लखन चौधरी,,
धनगढी:=३,४ दिनदेखि कैलाली कारागारमै थला परेका थारु नेता लक्ष्मण थारुको स्वास्थ्य अवस्था झन्झन् बिग्रन थालेको छ ।कारागार प्रशासनले नेता थारुको उपचारको लागि २ दिनदेखि धनगढीस्थित केही अस्पतालमा स्वास्थ्य जाँचको लागि लग्दै आएको छ ।
तर उनको उपचारमा हुने ढिलासुस्ती र लापरवाहीले उनको अवस्था बिग्रँदै गएको गुनासो गरिएको छ ।
सञ्चारकर्मीहरुसँग दुखेसो पोख्र्दै नेता थारुले भने, ‘उपचारको नाममा अस्पताल देखाउने काम मात्रै भयो । अवस्थामा केही सुधार भएन । मलाई त्यतिकै मार्ने भए।’विहीवार रातिबाट टाउको, कान र छाति दुख्ने समस्याले ग्रस्त नेता थारुकोे स्वास्थ्य जाँचको लागि कारागार प्रशासनले शुक्रवार सेती अञ्चल अस्पताल लगेको थियो । पछि उनका आफन्तजनको आग्रहमा धनगढीकै जनता क्लिनिकमा स्वास्थ्य जाँचपछि कारागार फिर्ता गरिएको थियो ।
तर उनको अवस्था पुनः रातिदेखि बिग्रन थालेपछि उनलाई शनिवार धनगढीकै कैलाली अस्पताल लगिएको थियो । तर विना उपचार कारागार फिर्ता गरिएको नेता थारुको दुखेसो छ ।‘मलाई अस्पताल त लगे । तर डाक्टर नआएपछि विना उपचार कारागारमै ल्याइयो । नाटकीय ढंगले मेरो उपचार गरिँदै छ,’ उनले भने, ‘उपचारमा लापरवाही हुँदैछ । डाक्टरको निगरानीमै उपचार गरियोस् भन्ने मेरो भनाई हो ।’
तर हाल काठमाडौंमै रहेका कैलाली कारागारका प्रमुख महेन्द्र खड्काले उनको उपचारमा कुनै कमी नगरेको जिकिर गरे । नेता थारुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत कारागार प्रमुख खड्काले प्रतिक्रिया दिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले नेता थारुको स्वास्थ्य अवस्थालाई गम्भीरतापूर्वक लिएर उपचारको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । आवश्यक परे भोलि (आइतबार) काठमाडौं रेफर गर्ने प्रजिअ श्रेष्ठको भनाई छ ।
थरुहट थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने टीकापुर घटना घटेको थियो । सो मुद्दामा नेता थारुसहित २६ जना हाल पुर्पक्षका लागि कारागारमा रहेको छन् । तर उनीहरूको मुद्दा अझै किनारा लाग्न सकेको छैन ।