दाङ := गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले यस वर्ष ८ कक्षाको परीक्षा दिइन् । उपाध्यक्ष निर्वाचित भएपछि न्यायिक समितिको संयोजक भएर विभिन्न मुद्दामा छलफल गर्ने र टुंगो लगाउने काममा अगुवाइ गर्नुपर्ने भयो । यसका लागि बिभिन्न नियम कानून पढ्नुपर्यो ।
पढाइ नभए नेता हुन गाह्रो महसुस भएपछि उनी स्वाध्यायन गरेर परीक्षा दिन कस्सिइन् । पढाइले मात्रै भएन, विभिन्न कार्यक्रममा गएर भाषण गर्नुपर्ने, मिलाएर बोल्नुपर्छ । सानैदेखि बानी नपरेकाले निर्धक्क बोल्न लाज, डर लाग्छ । आफू मात्रै होइन गाउँपालिकाका अधिकांश महिला जनप्रतिनिधिमा बोल्न नसक्ने समस्या देखेपछि उनले बोल्न सिक्ने तालिमका लागि पहल गरिन् ।
कार्यपालिका र वडाका सदस्य महिलालाई जम्मा गरेर ५ दिनसम्म बोल्ने सीप सिकिन् । तालिममा बसेर ध्यानपूर्वक बोल्ने कलाहरू सिकिन्, आवश्यक कुराहरू डायरीमा टिपिन्, प्रयोगात्मक अभ्यास गरिन् ।
सैद्धान्तिक र व्यवहारिक अभ्यास गरेर बोल्ने कला सिक्दा धेरै आत्मविश्वास बढेको चौधरीले बताइन् । ‘हामी राजनीतिक परिवारमा हुर्केकाले राजनीतिमा लाग्यौं तर बोल्ने र पढ्ने/लेख्ने अवसर मिलेन,’ उनले भनिन्, ‘अहिले जिम्मेवारी आएपछि पढ्न/लेख्न र बोल्न सिक्नैपर्ने भयो । सबै महिला जनप्रतिनिधिको अवस्था उस्तै देखेपछि हामी एक ठाउँमा बसेर सिक्न तयार भयौं ।’
वडा नं. ७ की सदस्य कमला नेपालीलाई बोल्न गाह्रो हुन्थ्यो । पहिले अभ्यास नभएकाले अहिले कठिन भयो । ‘विभिन्न कार्यक्रममा बोलाउँछन्, भाषण गर्नुपर्छ । विभिन्न छलफलमा बस्नुपर्छ,’ उनले भनिन्, ‘बोल्नै नसकिने । मिलाएर बोल्न झनै कठिन । नजानेको कुरा सिक्न केको लाज ? सिकेपछि अहिले बोल्न आँट आएको छ ।’ सानोमा पढ्ने र विभिन्न सामाजिक काममा सहभागी हुने अवसर नपाएका कारण अधिकांश महिला जनप्रतिनिधिलाई अहिले काम सिक्नै ठिक्क भएको छ ।
समावेशी व्यवस्था अनुसार महिला जनप्रतिनिधि अनिवार्य भएपछि कतिपय ठाउँमा लामो समय राजनीति नगरेका मानिसहरू पनि निर्वाचित भएका छन् । यसले गर्दा उनीहरूलाई सार्वजनिक कार्यक्रममा बोल्न कठिन भइरहेको छ । तालिममा बोल्दा कस्ता कुरामा ख्याल गर्ने, कार्यक्रम अनुसार विषयवस्तुमा कसरी केन्द्रित हुने, आफ्ना विचार कसरी स्पष्टरूपमा राख्ने, कार्यक्रम अनुसार कसरी उपयुक्त भनाइहरू राख्ने, आत्मविश्वास कसरी बढाउनेजस्ता कुरा सिकेपछि धेरै सहज भएको वडा नं. ६ की सदस्य रमा चौधरीले बताइन् । ‘यस्ता कुरामा हामीलाई अभ्यास थिएन, अहिले नगरी नहुने भएपछि सिक्नैपर्ने भयो,’ उनले भनिन्, ‘बोल्ने तरिकाहरू सिक्दा धेरै सजिलो भयो । अब बोल्ने आत्मबल बढेको छ ।’
तालिममा विभिन्न नमुना कार्यक्रमहरू बनाएर अभ्यास गर्दा कार्यक्रम प्रभावकारी बनाउने धेरै सीपहरू सिकेको वडानं. १ की सदस्य हेमा कुमालले बताइन् । ‘विभिन्न कार्यक्रमका नमुना बनाएर जिम्मेवारी बाँड्यौं । जिम्मेवारी अनुसार अगाडि गएर बोल्यौं,’ उनले भनिन्,‘साथीहरूबीच नै धेरैपटक यस्तो अभ्यास गरेपछि बोल्न सहज भयो । अब कार्यक्रममा निर्धक्क बोल्ल सकिने साहस आएको छ ।’वडानं. ७ की सदस्य जानकी चौधरी, ४ की सदस्यहरू तिर्पनी परियार, कौशिला चौधरी, ८ की सदस्य विमला सुनार, ६ की सदस्य कौशिला विक, ३ की सदस्य शोभा रावत, १ की सदस्य रेखा परियार लगाएतले तालिममा बसेर बोल्ने कला सिक्दा आफूमा धेरै परिवर्तन आएको बताए । जनप्रतिनिधि भएपछि जनताको बीचमा आफ्ना कुरा राख्ने कला आवश्यक पर्ने गढवा गाउँपालिका अध्यक्ष सहजराज यादवले बताए ।
अधिकांश महिला जनप्रतिनिधिले बोल्ने कला सिक्ने आवश्यकता महसुस गरेपछि तालिमको आयोजना गर्न तयार भएको उनले बताए । ‘धेरै जनप्रतिनिधिले बोल्न कठिन भएको समस्या राख्नुभयो । एकपटक तालिम नै राखेर सिकौं भन्ने माग भएपछि मैले पनि यसमा सहमति जनाएँ,’ उनले भने, ‘तालिमपछि उहाँहरूमा धेरै परिवर्तन आएको छ । बोल्न लाज मान्ने, पछि हट्ने र विषयवस्तुमा बोल्न सकिँदैन कि भन्ने हीनताबोध थियो । त्यो हटेको छ ।’(source:-kantipur)