धनगढी := थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले आज पनि तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन हिजो र आज कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले बन्दको आशिंका प्रभाव देखिएको छ। छोटो दुरीका सवारी साधन केही सङख्यामा सञ्चालन भईरहेका छन् भने लामो दुरीका सवारी साधन भने अहिले चल्न सकेका छैनन्।
यस्तै धनगढी सहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा खुलेका छन्। मोर्चाका कैलाली प्रवक्ता चुन्नुराम चौधरीले अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको दिनेश खवरलाई बताए। उनले भने, ‘आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द गरेका छौँ। आमहड्ताल अवज्ञागरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयमले लिनुपर्नेछ।’
आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।
आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्।( साभार : दिनेश खबरबाट )