किन चाहियो कर्णाली प्रदेशमा थारूको ‘स्वायत्त वडा’ ?

Tuesday, 4 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लेखिका :- इन्दु थारू,,

       (सुर्खेतका थारू समुदाय परम्परागत पोशाकमा)

नेपालको जनगणना २०६८ को तथ्यांकले भन्छ– सुर्खेतमा थारूहरुको जनसंख्या ६७९० छ। १० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत उपत्यकामा मात्र थारुहरुको संगठित बसोबास छ। सुर्खेत जिल्लाको पनि वीरेन्द्रनगर नगरपालिकाको तीन वडा २, ९ र १० थारु बाहुल्य क्षेत्र हुन्। थारुहरुको पुरानो बस्तीका लागि सुर्खेतको साबिकको गाविस लाटीकोइली र पातलगंगा  प्रख्यात छ। लाटीकोइलीमा २२ र पातलगंगामा १३ थारु गाउँ गरी दुवै गाविसमा थारुहरुको ३५ गाउँ थियो। नयाँ संरचनामा जाँदा लाटीकोइलीका २२ गाउँ दुई वडामा विभाजित भए। त्यसैगरी पातलगंगाका १३ गाउँ पनि दुई वडामा विभाजित भए। दुई गाविसका ३५ गाउँ चार वडामा विभाजित गरिएका छन्। जसका कारण स्थानीय तहमा थारुहरुको प्रतिनिधित्व अर्थपूर्ण देखिँदैन।

 वीरेन्द्रनगरका तीन वडा थारु स्वायत्तः वडा घोषणा गर्नुपर्ने त्यहाँका थारुहरुको माग छ। थारु कल्याणकारिणी सभाले संगठितरुपमा माग उठाएको हो। तर सुनुवाई भने भएको छैन। वडा २ मा वडा अध्यक्षको टिकट नेपाली कांग्रेसले लालबहादुर चौधरीलाई दिएको थियो। उनी पराजित भए। वडा ९ र १० मा कुनै पनि राजनीतिक दलले थारुलाई वडा अध्यक्षको टिकट दिन जरुरी ठानेनन्। वडा ९ मा तीन ठूला दल नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तीनै पार्टीले थारुलाई वडा सदस्यको टिकट दिए। कांग्रेसबाट श्याम चौधरी, एमालेबाट कृष्ण बहादुर थारु र माओवादीबाट मोतीलाल चौधरीले वडा सदस्यको टिकट पाएका थिए। तीनै पार्टीका थारुहरु आफैँबीच प्रतिस्पर्धा गर्दा कोही पनि विजयी हुन सकेनन्। आखिर गैर थारुले वडा सदस्य जिते। उक्त वडामा नेपाली कंग्रेसले अध्यक्ष र तीन सदस्य जित्यो भने नेकपा एमालेबाट एकजनाले जिते, जो गैरथारु हुन्। समानुपातिक समावेशीता सुनिश्चितताको आवाज उठिरहेका बेला थारु बाहूल्य क्षेत्रमा एकजना पनि थारु निर्वाचित हुन नसक्नु दुःखद छ।

वडा १० मा वडा महिला सदस्य एमालेबाट सुनिता चौधरीले जितिन्। वडा २ मा थारुले वडा अध्यक्ष जित्न नसके पनि वडा महिला सदस्य एमालेबाट सरिता चौधरीले जितिन्। थारुहरुको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि थारु बाहूल्य तीन वडा थारु स्वायत्तः वडा घोषणा गर्नुपर्ने थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभाको माग छ। कर्णाली प्रदेश सभामा एकजना पनि थारुको उपस्थिति छैन, न प्रतिनिधि सभामा उपस्थिति छ। २०७४ को स्थानीय तहको चुनावमा कर्णाली प्रदेशमा २ जना थारु महिलाले वडा महिला सदस्यको पदमा चुनाव जितेर सुर्खेतमा थारुहरुको प्रतिनिधित्व शून्य हुनबाट जोगाए।

राजनीतिक प्रतिनिधित्वको सबालमा कर्णाली प्रदेशका थारुहरुको सहभागिता शून्यजस्तै भए पनि लोप हुने अवस्थामा रहेका सामाजिक, साँस्कृतिक पहिचानका लागि सुर्खेतका थारुहरु भने अग्रसर देखिन्छन्। सुर्खेतमा एउटा थारु संग्रहालय बनाउनका लागि उनीहरु कस्सिएका छन्। थारु कल्याणकारिणी सभाले थारु संग्रहालय निर्माणका लागि प्रदेश सरकारमा प्रस्तावना पेस गरेको थियो। कर्णाली प्रदेश सरकारले उक्त प्रस्तावना बुझाउन ढिलाइ भएको बतायो। अन्य कुनै योजनाबाट तानतुन गरेर सहयोग गर्ने बतायो। ‘थारुको पहुँच नपुगेर थारुका योजना परेनन्। अन्यको मठ, मन्दिरका योजना पर्छन्। तर थारुका पर्दैनन्,’ सभाका अध्यक्ष बेचुलाल चौधरी भन्छन्, ‘योजना परेन भन्दा पनि पारिदिएनन् भन्ने हाम्रो बुझाइ हो।’

वीरेन्द्रनगर नगरपालिकाले दोस्रो आर्थिक वर्षमा संग्रहालयका लागि रु १ लाख बजेट छुट्याएको छ।  निर्माणका लागि यो रकम केही पनि हैन। अन्य दुई वडाबाट संग्रहालयका लागि रु ५० हजार बजेट छुट्याइएको छ। थारु कल्याणकारिणी सभाले संग्रहालय निर्माणका लागि सहयोग जुटाउन तिहारमा देउसी भैलो खेल्ने निहुँ पनि बनायो। आफ्नै परम्परागत भेषभुषामा सजिएर देउसी भैलौबाट २ दिनमा ८ घर देउसी खेलेर थारु कल्याणकारिणी सभाले रु १ लाख ७ हजार सहयोग जुटायो। वीरेन्द्रनगर सुर्खेतको कालीमाटीमा अहिले थारु संग्रहालय निर्माण भइरहेको छ। उक्त संग्रहालय निर्माण हुने जग्गा थारु कल्याणकारिणी सभा सुर्खेतको नाममा छ।

सुर्खेतमा थारु होमस्टे

सुर्खेतका थारु गाउँमा सामुदायिक थारु होमस्टे सञ्चालनको प्रयास भएको थियो। पातलगंगा गाउँमा थारु होमस्टे सञ्चालनका लागि नगरपालिकाले पहिलो वर्ष १ लाख २५ हजार रकम छुट्याएको थियो। त्यस्तै दोस्रो वर्ष कालीमाटीमा थारु होमस्टे सञ्चालनका लागि नगरपालिकाले १ लाख ५० हजार बजेट छुट्याइएको छ। दुवै गाउँमा होमस्टे सञ्चालनका लागि व्यवस्थापन समिति बनाइए तर होमस्टे अझै सञ्चालन हुन सकेको छैन। होमस्टे सञ्चालनबारे ज्ञान र त्यसबाट हुने फाइदाका बारेमा त्यहाँका थारुहरु अनभिज्ञ रहेकाले होमस्टे सञ्चालन हुन नसकेको बताइन्छ।

सामुदायिक थारु होमस्टे सञ्चालन हुन नसकेपनि सुर्खेतको नयाँ गाउँमा निजी पहलमा थारु होमस्टे खोलिएको छ। व्यापारिक उद्देश्यले करिब ५० लाखको लगानीमा सुर्खेतको होमस्टे खोलिएको हो। होमस्टेमा थारु संस्कृतिको झलक देख्न सकिन्छ। त्यहाँ निर्मित थारु झल्को दिने घर, क्याबिन र हल निर्माण गरिएका छन्। होमस्टेको आकर्षण बढाउन स्थानीय स्रोत काठ, बाँस र माटोले मयुर, हात्ती, घोडा र फूल बनाइएका छन्। थारु परिकार ढिक्री, घोंघी, अन्दिको भात, अन्दिको झोर, बटैको सिकार, लोकल कुखुरा, लोकल माछाका परिकार खान पाइन्छ।

पाहुनाहरुका लागि थारुहरुको परम्परागत क्याबिनहरु बनाइएका छन्। कुनै क्याबिनमा टेबल र कुर्सी राखिएका छन् भने कुनैमा गुन्र्दी र दरी ओछ्याइएका छन्। क्याबिनका नाम पनि थारु नामबाट राखिएका छन्। रत्ग्यान कोन्टी, दहितान् कोन्टी, कुशुम्यान कोन्टी, बुलबुल्यान कोन्टी, छोट्कान् कोन्टी, बरकान् कोन्टी, डेमनडौरान कोन्टी, सुर्खेतान कोन्टी, दिउखरान कोन्टी ओ पछलदंग्यान कोन्टी नाम दिइएका १० क्याबिन बनाइएका छन्। थारुका थर र ठाउँको नामबाट क्याबिनका नाम राख्नु यस होमस्टेको सबैभन्दा युनिक पक्ष हो। होमस्टेमा खानाको साथसाथै बस्नका लागि पनि व्यवस्था गरिएको छ। पाँच वटा अट्याच कोठा छन्। यस होमस्टेलाई थारुको साँस्कृतिक पक्षबाट चिनाउनुका साथै आधुनिक सुविधा दिन पनि प्रयत्न गरिएको छ। होमस्टेमा इन्टरनेटको व्यवस्था छ।

होमस्टेको सञ्चालन २४ असोज २०७५ देखि भएको हो। उद्घाटन भने भइसकेको छैन। थारुहरुको नयाँ वर्षको रुपमा मनाइने माघीमा विधिवत रुपमा यसको उद्घाटन गर्ने योजना छ। सञ्चालक समितिका सदस्य बाँधुराम चौधरीका अनुसार पहिले गाउँमा सामुदायिक होमस्टे सञ्चालनका लागि प्रयत्न भएको थियो। तर गाउँलेहरुलाई कुरा बुझाउन सकिएन। पछि साथीहरुसँग मिलेर निजी तवरबाट होमस्टे खोलेको हो।

होमस्टेको सुरुवातमै काठमाडौं, बाँके र कञ्चनपुरबाट पाहुना आएका छन्। रारा जाने टोली होमस्टेमा आएर बास बस्छन्। थारुका परम्परालाई झल्को दिने थुप्रै सामग्री भने राख्न बाँकी छ। होमस्टेमा थारु परम्परागत नाच प्रस्तुती हुन सकेको छैन। कलाकारहरु तयार हुने क्रममै छन्।

२०६८ कै जनगणनाको तथ्यांक हेर्ने हो भने कर्णाली प्रदेशको जनसंख्या १५,७०,४१८ छ। यस अनुपातमा थारुको संख्या एकदमै न्युन ०.४३ प्रतिशतमात्र हुन आउँछ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित तीन वडामा सीमित थारुहरु आफ्नो राजनीतिक पहुँचको सुनिश्चितताका लागि कमसेकम स्वायत्तः वडा घोषणाको माग गरिरहेका छन्। त्यसो हुन नसके, थारुहरुले बुझेका छन् भोलिका चुनावमा थारुहको प्रतिनिधित्व बिल्कुल शून्य हुनेछ। त्यस्तै साँस्कृतिक अन्तरघुलनले पूरै लोप हुने अवस्थामा रहेको थारु संस्कृति संरक्षणका लागि संग्रहालय र होमस्टेका लागि प्रयासरत छन्। तर समग्र थारुहरुको वकालत गर्ने माउसंस्था थारु कल्याणकारिणी सभा भने पहिचान र अधिकारका यस्ता सबालमा चुकरिहेका छन्। 

[लेखिका डेमोक्रेसी रिसोर्स सेन्टर नेपालका सिनिरयर रिसर्चर हुन्।]

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu