थारु समुदायको ‘यमोसा’ पर्व लोपोन्मुख (सेयर गर्नुहोस्)

Tuesday, 9 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

विप्लव काफ्ले,,
भरतपुर:= थारु समुदायले पितृको सम्झनामा मनाउने ‘यमोसा’ पर्व लोप हुने अवस्थामा पुगेको छ । जितिया पर्वको ८ दिनपछि मनाउने यमोसा पर्व पितृ औँसीका रुपमा लिइन्छ । आज (मंगलबार) चितवनका थारु समुदायले यो पर्व मनाउँदैछन् ।

थारु कल्याणकारीणी सभा चितवनका अध्यक्ष ललित चौधरी नयाँ पुस्तालाई यमोसा पर्वको महत्व बुझाउन चुनौती देखिएको बताउँछन् । “विद्यालय पढ्ने थारु समुदायका विद्यार्थी, जागिरमा व्यस्त युवालाई यो दिन विदा दिइएको पाइदैन”, नारायणगढमा आयोजित पत्रकार भेटघाटमा उनले भने, “पुरानो संस्कृति बुझाउन पर्व मनाइने क्षेत्रमा सार्वजनिक विदाको खाँचो छ ।” उनका अनुसार यमोसा पर्व चितवन, नवलपुर र भारतको विहार चम्पारण क्षेत्रका थारु समुदायले मात्रै यो पर्व मनाउने गर्छन् । “थोरै भूगोलमा मात्र यो पर्व मनाइन्छ”, उनी भन्छन्, “पुराना पुस्ताबाट नयाँ पुस्ताले सिक्ने अवसर पाएका छैनन्, लोप हुन्छ की भन्ने चिन्ता छ ।” यमोसा पर्वलाई पाहुना सत्कार गर्ने पर्वका रुपमा समेत लिइन्छ ।

बिहानै सिरु काटेर ल्याउने प्रचलन छ । घरको मूलद्वारमा करिब एक हात लामो केलाएको (सुकेका सिरुका पात हटाइएको) मुठ्ठा तयार पारेर पितृ स्थापना गरिन्छ । त्यसमा बासनादार फूल राखेर सजाइन्छ । त्यसमा पाहुनाको स्वागतका लागि राखिने केही ठोस तथा पेय पदार्थ राखेर पितृ सम्झने गरिन्छ । त्यस्तै घरभित्र र बाहिरको पूजास्थलमा स–सना सिरुको मुठ्ठा राखिन्छ । गृहणीले ‘मोर पित्रायन सितरे सितर जै हे’ अर्थात पितृगण शितलतापूर्वक विदा भएर जानु भनेर पानी छम्केर पुजा गर्छन् ।
घरका सबै सदस्यले स्नान गरेर दाभीमा कुशले तर्पण दिएर पितृको आत्मशान्तिको कामना गर्छन् । दाभी (सिरु) को मुठ्ठा बनाएर पितृ स्थापना गरी पूजा गरिन्छ । “यमोसामा बितेका परिवारका सदस्यको सम्झना गरिन्छ”, थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोले भने, “यो दिनलाई चोख्खिने दिन पनि भनिन्छ, बोकाको भोग दिने चलन छ ।” उनले यमोसा पर्व विस्तारै लोप हुने खतरामा रहेको बताए । “यमोसा अल्पसंख्यक थारु समुदायले मात्रै मनाउँछन्”, उनले भने, “नयाँ पुस्तालाई यमोसाबारे धेरै जानकारी छैन, कसरी मनाउने भन्नेबारेनै नयाँ पुस्ता अन्यौलमा छन् ।” उनले पुराना पुस्ताबाट संस्कृति हस्तान्तरण गराउन राज्यले थोरै भएपनि पहल गर्नुपर्ने बताउँछन् ।
“यमोसामा जति धेरै पाहुना भित्राइयो, त्यति नै पितृ खुसी हुन्छन् भन्ने मान्यता छ”, उनले भने, “दिनभरि नै यो समुदायमा पाहुना लाग्ने चलन छ ।” नजिकै आफन्त भए आफन्त नभए केही खोजेरै ल्याएर भएपनि फूल सिउरेर, कपालमा तेल लगाएर पहिलो पाहुनालाई सत्कार गरेर विशेष परिकार खुवाइन्छ । त्यसपछि बल्ल घरका सदस्य खानपीनमा सहभागी हुन्छन् । यमोसाको दिनमा बोकाको भोग अनिवार्य चलन भएपनि आजभोलि भोग दिनैपर्ने चलनमा सुधार भएको छ ।
पुराना पुस्ता भएका घरमा यमोसा पर्व विधिपूर्वक मनाउने गरिन्छ ।

जितियापछि आउने यमोसा घटस्थापनाको अघिल्लो दिन मनाउने गरिन्छ । यो दिन समूह समूहमा पाहुना हुन जाने चलन छ । नाचगानसहित थारु बस्तीमा यो पर्व मनाउने गरिन्छ । यसको १० दिनपछि थारु समुदायले दशैं मनाउँछन् । यमोसाको १६ औं दिनमा सोहोराई, सोहोराईको ११ दिनपछि एकादशी मनाउने चलन छ । थारु समुदायले मनाउने चाडको अघिल्लो दिन मछुवारी ( माछा मार्ने दिन) जाने चलन हुन्छ । थारु समुदायका चाडमा माछाको परिकारलाई विशेष मानिन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu