । तर, जनगणनाकाबेला अधिकतर थारु परिवारले आफूहरु सनातनी हिन्दु नै भएको विवरण लेखाएको पाईयो । यसरी हिन्दू धर्म–संस्कृतिप्रति आस्थावान पनि थारु जातिले अन्य धर्मावलम्बीप्रति जहिले पनि आदरभाव राखेका हुन्छन् । थारु जातिका मानिसहरु पहाडी समुदायका व्यक्तिसँग जसरी घुलमिल र भातृत्वको भावनासहित सन्निकट हुन सफल छन्, त्यसरी नै उनिहरुले मधेसी समुदायका अन्य जातिको पनि मन र विश्वास जितेको पाइन्छ । कतिपय अवस्था र स्थानमा मधेशी समुदाय र पहाडी समुदाय, हिन्दु समुदाय र मुस्लीम एवम् बौद्ध धर्मकावीच यसले पुलको काम गरेको पाइन्छ । विद्यालय व्यवस्थापन समितिदेखि सिचाई उपभोक्ता समितिसम्मको गठन प्रक्रियामा अन्य जाति, समुदायबीच सहमति हुन नसक्दा थारु समुदायका व्यक्तिको हकमा सर्वसम्मत वा बहुमत भएको घटनाक्रमले थारु समुदाय स्थानीयस्तरका आफ्ना गाउँबस्तीमा रहेका सवै जातिका छिमेकीहरुसँग असल सम्बन्ध राख्न सकेको कुरा स्थापित हुन्छ । यो जाति सोझो सिधा हुनको साथै अशिक्षा, गरीबी, एवम् चेतनाको कमीका कारण पिछडीएको जाति एवम् समुदायभित्र पर्छ ।
मुलतः तराईमा बस्ने यो जाति समुदायका मानिससँग दुई दशकअघिसम्म पनि निकै जग्गाजमिन भएको देखिन्थ्यो । तर, कालान्तरमा यिनिहरुको सोझोपनको फाईदा उठाएर अन्य जातिका मानिसले क्रमशः थारुहरुको जग्गा अफ्नो पार्दै लगे । सोझोपनका कारणले हुने ठगीबाट जोगाउन पञ्चायतकालसम्म पनि ४० बर्ष नकटेका थारुले जग्गा रजिष्ट्रेशन गर्दा मालपोत कार्यालयले भरपर्दो साक्षी ल्याउन लगाउँथ्यो भनिन्छ । जमिनमा स्वामित्व घट्दै गएपनि थारु जातिको मुल पेशा कृषि नै हो । त्यसमा पनि परम्परागत कृषि व्यवसायमा लागेकाकारण आर्थिक उन्नतिमा सबल हुन सकेका छैनन् । आफ्ना उत्पादनहरु अथवा कृषि उपजकारुपमा रहेका तरकारी, फलफूल र खाद्यान्न गाउँबाट सहरसम्म ल्याई बेचेर नुन, तेल, लत्ता, कपडा किनि पुनः घर फर्कनेबाहेक ठूला व्यपारमा थारु समुदायको हालसम्म पहूँच हुन सकेको छैन । व्यपारमा ज्ञान–सीपको अभाव, पूँजीको कमी र न्यून सङ्ख्यामा मात्र सहरमा कम बसी अत्याधिक व्यक्ति गाउँमै रहने हुदा पनि स्वभाविक रुपमा व्यपारमा थारु समुदायको पकड हुन सकेको छैन । प्राविधिक शिक्ष र उच्चशिक्षा लिई विद्यालयहरु शिक्षक शिक्षिका हुनेहरुको सानो संङ्ख्या हाल देखिन थालेको पाइन्छ । अपवादबाहेक थारु समुदायबाट निजामतीक्षेत्रको उच्च पदमा पुग्न सकेको छैनन् ।
थारु समुदायको व्यक्ति जतिसुकै गरीब भए पनि, जस्तोसुकै प्रकृतिक एवम् दैवीविपत्ति परे पनि ऊ कहिल्यै मागेर खाँदैन । कडा र खतरायुक्त काम गर्न तयार हुन्छ ।
थारु समुदायको व्यक्ति जतिसुकै गरीब भए पनि, जस्तोसुकै प्रकृतिक एवम् दैवीविपत्ति परे पनि ऊ कहिल्यै मागेर   खाँदैन । कडा र खतरायुक्त काम गर्न तयार हुन्छ । थारु समुदायको पर्यायवाची अर्को नाम परिश्रमी व्यक्ति पनि हो । यो जातिको राजनीतिमा प्रभाव र अन्य जातिसँग उसले गरेको प्रतिस्पर्धा पनि उल्लेख्य छ । भनिन्छ राजनीतिमा साम, दाम, दण्ड, भेद गरी चार कुरा अपरिहार्य हुन्छ । नेपालमा हालैका दिनमा देखिने गरेको राजनीतिक ताण्डव्य नाच हेर्दा अरु दुई कुरा पनि थपिएको छ, त्यो हो, मनि र मसल । यस परिस्थितिमा सिधासाधा तर गरीब र मेहनती थारु समुदायको व्यक्ति अन्य जातिका चतुर, टाठाबाठा र छट्टु व्यक्तिका हुलमा हराउँछन् । उनिहरुलाई भोट बैंककारुपमा नेता, गैरसरकारी संस्थाका सञ्चालक, भोट बैंकका ठेकेदारहरुले उपयोग गरेको पाईन्छ । गाउँमा अन्य जाति वा समुदायका व्यक्तिले मितेरी साईनो जोडेर पनि थारु भेट तानेका हुन्छन् । तर, थारु स्वयम्ले मेरो समुदायलाई यो कुराले हित गर्छ भनी आफ्नो भनाई र वर्चश्व अन्य जाति, समुदायसम्म पुर्याई आफ्नो हितमा ध्यान केन्द्रित गराउन सकेको देखिदैन ।
थारु समुदायको आवाज राज्यशक्तिसम्म पुर्याउन सकेको पाइँदैन । त्यसकारण पनि थारु समुदाय अन्य जातिको व्यक्तिसँग राजनीतिक प्रतिस्पर्धामा कमजोर देखिँदै आएको छ । अतिथि देवो भवः लाई मुलमन्त्र र धर्म मान्ने थारु समुदायको कुनै गरीब परिवारमा बास बस्न अन्य समुदायको व्यक्ति पुगेमा उनिहरु आफूले ओछ्याएको सुकुल र एउटा कम्बल पनि पाहुनालाई दिन्छन् । आफू भूइँमा सुत्ने, आफू भोको भएर पनि अरुलाई भोजन गराउने थारु समुदायको सामान्य धर्म हो । अर्को कुनै जाति, समुदायप्रति यति त्याग गर्ने संस्कृति अरु कुनै जातिमा छ ? मैले हालसम्म अर्को समुदायमा त्यत्रो उदार भावना भएको देखेको छैन । यत्रो विशाल छाति र उदार हृदय भएका थारु समुदाय साम्प्रदायिक हुनै सक्दैनन् । थारु–थारु एक हौं, अरु जाति सम्प्रदायलाई भगाऔं, भन्ने कुभावना थारु समुदाय वचन, आचरण, व्यवहार र धर्मले कहिल्यै साम्प्रदायिक बन्न सक्दैनन् । पहाडबाट बसाई झरेका भोका, नाङ्गा, पहाडी समुदायका व्यक्ति हुन वा भारतबाट कामको खोजीमा आएका गरिब जनता वा मधेसबाटै मधेसमा बसाई सरेका मधेसी समुदायका व्यक्ति सबैको सहारा र पहिलो गन्तव्य एवम् सुरक्षाकवच र साथ एवम् शरण दिएका व्यक्तिलाई आफैं उठीबास लगाउने सोचमा थारु समुदायको मनमा हुनैै सक्दैन ।
चाहे संघीयताको कुरामा होस् वा संविधान निर्माण्मा थारु समुदायले हामीलाई यो नामको राज्य चाहियो भनेर अरुलेजस्तो हलो अड्काएर गोरु चुट्ने काम गरेका छैनन् । एकल पहिचानको वकालतभित्र थारु समुदायको अस्तित्व हराउनु भएन । सबै समुदायको उन्नतिमा थारु समुदायलाई पछि नपारियोस् । अरु समुदायका बच्चा स्कुल जाँदा यो समुदायको बच्चा गोठालो जान नपरोस् । अरु समुदायका व्यक्ति बिरामी भई विशेषज्ञ चिकित्सकको सेवा लिईरहँदा थारु समुदायको व्यक्ति बिरामी हुदाँ धामीको घर जाने बाटो सोध्दै हिँड्न नपरोस् । अरुले दिनहुँ रोस्ट चपाईरहँदा थारु समुदायका मानिसले पेटभरी खान दसै, माघी वा सिरुवा पर्व पर्खनु नपरोस् । अनि अन्याय पर्दा आँसु पिएर आफ्नै भाग्यलाई दोष दिनु नपरोस् भन्ने थारु समुदायको माग हो । के यति कुराको माग र आशा राज्यसँग राख्दा थारु समुदाय साम्प्रदायिक हुन्छ ? अन्य जातिको अधिकार खोस्न लागेको वा खोसीएको हुन्छ ? थारु समुदायले कहिल्यै अरुलाई नदेउ, हामीलाई मात्र देउ भनेको छ ? अरुलाई दिए जति नै हामीलाई पनि देउ भन्दा थारुले अरु जातिप्रति विभेद र अन्याय गरेको हुदैँन ।
थारु समुदाय जन्मजात वा बंशजरुपमा उसको गुण मात्र होइन, हरेक नेपालीको मन मस्तिष्कमा अटाएको र छरिएको पाईन्छ । त्यसैगरी हरेक समुदायका नेपालीहरुलाई थारु समुदायका हृदय, मन मस्तिष्कमा सजाएको पाईन्छ । यस अवस्थामा थारु समुदायले केवल समुच्चा नेपाल र नेपालीको हित हुँदा आफ्नो पनि हित हुनुपर्यो भन्ने माग राखेकाले संघीयताको मामिलामा यिनीहरु बहुपहिचानका पक्षमा उभिएको प्रष्ट हुन्छ । वर्तमान नेपालको राष्ट्रगानमा परेका शब्द सय थुङ्गा फूलका हामी एउटै माला नेपालीले थारु समुदायको भावना समेटेजस्तो लाग्छ ।
                    (लेखिका कानून व्यवसायी हुन् ।)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu