धरहरा ठड्याउन भीमसेन थापा नै आउनुपर्ने हो ?

Monday, 21 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

दिलनिशानी मगर

भीमसेन थापाले बनाएको ११ तले धरहरा १९९० माघ २ मा आएको महाभूकम्पले भत्किएपछि बार्दलीभन्दा माथिका २ तला भत्काएर ९ तलामा झारिएको थियो ।
पुनः २०७२ वैशाख १२ गते आएको ७ दशमलव ८ रेक्टरको भूकम्पले यो पूर्णरूपले नष्ट भयो । भूकम्पकका कारण नेपालीले जे जति पीडा भोग्दै आए, धरहराले पनि त्यो पीडा भोग्दै आयो । यो घडीमा समान पीडाको अस्थिपन्जर बोकेर रोइरहेछन्, धरहरा पनि, मान्छे पनि ।
महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएको धरहरा यतिबेला सानो ठूटोमा परिणत भएको छ । त्यो ठूटो केवल एक भग्नावशेष मात्र होइन । त्यो त यो मुलुकको प्रगतिको सुचकांक हो । पुर्खाको पसिनाको अपमानको प्रतिक हो । त्यही बाँकी ठूटोको विरासत जोगाउन २१ औँ शताब्दिका नेपालीलाई मुस्किल परेको छ ।
अझ भनौ, हालका प्रखर राष्ट्रवादी प्रधानमन्त्रीको पगरी गुथेका केपी ओलीलाई धरहराको सकसबाट मुक्ति पाउन निकै हम्मे–हम्मे परेको छ । ठूलै फसाद जस्तो । २०७२ साल फाल्गुन ४ गते ओलीले एक महिनाको पारिश्रमिक जम्मा गरेर ऐतिहासिक धरोहर पुनर्निर्माण संकल्प अन्तर्गत ’मेरो धरहरा, म बनाउँछु’  अभियान संचालन गरेका थिए । तर अहिलेसम्म धरहराको नाममा एउटा ईटा र एक चिम्टि बालुवा किनिएको छैन ।
सबै दोष अस्थिर सरकारको पाउमा चडाइन्छ । तर पुनर्निर्माण प्राधिकरणको लागि त हतार–हतार करोडौको गाडी किनियो । लाखौ तलब खाने प्राबिधिक र कर्मचारीहरु नियुक्त गरियो । तर केही लछारपाटो लागेन । अस्थिर सरकारको पालामा व्यक्तिहरु मालामाल हुने, धरहरा ढलेको ढल्यै हुने । सरकार फेरिए नि राष्ट्रिय सम्पदाको विषयमा राष्ट्रिय संकल्प र निती त फेरिने हैन होला ?
तर यसबीचमा ओलीका नीतिगत आवाजमा धेरै फेरबदल आयो । चुलाचुलामा ग्यास, हावाबाट बिजुली, पानी जहाज, इलेक्ट्रिक बस, चुच्चो परेको रेल । यी हाम्रा लागी सपना हुन् । सुन्दर सपनाहरु देख्न पाइन्छ । तर विपना भनेको धरहराको फेद हो । जो घायल छ, मुर्छित छ । मुर्छित सपनाहरु ब्यूँझाउने ओलीका महान चाहना प्रति नमन् तर धरहरालाई गरेको अपहेलना प्रति घोर घृणा !
भैगौ, ती क्षितिज पारिका सुनौला सपनाका रहरहरु पुरा गर्दै गरौंला । तर कम्तिमा धरहरा त चाहिँयो । यहाँ कतिधैरै लाज भैसक्यो । आत्मग्लानीको पनि सिमा हुन्छ । राणा शासन फाल्यौं, राजा संस्था फाल्यौं, पञ्चायती व्यबस्था फाल्यौं । प्रजातन्त्र नमिठो भयो भनेर गुलियो किसिमको गणतन्त्र ल्यायौं । हो, चाहे जति सबै चिज ल्यायौं ।  तर ढलेको धरहरा ठड्याउन केपी ओलीको ठाउँमा भीमसेन थापा ल्याउन सकिन्न । 
धरहराको आत्मा भड्किरहेछ ।
भूकम्पले धरहरा ढालेको ठीक तीन वर्ष पुगेको दिन चिटिक्क परेको दौरा, सुरवाल र टोपीमा ठाँटिएर झिल्के शैलीमा प्रधानमन्त्री केपी शर्मा ओली ठूटो मात्रै बाँकी रहेको धरहराको फेद मुनि ठिङ्ग उभिन पुगे । त्यहाँ आयो झिल्के आयो, बारुली कम्मर भाँच्यो... भन्ने बोलको गीत बजिरहेको थिएन। बरु भीमसेन थापाको छाँयाले इतिहासका पानाहरुलाई एकपटक जिस्काईरहेको थियो ।
कहिलेकाही गीतको बोल र इतिहाँसको पाना उस्तै–उस्तै लाग्ने रहेछ ।
के कति काम परेर राष्ट्रवादी मनुष्यको सवारी भइबक्स्यो भनिकन धरहराको आत्मा बोल्यो । धरहराको घायल आत्मासँग कुराकानी गर्दै ओलीले नित्यकर्म जस्तै भैसकेका महावाणी फ्याँकिहाले– ‘म इँटा बोक्न आउनुपर्छ कि खर्पन लिएर आउनुपर्छ कि डोको लिएर आउनुपर्छ, जे–जे गर्नुपर्छ म तयार छु ।  कुटो–कोदालो बोकेर पनि आउँछु । मै बनाउँछु मेरो धरहरा।’ 
भूकम्प पश्चात पुनर्निर्माणका कामहरु कति सकिए ? यसको प्रतिशतको आँकडा हेर्यो भने कुनैपनि नेपाली आँखालाई धरधरी रुन मान लाग्छ । मुटुमा ७ रेक्टर स्केल बरारबरकै कम्पन हुन्छ ।
तीन वर्ष अगाडि पनि ओलीले धरहाराको आत्मासँग यसरी नै बडो राष्ट्रवादी, भावुक र साहित्यिक पारामा कुराकानी गरेका थिए । ओलीले पुर्खाहरुको गुणगान खुबै गाएका थिए । धरहराको शिरलाई आफ्नो शिरसँग तुलना गरेका थिए । त्यो सुनेर मानिसहरु रोएका थिए । त्यतिखेर धरहराको आत्मासँग निम्सरो हौसला मात्रै बाँकि थियो । किनभने अल्छि, ठगमारा र भतुवाले नि संकटको बेलामा केही सिक्छ र गर्छ भन्ने किंवदन्ती छ ।
अनुदानमा प्राप्त, महतहरुको आँखा नपरेको जस्तापाताले बेरेर कतै अस्तित्व गुम्छ भनेर लुकाई राखिएको त्यो धरहाराको आत्माको फेदमा उभिएर जब ओलीले फेरि पनि ३ वर्षको भनाइ दोहोर्याउदै ’मै बनाउँछु मेरो धरहारा’ भन्ने राष्ट्रवादी भनाइहरु उद्घोष गरे, तब त्यहाँ लामो समयसम्म तरररररररररररर ताली बज्यो । 
नेपालको इतिहासमा प्रधानमन्त्रीको यतिधेरै पत्रकारहरु ’फ्यान’ भएको सायद यो पहिलो घटना नै हुनुपर्छ ।  किनभने तीन वर्ष बित्दा समेत धरहराको जग किन हालिएन् ? भनेर कसैले प्रश्न उठाएनन् । तिनले वाल्ल परेर प्रमका सुनिरहे । मानौ कि चियामा लठ्याउने पदार्थ घोलिएको थियो ।  प्रश्न र प्रतिकारात्मक चेतको निधन भइसकेको थियो । कलम र आवाजमा आलोचनात्मक चेतको निधन भइसकेपछि पत्रकार, पत्रकारको रुपमा बाँच्दैन । 
भूकम्पले थोरैको घर भत्कियो, धेरैको ठडियो
’कति आए कति गए झुसे बाँरुला।’ गाँउका बाजेहरुले चौतारीमा बसेर यो लोक टिप्पणी गर्थे । के भनेको होला यस्तो भन्ने लाग्थ्यो । हाल आएर थाहा भयो यसको मार्मिकता । यो देशलाई यस्तो बनाउँछु, उस्तो बनाउछु, ह्याँ गर्छु, त्यहाँ गर्छु भनेर कति आए, कति गए कुनै लेखाजोखा छैन । अनि कुनै माइकालालले लछारापटो लगाउन सकेको हैन । यहाँ धरहरा उठाउछु भन्नेहरु झुसे बारुला जस्ता निस्के ।
खुट्टी हेरेर थाहा हुन्छ रे नचरीको नाँच । पखेटा हेरेर चराको वेग थाहा हुन्छ । ओलीको खुट्टी र पखेटा एकैसाथ देखिदैँछ। उखान टुक्काका शिरोमणि यी ओली कम्तिमा पनि झुसे बारुला नहुन् भन्ने चिन्ता हो । यो चिन्ता किन ? किनभने यो देश हामी सबैको हो । तर यिनी झुसे बारुला भन्दा नि बढ्ता गन्हाएर हिँड्न थालेका छन्। यो केवल अराजक आवेग हैन, यसका केही प्रमाणहरु छन्।
पूनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीले लिएपछि केपी ओलीले के गर्ने त ? फेरि परिवर्तनको लागि जेलनेल जाने कुरा आएन ।
भूकम्प पश्चात पुनर्निर्माणका कामहरु कति सकिए ? यसको प्रतिशतको आँकडा हेर्यो भने कुनैपनि नेपाली आँखालाई धरधरी रुन मान लाग्छ । मुटुमा ७ रेक्टर स्केल बरारबरकै कम्पन हुन्छ । त्यसैले आँकडा प्रस्तुत नगरौ । जब कि राहतसमेत किस्ताबन्दि हुन्छ यो देशमा र दोश्रो किस्ताको रकम बैङ्कमा होल्डिङ् गरेर साहुहरु मज्जाले ब्याज खान्छन् । मानौ कि तिनले गरिबको आँशु र रगत नि पिउँछन् ।
भूकम्पपीडितलाई नयाँ ट्याक्सी दिने योजना थियो । नम्बेर प्लेट जति सरकारकै दलालहरुले सेटिङ्मा बेचि खाएछन् । योजना आयोगमा विदेशमा पढेलेखेका हुन्, सबै सेवा सुबिधा त्यागेर नेपाल बनाउन आएका हुन् भन्नेहरु पनि आए ।  तिनले माखो पारेनन् । वाग्ले बन्धु अहिले अनलाइनका समाचारहरु शेयर गरेर एकछिन पिसाबको न्यानोमा रमाउँछन् र भातको खाएर सुत्छन् । 
प्राधिकरणमा मामा भान्जा, ससुरा, ज्वाईँ, सम्धी पालैपालो आए । पुनर्निर्माण गर्न आएका केही राजीनामा गरेर चुनाव लड्न पो हान्निए । यो ११ औँ आश्चर्य हो । भूकम्पले धेरैको घर ढल्यो, धेरैको जीवन बर्बाद भयो। तर त्यो भन्दा धेरैको महल खडा भयो, जीवन मालामाल भयो । यो कुनै आरोपका लागी मित्थ्या आरोप मात्र हैन । तपार्इंहरुले खर्च भएको बजेटको शिर्षक हेर्नुभयो र फिल्डमा नतिजा देख्नुभयो भने छक्कै पर्नुहुनेछ ।
पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मनमा कुनै पनि प्रकारको पाप नराखी सत्य कुरा जगतैको माझमा प्रष्ट राखिदिए’पूनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीलाई दिनुपर्छ ।’ तर माधव कमरेडले एउटा कुरा भन्न छुटाएर गम्भिर गल्ति गरे । त्यो हो– हास्य–व्यङ्ग्य क्षेत्रको जिम्मा चाँहि केपी ओलीलाई दिनुपर्छ । आखिर जिम्मा लिने दिने कुरा न पर्यो ।
किनभने सबैले सबैकुराको जिम्मा लिने कुरा भएन । पूनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीले लिएपछी केपी ओलीले के गर्ने त ? फेरि परिवर्तनको लागि जेलनेल जाने कुरा आएन । औषधिको भरमा बाँचेका बिरामी मान्छे त्यो संभव पनि छेन। के गर्ने? राष्ट्रपति ज्यूलाई सल्लाह सुझाव दिने काम नि कति गर्नू ? उहाँ सबै कामको लागि सक्षम महिला हुनुहुन्छ । उहाँलाई कसैको आडभरोसा आवश्यक पर्दैन ।

युग नचिन्ने नेता
हामी यस्तो युगमा बाँचिरहेका छौ जहाँ नक्साका आधारमा इन्ची नापेर मिसाईलहरु प्रहार हुने गर्छन् । अर्को थरिकाले ति मिसाईलहरु आकाश मै नष्ट गरिदिन्छन् । गुँड बनाउन चुच्चोमा दुई त्यान्द्रो पराल बोकेर उड्ने भँगेरा चराको साटोमा हजारौ टन भारी बोकेका जहाजहरु उड्छन्। अब मिसाइल हानाहान हुने भो भनेर अड्कलबाजी गरिएका उत्तर र दक्षिण कोरियाका शासकहरु अंकमाल गर्छन्।
धरहराको टुप्पो देख्न नपाएको ३ वर्ष भैसक्यो । के अब त्यो टुप्पो देख्नको लागि भीमसेन थापा नै आउनुपर्ने हो ? कि अब विगुल बालुवाटारबाट फुक्ने ?
तर हाम्रा शासकहरु आफैले कुटो, कोदालो, बाउसो उचालेर धरहरा निर्माण गर्छु, मुलुकमा सम्मृद्धि ल्याउँछु भन्ने मुर्ख मानसिकतामा दिन कटाईरहेछन् । पार्टी एकता हुने कि नहुने भन्ने संगठनको बिषयमा सिङ्गो देशको ध्यान नै केन्द्रित गरिदिन्छन् । र हामीले तिनको गफ पत्याईदिनु पर्ने उर्दी जारी गर्छन् । हिन्दीमा एउटा कहावत छ–’अरे कुछ तो शरम करो यार, तेरी गाँड फट्जाएगा?’
भीमसेन थापाको पालामा सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेको सुन्दा वित्तिकै जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुन्थे। त्यो टुप्पो देख्न नपाएको ३ वर्ष भैसक्यो । के अब त्यो टुप्पो देख्नको लागि भीमसेन थापा नै आउनुपर्ने हो ? कि अब विगुल बालुवाटारबाट फुक्ने ?
बालुवाटरबाट विगुल त फुकिन्छ । तर यहाँ जे हुनुपर्ने थियो त्यो भइराखको छैन । जे नहुनुपर्ने थियो त्यो भइराखको छ । खुरुखुरु निर्माणको काम गरेको भए अहिलेसम्म धरहरा उठिसक्थ्यो । धरहरा उठ्नु भनेको नेपालीहरुको शिर उठ्नु पनि हो । तर हामी यी सबैखाले इमान–जमानबाट च्यूत भईसक्यौ। यस्तो लाग्छ कि किन बाँचिरहेका छौ होला? किन हाँसिरहेका छौ होला?
मनमा लागेको कुरा
भूकम्पबाट भत्कनुअघि काठमाडौं महानगरपालिकाले आफ्नो जिम्माको धरहरा २० वर्षका लागि सञ्चालन गर्न साइड वार्कस प्रालीलाई करारमा दिएको थियो । तिनले धरहराको उचाई बेचेर धैरै पैसा कमाए । अनियमितता पनि गरे होलान् । साइड वार्कस प्रालीसँग भएको सम्झौताको बुदाँ नम्बर पाँच अनुसार कुनै कारणवश धरहरा भत्किएमा पुनर्निर्माणको जिम्मा साइड वाकर्सको हुने लेखिएको रहेछ ।
भत्केको मर्मत गर्ने जिम्मा लिएको कम्पनीले ढलेको धरहरा पुनर्निर्माण गर्ने जिम्मा भने लिएन । आखिर किन ? सहमति र सम्झौता अनुसार साइड वार्कस प्रालीले धरहराको पुनर्निर्माण गर्नु पर्ने हो । सरकार वा सरोकारवालाहरुले यो साइड वार्कस प्रालीको सन्दर्भमा खसै आवाज उठाएको देखिदैन । धरहराको संरक्षक त धरहराबाट पैसा कमाउनेहरु पनि हुनुपेर्ने होइन ?
सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमले धरहरा लगायत क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणका लागि कम्पनीको सामाजिक उत्तरदायित्त्व अन्तर्गत एक अर्ब रुपियाँसम्म खर्च गर्ने घोषणा पहिल्यै गरेको थियो । तर किन घोषणामा मात्र सिमित भयो? किन निर्माण प्रकृया अगाडि बढ्न सकेन ? धरहरा निर्माणको सन्दर्भमा सरकार, टेलिकम र प्रधानमन्त्री ओलीको ’म बनाउछु मेरो धरहरा’ भन्ने अभियानको उदेश्य ३ वर्षसम्म पनि आखिर किन पुरा हुन सकेन?
सायद धरहराले भीमसेन थापाको प्रतिक्षा गरेको हुनुपर्छ !
 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu