जमिनदारकहाँ फर्किँदै मुक्त कमैया, ५० भन्दा बढीले घर छाडे

Sunday, 30 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कैलाली := यहाँका मुक्त कमैया परिवार सरकारले उपलब्ध गराएको घरजग्गा छाडेर जमिनदारकहाँ नै फर्किन थालेका छन्। बढैयाताल गाउँपालिका–४ रामनगरका ५० भन्दा बढी त्यस्ता परिवार रोजगारीका नाममा पुरानै जग्गा जोतभोग गर्न त्यसरी फर्किएका हुन्। यो क्रम विगत ८ वर्षदेखि चलिरहेको स्थानीय बताउँछन्।

कतिपयले सित्तैमा र कतिपयले भाडामा घर–जग्गा दिएर हिँडेका छन्। खान–लाउन समस्या भएको, उब्जनी नभएको र समाज नमिलेको भन्दै यहाँका अधिकांश मुक्त कमैया परिवार पुरानै जमिनदारकहाँ खेत जोत्न गएको रामनगरकी सुनीता थारूले बताइन्।

मुक्त कमैया पुनःस्थापना समिति सदस्य–सचिव एवं भूमिसुधार तथा मालपोत कार्यालय प्रमुख कृष्ण ज्ञवालीले रोजगारीका सिलसिलमा रामनगरका मुक्त कमैया अन्यत्र गएको सुनाए। सरकारले १० वर्षअघि उनीहरूलाई पुनःस्थापना गरी प्रत्येक परिवारलाई ५ कट्ठा उपलब्ध गराएको थियो। त्यसअघि उनीहरू जमिनदारका घरमा कमैया बस्दै आएका थिए।

जिल्लाको साबिक मनाउ र बदालपुर गाविसबाट सोरहवा गाउँस्थित रामनगर आएका मुक्त कमैया अहिले पुरानै जमिनदारको खेत जोतभोग गरी बटैया (अँधिया) गर्दै आएको मुक्त कमैयाका जिल्ला अगुवा दुःखराम थारूले बताए।

बस्तीका १ सय ९ घर परिवारलाई ५ कट्ठाका दरले सरकारले वितरण गरेको जमिन छुट्याएर दिए पनि उब्जाउ हुन नसकेको दाबी उनीहरूको छ। रामनगरका बडघर हरिराम चौधरीले ५ कट्ठाले खान नपुगेर यहाँका मुक्त कमैया पुरानै जमिनदारकहाँ खेत बटैया गर्न गएको बताए। ‘यहाँ जग्गा पाएका ५० बढी मुक्त कमैयाले घरै बनाएनन्,’ उनले भने, ‘अहिले त त्यही जग्गा पनि छाडेर हिँडे।’

पुरानै जमिनदारकहाँ फर्किएका पूर्वमुक्त कमैया वर्षमा एक–दुईपटक यहाँ आउने गर्छन्। उनीहरूको जग्गा ठेक्का लिएकाले जोतभोग गरिरहेका छन्। पूर्वजमिनदारको जग्गामा बटैया गर्न गएका ठग्गा थारू, कलेशु थारू, भिख्खु थारू, तेजबहादुर थारूलगायतका घर भत्केर बस्नै नमिल्ने भएका छन्।

‘हामीहरू जेनतेन दुःख–सुख मजदुरी गरी जीविका चलाउँदै यहाँ बसेका छौं,’ मुक्त कमैया दिलबहादुर थारूले भने, ‘जाउँ भने कहाँ जाउँ ? पुरानो जमिनदारको जग्गा पनि अरूले नै जोतभोग गरिसकेका छन्।’ मुक्त कमैया बस्ती जनतानगरकी बडकी थारूले यहाँ मजदुरी गर्दा पुरुषसरह ज्याला नपाएको गुनासो गरिन्। ‘पुरुषसरह ज्याला पाए घरखर्च टार्न सजिलो हुन्थ्यो,’ उनले भनिन्, कामका लागि पुरानै जमिनदारकहा“ जाने अवस्था पनि आउने थिएन।’

जिल्लाका ११ हजार ८ सय ७५ मुक्त कमैयामध्ये ८३ जनाको पुनःस्थापना हुन बाँकी छरु। तीमध्ये १४ जना सम्पर्कमा आएका छन्।

कान्तिपुर दैनिकबाट

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu