प्रदेश ५ को नाम बुद्ध थारुवान र राजधानी दाङ बनाउन माग

Friday, 14 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सवि थारू,,
बर्दिया :=थारु अगुवाहरुले प्रदेश नं. ५ को राजधानी दाङ र नाम बुद्ध थारू हुनुपर्ने माग गरेका छन् । बिहीबार बारबर्दिया नगरपालिकाको सभाहलमा आयोजित प्रदेश नं. ५ को नामाकंन र राजधानी विषयक छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रदेश राजधानी दाङ र बुद्ध थारूवान÷लुम्बिनी थारूवान हुनुपर्ने माग गरेका हुन् । 
प्रदेश नं. ५ की उपसभामुख कृष्णी थारूले प्रदेश सरकारले प्रदेशको नाम र राजधानी तोक्नका लागि विशेष समिति गठन गरिसकेकाले उक्त समितिले सबैलाई मान्य हुनेगरी प्रदेशको नाम र राजधानीको प्रस्ताव गर्ने बताइन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उपसभामुख चौधरीले प्रदेश ५ का विकासका लागि सबै जाति, धर्मको मुद्दालाई समेटेर सुक्ष्म अध्ययन गरेर अगाडि बढनुपर्ने बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा सुझाव समितिका सदस्य दिपेश थारूले प्रदेशको प्रमुख भाषा थारू भाषालाई बनाउनु पर्ने बताए । प्रदेश ५ को सीमाकंनको आधारमा बर्दिया जिल्लालाई प्रदेशले सरापेको आरोप लगाउँदै उनले प्रदेशबाट बर्दिया जिल्लाका बासिन्दा सुदूरपश्चिममा रहेको गुणासो गरे ।

प्रदेश ५ को अस्थायी राजधानी हुँदा पनि बुटवलका बासिन्दाले आफूलाई पैसा खाएर बुटवल राजधानी बनाएको आरोपप्रति उनी आक्रोशित बनेका थिए । आफू स्वयम् समितिमा रहेकाले प्रदेशको नामाकंन र राजधानीबारे केन्द्रीय सांसदसँग बहस गरेर सबैलाई मान्य हुने वैज्ञानिक आधार दिएर प्रस्ताव गर्न थारू अगुवालाई सुझाव दिएका थिए ।

कार्यक्रममा अर्का प्रदेश सभा सदस्य कविराम चौधरीले निश्चित ब्यतिmहरुको स्वार्थका लागिमात्र प्रदेशको अस्थायी राजधानी बुटवल भएको भन्दै सबैलाई पायक पर्ने स्थान दाङ नै भएको बताए । ‘बुटवलका जनताको इच्छा नै छैन राजधानी बनाउने, बुटवलका ब्यापारीको नै इच्छा छैन राजधानी बनाउने, तर दुई चार नेताको स्वार्थमा बुटवल राजधानी भएको छ,’ उनले भने ।

दाङलाई राजधानी बनाउन वैज्ञानिक आधारसहित प्रस्ताव राख्नुपर्ने र थारूको पहिचानसँग जोडेर प्रदेशको नाम राख्नुपर्ने उनको धारणा थियो । त्यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले थारू जाति पहिचानको मुद्दामा थलिएको समुदाय भएको भन्दै राज्यले थारू जातिलाई मधेसीसँग जोडेर थारूको पहिचान पछि पार्न खोजिरहेको आरोप लगाए । उनले थारू अगुवाहरुलाई सचेत हुन आग्रह गर्दै प्रदेशको सम्पर्क भाषा थारू भाषालाई बनाउनुपर्ने बताए । उनले राजधानी दाङ र नाम थारू जातिको पहिचानसँग जोड्नुपर्ने समेत माग गरे ।

अधिवक्ता सन्तराम धरकट्वाले प्रदेश नं. ५ को सीमाकंन नै थारू समुदायलाई चित्त नबुझ्दो रहेको बताउँदै थारू जातिलाई प्रदेशमा अल्पमत पार्नकै लागि नवलपरासीलाई समेत टुक्रा पारिएको र कैलाली र कञ्चनपुरलाई अर्को प्रदेशमा लगिएको आरोप लगाए । प्रदेशको सीमाकंन नै चित्त नबुझेको अवस्थामा प्रदेशको नाम र राजधानी थारू जातिको हितमा पर्न नसक्ने शकां ब्यक्त गर्दै थारू जातिको भाषालाई नै प्रदेशको प्रमुख भाषा बनाउन सुझाव दिए । उनले थारू जातिको पहिचानका लागि बुद्धको नामसँग जोडेर र प्रदेश राजधानी दाङ हुनुपर्ने बताए ।

त्यस्तै हरिहर चौधरीले आम जनतामा राज्य सत्ताको प्रभाव परिनसकेको अवस्थामा पनि थारू समुदायले पहिलेदेखि अगुवा, महटावाको रुपमा राज्य सत्ताको अभ्यास गर्दै आएपनि अहिलेको राज्य सत्ताले थारू समुदायको पहिचानलाई मेटाएको आरोप लगाए । नेपालको कुनै पनि विश्वविद्यालय वा विद्यालयहरुमा थारू जातिका इतिहासबारे पढाई नभएको गुनासो गर्दै अब थारू जातिको इतिहास, संस्कृति, पहिचानसँग जोडेर प्रदेशको नाम थारूवान लुम्बिनी रहनुपर्ने बताए ।

उनले देश विकासका लागि संघीयता महत्वपूर्ण रहेपनि थारू जातिलाई पछि पार्न राज्यले आफूहरुको जनसंख्यालाई अंक गणितीय माध्यमबाट भागबन्डा गरेकोप्रति आपत्ति जनाए ।

कार्यक्रमको खुल्ला छलफलमा दाङका रामजि चौधरीले दाङ उपत्यका दक्षिण एसियाकै ठूलो उपत्यका एवं बाढी पहिरो लगाएतका प्राकृतिक प्रकोपबाट पनि क्षति कम हुने भएकाले प्रदेशको राजधानी दाङ नै हुनु पर्ने र थारूको इतिहास र पहिचानसंग जाडिने भएकाले थारू दगिंशरण राजासंग या थारूका सन्तान बुद्धसंग जाडेर प्रदेशको नाम बुद्ध थारूवान हुनु पर्ने तर्क राख्नु भएको थियो।

त्यस्तै बाँकेका सुरेश चौधरीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म थारू जातिको ऐतिहासिक पृष्ठभूमि रहँदारहँदै राजनीतिक चतु¥याईँले थारू जातिहरुलाई राज्यले अनागरिकजस्तो ब्यबहार गरेको आरोप लगाए । उनले राजनीतिकरुपमा पछि परेको थारू जातिको राजनीति गर्ने अवसर र थारू जातिको बाहूल्यता रहनेगरी प्रदेशमा थारू भाषा मिल्नेगरी पश्चिम कञ्चनपुरदेखि पूर्व चितवनलाई समेटेर छुट्टै प्रदेश बनाउनुपर्ने बताए ।

त्यस्तै प्रदेश नं. ५ को नामाकंन र राजधानीको लागि केन्द्र र प्रदेशमा आफ्नो सुझाव तथा माग प्रस्तुत गर्न विष्णु थारूको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ । जसमा रामजी चौधरी (दाङ), भिमबहादुर चौधरी(दाङ), सुरेश थारू (बाँके), राधेश्याम थारू (बाँके), चन्द्र थारू(बाँके), पहु थारू प्रदिप (बाँके), सुशील चौधरी (बर्दिया), एकराज चौधरी (बर्दिया), सन्तराम धरकटुवा (बर्दिया), अन्जु दहित (बर्दिया) र मनकला चौधरी (बर्दिया) छन् ।

बारबर्दिया नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुशील चौधरीले गरेका थिए । कार्यक्रमको आयोजना थारू भाषा उत्थान मञ्च बर्दिया र गोचाली परिवारले गरेको थियो । कार्यक्रममा बर्दियासहित दाङ र बाँकेका थारू अगुवा, बुद्धिजीबीहरुको उपस्थिति रहेको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu