सांसद रेशमलाल चौधरीलाई थुनामै राख्न सर्बोच्च अदालतको आदेश

Monday, 7 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:= सर्वोच्च अदालतले टीकापुर घटनाको आरोपमा पुर्पक्षकालागि थुनामा रहेका सांसद रेशमलाल चौधरीलाई थुनामै राख्न आदेश गरेको छ । थारु समुदायले सांसद चौधरीलाई थुनामुक्त गर्नुपर्ने मागसहित सरकारलाई दवाव दिइरहेका बेला सर्वोच्चको यो पछिल्लो आदेश आएको छ ।

आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपालयको आदेश खारेजको माग गर्दै चौधरीले सर्वोच्चमा रिट गर्नुभएको थियो ।

तर, सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सोमबार सदर गरेको छ । राजपाको दवावपछि सरकारको निर्देशनमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले १९ गते मात्र सांसद चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको घटनाको आरोपमा सांसद चौधरीसहित अन्य २४ जना जिल्ला अदालतको आदेशले थुनामा छन् ।

आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश कानुनसम्मत नभएको भन्दै उच्च अदालतमा सांसद चौधरीले निवेदन दिनुभएको थियो । सर्वोच्चले पनि जिल्ला र उच्च अदालतको आदेशमा परिवर्तन गरिरहनु नपर्ने भनेपछि चौधरी तत्काल रिहाई नहुने देखिएको छ ।

सर्वोच्चले चौधरीउपर प्रहरी नायब निरीक्षक मानबहादुर बोहरालगायत ८ जनाले ज्यानसम्बन्धी मुद्दामा किटान गरी पोल गरेको, घटनास्थलमा उपस्थित प्रहरीले कागज गर्दा चौधरीसमेत उपर किटानी पोल गरेको, सहअभियुक्तहरुले चौधरीको निर्देशनमा घटनामा संलग्न भएको भनी बयान दिएको, चौधरीको कल डिटेल हेर्दा घटनास्थल भन्दा टाढा रहेको नदेखिएको, प्रतिवादी प्रदीप चौधरीले अदालतसमक्ष गरेको बयानमा रेशमलाल चौधरीउपर किटानी पोल गरेकाले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त आधार देखिएको सर्वोच्चले ठहर गरेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu