अरुका कथा लेख्ने पत्रकारहरुको आफ्नै पीडा (लिङ्क खोली एकचोटि अवश्य पढ्नुहोस्)

Sunday, 17 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लेखिका :-उन्नती चौधरी ,,
राज्यको चौथो अंग मानिने पत्रकारिता पेशा जति आर्कषित छ, त्यो भन्दा धेरै चुनौतीपूर्ण छ । कहिले हिरो त कहिले जिरो हुने अवस्थालाई सामना गरिरहनु पर्ने भएका कारण पत्रकारितालाई पेशा बनाउने हिम्मत सायदै कमैले गर्छन् ।
यदि एउटा पत्रकार आफ्नो पेशाप्रति बफादार छ भने उसलाई आर्थिक र भौतिक असुरक्षा कहिँ न कहिँ सामना गर्नुपर्ने अवस्था आउछ । यो समस्या सम्रग पत्रकारमाथि आई लाग्ने समस्या हो । यो समस्यासंगै जुध्दै गर्दा पत्रकार महिलाहरू भने थप समस्याको सामना गर्नुपर्ने बाध्यता हुन्छ । उनीहरूले सामाजिक असुरक्षासंगै लैंगिक विभेद, यौन दुव्र्यवहार लगायत यौन आशयका मनोबैज्ञानिक हिंसाहरूबाट अछुतो हुन सक्दैनन् ।
राज्यले पत्रकारितालाई राज्यको चौथो अंगको रूपमा हेरे पनि सामाचार लेखेकै कारण पत्रकारले ज्यान गुमाएका छन् । अंगभंग भएका छन् । ज्यानको बाजी थापेर कलमको निब निखारीरहेका हुन्छन् । यी सबै जोखिमका बाबजुद महिला पत्रकारहरूले भने इज्जतहिनको बिल्ला भिड्न आँट र हिम्मत जुटाउनुपर्ने हुन्छ ।
मैले पत्रकारिता क्षेत्रमा प्रबेश गर्दा शुरूआती चरणमा धनगढी बजारको चोक, गल्ली–गल्लीमा पत्रिका बाँडे । उतिबेला मलाई धेरैले घृणा समेत गरे कि, फलाना कि छोरी पत्रिका बाँड्छ भनेर । मलाई अचम्म लागेर आउँथ्यो, जब मसंगै पत्रिका बाँड्ने पुरुष सहकर्मीलाई पत्रकारज्यू भनेर सम्बोधन गरिन्थ्यो ।
मैले पत्रिका वितरण गर्दागर्दै बिस्तारै लेख्न सिकेकी हुँ । तर, पत्रिका वितरण गर्दा होस् या समाचार लेखन वा समाचार संकलनका क्रममा आफ्नै सहकर्मी, पाठक र आफू भन्दा माथिल्लो ओहदाका कर्मचारीहरूबाट समेत यौनका आशयका प्रहार खेपे ।
सुदूरपश्चिम प्रदेशमा विभिन्न सञ्चार माध्यममा काम गरिरहेका पत्रकार महिलाहरूको अनुभव उनीहरूकै शब्दमा सापटी लिई रूपरंगले आकर्षित भएका महिलाहरूलाई फरक किसिमले बल्याकमेल हुन्छ भने, लेखनमा राम्रो भएकालाई फरक किसिमको । आफ्नै कार्यक्षेत्रमा पनि हामी सुरक्षित छैनांै । बल्याकमेल गरेको प्रमाण हँुदैन, हुन्छ त केवल फिलिंस् । पदमा विभेद, ज्यालामा विभेद र काममा पनि विभेद भईरहेको छ । मिडिया हाउसभित्रै बोली बचनमा पनि सम्मान हुँदैन जसले गर्दा पेशाको विकल्प खोज्न बाध्य छन् पत्रकार महिला ।
इतिहास पल्टाएर हेर्दा पत्रकारिता क्षेत्रमा प्रबेश गरेका महिलाहरू थोरैले मात्रै पेशालाई निरन्तरता दिएको देखिन्छ । जिल्लादेखि केन्द्रसम्म ठूला मिडिया हाउस होस् या साना पुरुष जस्तै महिलाहरूको पनि मिडियाप्रतिको मोह देखिन्छ । तर, एकाएक छोटो समयमै पत्रकार महिलाको मिडियाप्रतिको मोह विलय हुन्छ । उनीहरू अरु नै कुनै पेशा अगाल्न बाध्य हुन्छन् ।
पछिल्लो अवस्थामा यो समस्याको विश्लेषण गर्नेहरू विवाहलाई बाधक बनाई तर्कवितर्क गर्न समेत भ्याईरहेका छन् । तर, मलाई लाग्दैन कि पत्रकारिता पेशालाई दिर्घकालिनरूपले टिकाई राख्न महिला अविवाहित हुनुपर्छ । के यो पेशाबाट पलायन हुनु विवाह नै प्रमुख कारण हो त ? यदि त्यसो हो भने आमादेखि छोरा छोरी नै मिडिया चलाएको उदाहरणहरूपनि हामी सामु छन् । विश्लेषकहरूले किन सोच्दैनन् कि आँट र जोसका साथ मिडियाप्रति मोह जगाएका महिलाहरूलाई टिकाई राख्ने खुराकको बारेमा । यो एक गम्भीर प्रश्न पनि हो ।
मसंगैका दजनौं महिला सहकर्मीहरू पेशा छोडेको उदाहरण दिँदै म अविवाहित भएकै कारण यो पेशामा टिकेको छु भन्नेहरूको जमात ठूलो छ । यो जमातसंग मैले विजय प्राप्त गर्न नसके पनि पत्रकारिताको एकदशक लामो संघर्ष, काम गराई र भोगाईले पेशाप्रति पलायन हुनुको कारण विवाह होईन भन्ने निष्कर्ष निकाल्छु ।
नेपाल पत्रकार महासंघ पनि कहिले कसो पत्रकार महिला विवाहपछि पलाय हुन्छन् भन्ने तर्क दिन्छ । विवाह पनि एउटा कारण हुन सक्छ, तर प्रमुख कारण पत्ता लगाउनतिर महासंघ पनि छ ।
नेपाल पत्रकार महासंघ सम्रग पत्रकारहरूको छाता संगठन हो, तर महासंघले पनि पत्रकार महिलालाई टिकाई राख्नको लागि के कति पहल कदमी चालेको छ भन्ने प्रश्न कहिलेकाहिँ तेस्राउन मन लाग्छ ।
२०७५ सालको तथ्यांक हेर्ने हो भने नेपाल पत्रकार महांघको सदस्यता प्राप्त गरेका पत्रकारहरू देशभर १३ हजार ५० जना छन् । जस मध्ये महिलाहरू जम्मा २ हजार ३ सय ४५ मात्रै छन् । महासंघ भित्र पनि महिलाहरूलाई कोटा बाहेक अन्य पदमा जिम्मेवारी पनि दिईएको पाईन्दैन ।
हाल पत्रकार महासंघमा दलित महिलामा एक जना, महिला सचिब एक जना, महिला कोटाबाट सदस्यमा ३ जना कार्य समितिमा आवद्ध छन् र जिम्मेवारीको हिसाबले एक जना मात्रै महिला लेखा शाखामा काम गरिरहेको अवस्था छ ।
त्यसगरी सुदूरपश्चिममा कैलालीमा दूई सय एक जना मध्ये २७ जना महिला छन् । कञ्चनपुरमा २ सय ७० मध्ये ५९, बैतडीमा ८६ मध्ये १४, दार्चुलामा ५६ मध्ये ६, अछाममा १६० मध्ये १५, डोटीमा ६१ मध्ये ५, बझांगमा ४३ मध्ये ६ र बाजुरामा ६६ मध्ये ७ जना पत्रकार महिलाले सदस्यता प्राप्त गरेका छन् । यी सबै महिला हालसम्म क्रियाशील देखिदैनन् । बेलाबेला नयाँ अनुहार आउने र जाने क्रम तीब्र अवस्थामा छ ।
हुन त महिलाको आवाज बिना रेडियो बज्दैन, टेलिभिजन चल्दैन । तर, दीर्घकालिनरुपले महिलाहरूलाई यो पेशामा जोगाई राख्ने हेतुले न कसैले सोचे, न कसैले केही गरेका छन् भन्दा फरक पर्दैन ।
हो पत्रकारिता क्षेत्रमा पुरुष सरह नै महिलाहरूलाई पनि अवसर छ । नभएको होईन । तर, पेशा उही भए पनि टिकिराख्नका लागि महिला र पुरुषले घरभित्र र बाहिर गर्नुपर्ने संघर्षहरू भने फरक फरक छन् ।
नयाँ पुस्तामा चाँडो परिणाम खोजिहाल्ने प्रवृत्ति हाबी छ । पत्रकारितामा धैर्य गर्न नसक्नेहरूका लागि होइन । कुनै बेला महिलाले आफूमा आत्मविश्वास देख्दैनन् । म महिला हुँ, मैले लेखेको समाचार गुणस्तरीय हुँदैन भन्ने हीन भाव पालिरहन्छन् । यस्तो सोचले उनीहरूलाई पेशाप्रति इमान्दार र धैर्य गर्न उकास्दैन ।
पत्रकारको आत्मबल बढाउने काम मिडिया हाउसको पनि हो । मिडिया हाउसले पुरुष र महिला पत्रकारमा विभेद गर्नुहुदैन । त्यो संगै महिलाका लागि सुरक्षित र सहज वातावरण बनाउने जिम्मेवारी पनि मिडिया हाउसले सृजना गर्नुपर्छ । यस्तो अवस्थामा महिलाहरू पनि जस्तासुकै चुनौती पार गर्न सक्छन् ।
महिला एउटा पत्रकार मात्र होईन । उ कसैको छोरी, बुहारी, आमा, श्रीमती पनि हो र ठाउँअनुसार सबै जिम्मेवारी बहन गर्नु पर्छ र गर्छन् पनि । क्षमताको हिसाब किताब गर्ने हो भने, एउटा पुरुष पत्रकारलाई कलम मात्रै चलाउन आउँछ । तर, एउटा महिला पत्रकारलाई कलमसंगै डाडु पन्यूँसगै बच्चा समेत हुर्काउन आउछ । यी सबैको जोड घटाउ गर्दा महिला जहिले पुरुष भन्दा बढि नै प्लस प्वाइन्टमा उभिन्छिन् ।
मिडिया हाउसमा यी कुनै कुराको मूल्यांकन गरिदैन । अफिसमै पनि कामको जिम्मेवारी बाँडफाँड गर्दा पुरुषलाई सिधै सामाचारको खोजीमा स्वतन्त्रता दिईन्छ । जसले गर्दा उनीहरूको लेखाईमा छिटो निखार आउँछ । महिलालाई अफिस सजाउनेदेखि अन्य जिम्मेवारी पनि सम्हाल्नु पर्ने हुन्छ । जे होस् पुरुष भन्दा महिला अफिस भित्र पनि बढि नै काम गरिरहेको हुन्छ तर, ज्याला र स्वतन्त्रता भने पुरुष जति हुँदैन । कुनै बहानामा उसको पारिश्रमिक कम हुन्छ । यी यावत कारणले क्षमतावान महिला पत्रकारहरू मिडियाप्रति मोह हँुदाहुँदै पनि यो पेशाबाट पलायत हुन बाध्य हुन्छ ।
त्यसैले महिला पत्रकारलाई पेशामा टिकाई राख्न यस्ता नीति अबलम्बन गर्न जरुरी छ । जस्तै,
(१) मिडिया हाउसले महिलाको समान सहभागिताका लागि महिलामैत्री नीति र अभ्यास अवलम्बन गनुपर्ने ।
(२) पत्रकार महिलाहरूलाई पत्रकार पुरुष जत्तिकै कामका लागि समान अवसर दिनुपर्ने ।
(३) समाचार बनाउने र प्राप्त गर्ने सम्बन्धमा महिला र पुरुषको समान सहभागिता हुनुपर्ने ।
(४) महिलाको सुरक्षासँगै गाँसिएका विशेष आवश्यकतालाई सम्बोधन गर्ने गरी महिलामैत्री वातावरण निर्माण गर्नुपर्ने ।
(५) पत्रकारिता पेशालाई सुरक्षित बनाउन महिला पत्रकारको क्षमतालाई सम्मान गरि प्रोत्साहन गर्नुपर्ने ।
(६) पत्रकार महिलामाथिको यौनजन्य तथा अन्य दुव्र्यवहार कम गर्न गोप्य उजुरी गर्ने व्यवस्था हुनुपर्ने ।
(७) समान कामको सामान ज्यालाको नीति कार्यन्वयन हुनुपर्ने ।
(८) महिनावारी र सुत्केरीलगायतका विशेष अवस्थामा बिदा र अन्य सुविधा पाउनुपर्ने ।
(९) महिलाले मिडियामा पुरुष जत्तिकै आफनो दृष्टिकोण, विचार र अनुभव व्यक्त गर्ने अवसर पाउनुका साथै लैंगिक समानताका सवालहरूले पर्याप्त कभरेज पाउनुपर्ने । यी सर्त पुरा भए मात्रै पत्रकारिता पेशामा महिलाहरू पुरुषसंग प्रतिष्पर्धा गर्न कुनै समय लाग्दैन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu