बाढीको डरले पालैपालो सुत्छन् राप्ती किनारका थारु समुदाय

Thursday, 9 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सोनारी:=जब मनसुन सुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कति बेला राप्ती नदी उर्लिएर आउँछ र सर्वस्व बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । बाढी आउने डरले राति सुत्दा पालोअनुसार सुत्नुपर्ने उनीहरुको बाध्यता हो ।राप्ती सोनारी गाउँपालिका–६ का स्थानीयवासी रामचरण थारू भन्छन‍्, ‘बर्खामा गाउँभरिका स्थानीयवासी पालोअनुसार सुत्नुपर्छ, सबैजना सुतेपछि बाढी आएको कसरी हल्लाखल्ला गर्ने रु सुतेकालाई जगाउने मान्छे त चाहियो ?’ उनका अनुसार राप्ती नदी किनारका स्थानीयवासीको दिनचर्या बाढीकै त्रासमा बित्ने गरेको छ ।गाउँमा कोही जाग्राम भएर बसेका हुन्छन् त कोही सुतिरहेका हुन्छन् । ‘राप्तीले हामीलाई धेरै पीडा दियो,’ वडा नं ६ का स्थानीयवासी प्रेम चौधरीले भने, ‘यो त वर्षौं देखिको पीडा हो, हाम्रो पीडामाथि अहिलेसम्म मल्हम लागेको छैन ।’ हरेक वर्ष वर्षात्पछि राप्ती नदीमा उर्लिएर आउने बाढीले नदी किनारका खेतीयोग्य जमीनसँगै बस्ती पनि कटान गर्ने र डुबाउने गरेको छ।
‘धेरै पटक निर्वाचन भए, तटबन्ध गरिदिन्छौँ भन्दै नेताहरुले भोट पनि मागे, सरकार धेरै फेरिए तर हाम्रा दुःख अहिलेसम्म फेरिएनन्,’ अर्का स्थानीयवासी भरत डाँगीले भने, ‘चुनावका बेला तटबन्ध निर्माण गरिदिने सबै नेताको मुद्दा नै बन्छ तर जितेपछि खै कहाँ र किन हराउँछ ?’ डेढ दशकअघि निर्माण सुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ, निर्माण सम्पन्न गर्न कुनै नेताले पहल नगरेको डाँगीको गुनासो छ ।राप्ती नदी किनारका बासिन्दाले झेल्दै आएको यो पुरानै समस्या हो । राप्ती नदी कटानकै कारण कैयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत भइसकेको छ । ‘राप्ती कटानका कारण धेरैलाई सुकुम्वासी गराइसकेको छ, धेरैको उठीबास भएको छ,’ विनौनाका स्थानीयवासी रामगोपाल चौधरी भन्छन् , ‘सरकारले नै जनताको जीउधन जोगाउने कुनै योजना ल्याएको छैन, निर्माण शुरु गरिएको राप्ती नदी तटबन्ध पनि अधुरै रह्यो ।’बाढीबाट खेतबाली र घरगोठ क्षतिग्रस्त हुँदा घरमा भण्डारण गरेर राखेका खाद्यान्नसमेत नोक्सान हुँदा स्थानीय बासिन्दा बिच्चलीमा पर्ने गरेका छन् । तर २०६० सालदेखि शुरु गरिएको पक्की तटबन्ध निर्माणको काम भने अहिलेसम्म सकिएको छैन । नेपाल सरकारले जनताको तटबन्ध कार्यालयमार्फत राप्ती किनारका करीब एक लाख जनतालाई बाढी र डुबानको चपेटाबाट बचाउन निर्माण शुरु गरिएको तटबन्ध अझै अधुरै छ ।
नदीमा तटबन्धका लागि स–साना खुद्रे योजनाहरु र बाढी आएसँगै भत्किएर बग्ने गरेका कारण खेतीयोग्य जमीन कटान र बस्ती डुबान रोकिएको छैन । ‘खुद्रे योजनाले नदी कटान रोकिँदैन,’ स्थानीयवासी कमल थारू भन्छन् , ‘नदी कटान रोक्ने नै हो भने ठूलो परियोजना चाहिन्छ, खुद्रे योजना सञ्चालन गरेर राज्यको ढुकुटी राप्तीमा बगाइएको छ ।’बाढी र डुबानको चपेटाबाट गाउँलाई जोगाउन बाँकेको राप्ती सोनारी गाउँपालिका–६ को कार्यालयले आफ्नै बजेटबाट करीब ३० लाखको लागतमा नदीको कटानबाट उच्च जोखिममा रहेको सिधनियामा ८४ मिटर लामो पक्की तटबन्ध निर्माण गरेको छ । सिधनियामा तटबन्ध निर्माण गरेपछि यसले स्थानीयवासीलाई केही राहत महसुश गराएको छ तरपनि ढुक्क हुनसक्ने अवस्था भने छैन ।वडा कार्यालयले वडाको विकास बजेटबाट तटबन्ध निर्माण गरी नदी कटानको उच्च जोखिमबाट गाउँलाई जोगाउन पक्की तटबन्ध निर्माण गरेको छ । बाढी र डुबानको चपेटाबाट गाउँलाई जोगाउने उद्देश्यले वडा कार्यालयमा आएको बजेटबाटै तटबन्ध निर्माणको काम शुरु गरिएको र आगामी वर्ष पनि तटबन्ध निर्माणको कामलाई निरन्तरता दिइने राप्ती सोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनक थारूले बताए ।
वडा नं ६ लाई बाढीबाट जोगाउन करीब ६ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने वडाध्यक्ष थारूको भनाइ छ । ‘वडामा आउने बजेटले मात्रै सबै ठाउँमा तटबन्ध निर्माण सम्भव छैन, केन्द्र सरकारले गुरुयोजना बनाएर राप्ती नदीको दुवैतर्फ पक्की तटबन्ध गरेपछि मात्रै गाउँबस्तीलाई जोगाउन सकिन्छ,’ उनले भने ।राप्ती नदीको कटानबाट उच्च जोखिममा रहेका होलिया क्षेत्रमा स्थानीयले लामो समयदेखि पक्की तटबन्ध निर्माणको माग गर्दै आएको छ । राप्ती कटान र बस्ती डुबानसँगै वर्षेनी करोडौँको क्षति हुँदै आएको स्थानीयवासी रामसिंह थारूले बताए । उनले भने, ‘तटबन्ध नहुँदा नदीको कटानबाट हरेक वर्ष केही न केही खेतीयोग्य जमीन बगरमा परिणत हुँदै आएको छ ।’ रासस
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu