म थारु नेपाली

Thursday, 28 July 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

म थारु नेपाली

म शान्त थिए
तालमा जमेको पानी झै
जे भोगे आफ्नो भाग्य ठान्थे
जे जे पर्छ सहन्थे
अरुले जे भन्छ,गर्थे, अनि बन्थे
अरुको लागि मतवाली बने
जंगली बने
कमैया बने, कमलरी बने
सहि रहे सवै
कर्म र भाग्यलाई दोष ठानीरहे
र मानव बन्ने अर्को जुनीको कल्पनामा डुविरहे
त्यसैको आशमा यो जुनीमा सवै सहिरहे

शान्त तलाउमा कसैले ढुङ्गा फाल्यो
तरङ्गले मलाई पनि छोयो
कहिले जनवादको तरङ्ग
त कहिले मुक्तकमैया
त कहिले समान अधिकार
त कहिले सशक्तिकरण तथा पहुँच
कहिले रेडियोको सुचना बनेर
कहिले चौतारीको छलफल बनेर
त कहिले पैसा पाउने कार्यक्रम बनेर
मेरो सामु आउने अनेक तरङ्ग
जस्ले मेरो भावनालाई छोयो
मलाई म हुनुको आभास गरायो
अझ मलाई मानव हुनुको आभास गरायो
र अर्को जुनि कुर्नु नपर्ने विश्वास दिलायो

हो अब भए म मानव
अरु जस्तै सचेत मानव
अरु जस्तै समानाअधिकार भएको मानव
जमिन हरण गरेर दास बनाई सके पछि मुक्तामानव
नेपालको विभिदता मध्ये एक फरक अस्तित्वाबोकेको मानव
फरक भाषा संस्कार संस्कृति बोकेको मानव
मानव सभ्यताको विकास सगै बस्दै आएको मानव
प्रचण्ड गर्मि, बाढि खोला र औलो संग लड्दै आएको मानव
हो म एक फरक पहिचान भएको आदिवासी थारु मानव

हो मलाई उठ्नु थियो
जंगलि, कमैया, मतवाली, थारुबाट नेपाली बन्नु थियो
अरु संगै हिड्नु थियो
भुईमा होईन अरु संगै कुर्सीमा बसेर चिया खानु थियो
र मेरो बारेमा निर्णय म आफै गर्छु भन्नु थियो
मेरो भाषा, संस्कृतिको पहिचान दिलाउनु थियो
मेरो बिर्सिएको ईतिहास सम्झाउनु थियो
तिम्रो जस्तै हरेक पाठ्यक्रममा मेरो बारेमा लेखाउनु थियो
तिम्रो जस्तै मेरो भाषामा पढाउनु थियो
मेरो बडघरलाई चिनाउनु थियो
यस्तै यस्तै कुरालाई चिनाउनु थियो
अनि शान्त तलाउको पानी मात्र होईन
अरु जस्तै बग्ने नदि बन्न सक्छु भन्नु थियो

अघि बढ्दै थिए म
एका एक ढोकाहरु बन्द गर्न थाल्यो
तलाउको निकास थुनेर अग्लो पर्खाल लगाउन थाल्यो
आफ्नो राजनिती टिकाई राख्न अखण्ड नेपालीको नारा लगाउन थाल्यो
मेरो भावानालाई उपेक्षा गर्न थाल्यो
अनि तिमी जस्तै मानव हुने चाहाना छेक्न थाल्यो
हडपेको जमिन खोसिने डरले काप्न थाल्यो
र जात नेपाल हामी नेपाली भन्न थाल्यो

हो म आतङ्ककारी हो
हो म विखन्डनकारी हो
जे जे दोश लगाउनु छ लगाउ म सव कारी हो
तिमी मात्र सभ्य मानव
नेपाललाई आफ्नो बनाई राख्ने सभ्य मानव
अरुको अस्तित्व स्विकार गर्न नसक्ने सभ्य मानव
अरुलाई घृणा गर्ने र आफु राम्रो बनाउने सभ्य मानव
आफ्नो चाहाना पुरा गर्न अरुलाई दास बनाउने सभ्य मानव

छेक रोक
ठुला ठुलाबाँध र पर्खाल लगाउ
घर घरमा सुरक्षाकर्मि लगाउ
मेरै पसिनाको तलव खाने सेनाको डर देखाउ
तर के यो समाधान हो ?
भोली बाँध भत्के दोषी को हुने हो ?
जमेको पानीले खहरे नदि बनेर पाहाड बगाए दोषी को हुने हो ?
अनि मृगौलियाको जस्तै घटना दोहोरिए दोषी को हुने हो ?

त्यसैले मलाई चिन्ने प्रयास गर ए सभ्य मानिस
मलाई बुझ्ने कोसिस गर ए सभ्य मानिस
मलाई मानव हुनमा साथ दिने कोसिस गर ए सभ्य मानिस
अहमता होईन आफ्नो हृदयलाई सोध ए सभ्य मानिस
मैले कतै फरक नेपाल खोजेको छैन
मैले कतै तिम्रो अधिकार मागेको छैन
मात्र तिमी जस्तै नेपाली भनि चिनाउनु छ
सयौ थुङ्गाको एक थुङ्गा भनि चिनाउनु छ
आफ्नो पहिचान सहितको थारु नेपाली भनि चिनाउनु छ
सोझा इमान्दार थारु नेपाली भनि चिनाउनु छ ।

मनोज आठपहरिया (Via: HamarPahura)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu