काठमाडौं := संविधानमा आदिवासी जनजाति समुदायको अधिकार अझै सुनिश्चित हुन नसकेको भन्दै अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले अन्तरिम संविधानमा दिएको अधिकार पनि नयाँ संविधानमा कटौती गरिएको गुनासो गरे ।
२४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा वीरगञ्जमा आयोजित कार्यक्रममा आदिवासी जनजाति अगुवाहरुले अधिकार स्थापित गर्नका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए । जल, जंगल,जमिनमा अधिकार स्थापित गर्न आदिवासी जनजातिहरु एकजुट भई अघि बढ्नुपर्नेमा उनीहरुको जोड छ ।आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, पर्साको आयोजना भएको कार्यक्रममा बोल्दै परिषदका सल्लाहकार डा दीपक शाक्यले आदिवासी जनजातिहरु जातीय रुपमा विभाजित हुँदा आन्दोलन कमजोर बन्दै गएको बताए ।
‘आदिवासी जनजातिलाई राज्यले अझै हेपिरहेको अवस्था छ, तर राजनीतिले गर्दा आदिवासी जनजातिहरु जातीय रुपमा विभाजित छन्’ उनले भने ‘यो जात उ जात भनेर विभाजित हुँदा सिंगो आदिवासी समुदाय कमजोर भइरहेको छ । र उसको आवाज कतै सुनिएको छैन ।’
आदिवासी जनजाति कानुन व्यवसायी संघका सदस्य अमय दास थारुले संविधानमा आदिवासी जनजाति अयोग गठन गर्ने व्यवस्था भए पनि त्यतिले मात्रै नपुग्ने बताए । ‘मुस्लिम, मधेसी आयोग जस्तै आदिवासी आयोग गठन गर्ने भनिएको छ’ उनले भने ‘त्यतिले मात्रै आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित हुँदैन । आदिवासी जनजातिहरुले अझै संघर्ष गर्नुपर्ने देखिएको छ ।’
उनले आदिवासी जनजातिहरु भेषभूषा, भाषा, सँस्कृतिमा धनी रहेको बताइए पनि त्यसको उचित संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
थारु कल्याणकारीका उपाध्यक्ष नन्दकिशोर पञ्जियारले आदिवासी जनजाति समुदायको अधिकारका लागि पहिला आफैं जागरुक हुनुपर्नेमा जोड दिए ।
अधिकार प्रतिनिधित्व, स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संसोधन हाम्रो साझा अभियान भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा बिहीबार वीरगञ्जमा बिहान प्रभातफेरि गरिएको थियो ।वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभातफेरि माइस्थान, आदर्शनगर हुँदै होटल मकालुमा पुगेर सभामा परिणत भएको थियो ।
साभार:-थारुवान डटकम
