थारुहरुले फरक तरिकाले मनाउने गर्दछन दशैँ !

Saturday, 8 October 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


दशैं थारु समुदायले फरक तरिकाले मनाउने गर्छन् । नवमीको दिनमा कुभिन्डोलाई भेडा बनाएर काट्ने गरेको देखेको छु । घिरौलाको पनि चारवटा खुट्टा बनाएर उभ्याउने अनि काट्ने गरेको देखेको छु । रक्सी र पानी चढाउने गरेको देखेको छु । तर टीका लगाउँदैनन् । पहिला पहिला गुरौ खलकहरुले मात्र टिका लगाउने गर्थे रे । त्यसो त गुरौहरु जम्मा भई दशैंलाई फुलपातीदेखि नै मनाउने गरेको सानैमा देखेको थिएँ ।
गुरौका चेलाहरु फुलपातीका दिन “फुला लोर्हे” भनेर हरेकका करेसाबारीमा जान्थे । करेसाबारीमा भएका फलफूल, तरकारी, खुर्सानी जे भेटियो, केहि टिपेर ल्याउँथे । थारु समुदायमा त्यसैलाई “फुलपाती” भनेर भनिन्थ्यो । त्यो पवित्र चीजहरु गुरौहरुले चढाउथे र बढी भएको चीजहरु गुरु चेलाहरुले बराबर बाँडेर घर लैजान्थे । अष्टमीको दिनलाई “एकारात” भन्थे । त्यसदिन बेलुकापख सबै गुरौहरु गाउँको एकै ठाउँमा भेला भई पुजा अराधना गर्थे । तर त्यो पुजा अराधना बिल्कुलै अर्कै तरिकाको हुन्थ्यो । गुरौहरु मध्ये केहिले मन्त्र उच्चारण गर्थे । चेलाहरु मध्ये एकजनाले छुट्टै किसिमको तालमा ढोलक बजाउँथे । त्यो ताललाई “तिनिन तिनिनका दुदुगोणा देउता” भन्थे । केहि गुरौ चेलाहरुले आफ्नो शरीरमा देउता चढाउँथे । जसको शरीरमा देउता चढ्थ्यो । त्यो गुरौ निकै काम्थ्यो । त्यसलाई देखेर सर्वसाधारणहरुले “देउता उठल” भन्थे । देउता उठेका गुरौहरु बेंतको लट्ठी लिएर गाउँको कुना काप्चामा पुग्थे र भूत समाएर ल्याउँथे । त्यो भूत कसैले पनि देख्न सक्दैनथे तर समाउनेले निकै बल लगाएर मुठ्ठी कस्सेर ल्याउँथे । समाएर ल्याएको भूतलाई मुख्य गुरौले निस्चित ठाउँमा बन्दी बनाएर राख्थे रे । त्यसरी नै उनीहरु रातभरि त्यो काम गर्ने गर्थे ।
म सानै थिएँ । गुरौहरुको त्यस किसिमको एकारात म धेरै बेर हेर्न पाइनँ । मलाई आमाले हेर्न दिनु भएन । अर्को दिन नवमीको दिन । थारु समुदायको मुख्य दशैं सोहि दिन हुन्थे । त्यसदिनलाई थारु समुदायले अहिले पनि “भोग” भन्ने गर्दछन् । त्यसदिन हरेक घरमा कुभिन्डो, घिरौलाको बलि दिने गरेको मैले देख्दै आएको छु । एक जोर परेवा र भाले पनि बलि दिने गरेको मैले देखेको छु । रक्सी र पानी चढाउँछन् । टीकाको दिन भने गुरौहरुले चेलाहरुलाई टिका लगाइदिन्थे । तर अचेल थारु समुदायमा गुरौ पनि लोप हुँदै गएको छ । कुनै कुनै गाउँमा एउटा पनि गुरौ छैन । त्यसैले फुलपाती, एकारात र टीका पनि लोप भयो । तर भोग भने नवमीको दिनमा अहिले पनि कुभिन्डो, घिरौला, परेवा, भाले काट्ने गरेका छन् । अचेल देखासिकी गर्नेहरुले अन्य समुदायकै सिको गरेर टिका पनि लगाउने गरेका छन् । तर हाम्रो घरमा नवमीको दिनमा मात्र दशैं पुरानै तरिकाले मनाउने गरेका छौं । मलाई फरक तरिकाले मनाएको दशैं मन पर्छ । सबै समुदायले एकै किसिमले मनाउनु पर्छ भन्ने पक्षमा म छैन । साँस्कृतिक विविधता कायम रहनु पर्छ । “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” जस्तै हाम्रो समाज रहिरहनु पर्छ ।
अन्तमा बडादशैंको उपलक्ष्यमा सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । विगतका नराम्रा कुराहरुलाई बिर्सिदिनुहोला, राम्रा कुराहरुलाई निरन्तरता दिनु होला । सदभाव र सहिष्णुता कायम राख्नुहोला, सबैलाई मेरो शुभकामना...

कारी महतो थारु
सन्हाति थारु पत्रिका चितवन


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu