माघीको सब्बै सबैमा शुभकामना ।
थारू जातिको माघी र संस्कृति
–छविलाल कोपिला
नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँका विभिन्न जातजातिहरूको आफ्नै मौलिक परम्परा, भाषा, कला र संस्कृति रहेका छन् । आफ्नै किसिमका लवाई–खवाई, चाल–चलन र चाडपर्वहरु पनि रहेका छन् । यसरी विभिन्न जातजाति, कला र संस्कृतिले हामीलाई नेपाली बनाएको छ । एकार्काको कला, संस्कृतिलाई स्वीकार्नु र संगसंगै रमाउनु हामी नेपालीको अर्को बिशेषता होे । सायद यसैले नै हामीमा सद्भाव कायम गरेको छ र हामी सबै समुदाय एकापासमा मिलेर बसेका छौं ।
यहाँ थारू जातिको महान चाड माघीको विषयमा चर्चा गर्न खोजिएको छ । खास गरेर थारू समुदायमा माघीलाई नयाँवर्षको रुपमा मनाइने गरिन्छ । यसलाई ठाउँ अनुसार माघ, माघे संक्रान्ति र खिचडा पनि भनिने गरिन्छ । केही वर्ष पहिले अथवा कमैयाँ, कम्लहरीहरु मुक्त हुनुभन्दा पहिले हलिया, मुक्त कमैयाहरु बिशेष छुट्टी पाएका हुन्थे भने रैती या अन्य व्यक्तिहरु केही समयको लागि अहिले पनि छुट्टी पाएका हुन्छन् । यसरी कामबाट मुक्त भएर अथवा स्वतन्त्र रुपमा मनाइने भएकोले यसलाई मुक्ति दिवसको रुपमा पनि लिने गरिन्छ । माघी थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीति–थिति, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ । गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घरसल्लाह लगायतका छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि लिने गरिन्छ ।
थारू समुदायमा धुमधामसंग मनाइने माघीको तयारी केही दिन पहिलेदेखि नै शुरु हुन्छ । पात टिप्ने, दाउरा ल्याउने, जाँड–रक्सी पार्ने, माछा मार्ने ठाउँको छनौट लगायतका कार्य गरिने गरिन्छ । माछा मार्नका लागि माघी अगावै कुलो, खोलानालामा चिनो राखिन्छ । यसलाई थारू भाषामा झुक्का डर्ना अथवा भ्युँरा–डर्ना भनिन्छ । झुक्का (चिनो) राखिएपछि त्यस ठाउँमा कसैले माछा मार्न पाउँदैन । पुस पहिनाको अन्तिम दिन जसलाई ‘सुवर मर्ना’ दिन भनिन्छ । यस दिन बिहानैदेखि झुक्का हालेर रख्वारी गरेका माछा मार्ने र सुंगुर मार्ने गरिन्छ । साँझ परेपछि आफ्नो इष्टमित्र, साथी भाइ कहाँ गएर जाँड, सुंगुरको मासु खाँदै पर्व गीत ‘ढमार’ गाउँदै माघी पर्वको प्रारम्भ गर्छन् । ढमार माघीमा मात्रै गाइने आवधिक गीत होे । थारू समुदायमा सुंगुरको मासु बिशेष रुपमा लिने गरिन्छ । यसकारण पनि यस दिनलाई ‘सुवर–मर्ना’ दिन भनिएको हो । रैतीहरु आफ्ना जमिन्दार कहाँ दाउरा, पात दिन जान्छन् । उनीहरुलाई जमिन्दारहरुले पनि ठूलै सम्मानका साथ खुवाउने पिलाउने गर्छन् । र, खानपिनसंगै उनीहरुले ‘ढमार’ गाएर मनोरञ्जन गर्छन् । त्यस दिन राती ककन्दारको घरमा गाउँभरिका मान्छेहरु जम्मा भई मादल, डफको तालमा ढमार गाउँछन् । अँगनामा ठूल–ठूला मूढा बालेर धुनी जलाइन्छ । त्यही धुनी टप्दै अनि जाँड खाँदै रातभरी जाग्राम बसेर ढमार (ढुमरु) गाउने चलन छ । ढमार गीतको केही अंश यस्तो छ ः
–जागो–जागो, जागो रे मोरे डाडु
अब हमार सुत्ना बेला नाइ हो ऽऽ
–पहिलो तो बनुवाँ फँरलै मलिकवन
बनी गैलैं बरे जिम्दार हो ऽऽ
अब तो बनुवा फँरटै हो तस्कर
कैसिक बचाई बर्का बनुवा हो ?ऽऽ
ढमार गीतका विभिन्न सन्दर्भहरु रहेका छन् । पहिलेका पुराना ढमारमा प्रकृतिप्रेम, स्तुतिगान, प्रेमालाप र मनोरञ्जनको प्रभाव बढी भेटिन्थ्यो भने अहिलेको आधुनिक ढमारमा भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, दमनप्रतिको वितृष्णा र मुक्ति, अधिकार, राष्ट्रियता, प्रकृति एवं शान्तिप्रतिको आशाका भाव झल्किन्छन् । जुन गीतभित्रका गम्भीर अभिव्यक्तिले सकारात्मक चिन्तन, एकापसमा सदभाव र समयबोध गराउँछ । ढमार गीतसंगै माघीमा मघौटा नाच बिशेष मानिन्छ । देउखुरीक्षेत्रमा भने माघी बिशेष भनेर कुनैै छुट्टै प्रकारको नाच हुँदैन अथवा माघी पर्वमा मघौटा नाच नाचिदैन । योे क्षेत्रबिशेषको चलन अन्तर्गत पर्छ । गाउँको सबै रस्तीवस्ती मिलिसकेपछि गाउँका खास जिम्मेवारी पाएकाहरुले ‘संग मिलाई’ चुक्की या माघी आउनुभन्दा पहिले ‘संग छुटाई’ चुक्की खाने चलन छ । यही चुक्कीमा झुम्रा नाच नाचेर रमाउछन् । जुन नाच अरु मनोरञ्जनको अवसरमा पनि नाचिन्छ । तर दाङ लगायत पश्चिमी थारू जिल्लामा ‘मघौटा नाच’ प्रचलित छ । माघ आउनुभन्दा पहिलेदेखि थारू युवायुवतीहरु मघौटा गीत गाउँदै नाचेर रमाउने गर्छन् । नाचमा मादल, झाल, कस्टार बजाउँदै छाता ओढेर नाच्ने गर्छन् । मघौटा गीतको केही अंश ः
‘सखी ए हो ! माघक पिली गुरी गुरी जाँर सखिय हो
कहाँ मैं लगैबु आम इमिलिया रे हाँ,
कहाँ लगैबुँ
सखी ए हो ! कौन पानी छिटुँ धनी डाँर सखी ए हो !
यता महिलाहरु बिहान ढिक्री÷रोटी बनाउन उठ्छन् भने गाउँका मानिसहरु ढमार गाउँदै, मादल, डफ बजाउँदै नदी, कुलो, खोलानाला, घाट, जलसागरमा नुहाउन जान्छन् । थारू समुदाय प्रकृतिपुजक भएकोले यस पर्वमा उनीहरु ‘कुवँरवर्ती’ (जलदेवी) संग आफ्ना दुःख, सुख सुनाउने र मागहरु माग्ने गर्छन् । उनीहरु पानीमा डुबेर आफ्ना मागहरु राख्छन् । यसरी मागे माग पुरा हुने जनविश्वास छ । त्यत्तिमात्रै होेइन आजको दिन नयाँ कपडा फेर्ने दिनको रुप पनि लिइन्छ । वर्षभरि पुराना लुगा लगाए पनि आजको दिन लुगा फेर्न सके राम्रो हुने पुरानापुस्ताका जानकारहरु बताउँछन् ।
माघीमा नुहाउने चलन स्वस्थ्यको दृष्टिकोणले पनि बैज्ञानिक देखिन्छ । जाडोका कारण कतिपय मानिसहरु महिनौं ननुहाएका कारण छालारोग, लुतो, घाउ, खटिरा लगायत कपालमा जुम्रा पर्ने सम्भावना पनि बढी हुन्छ । तर, माघी पर्वमा सबैले अनिवार्य नुहाउनै पर्ने चलन भएकोले शरिर सफा हुन्छ । घाउ खटिरा लगायत रोग लाग्न पाउँदैन र जलदेवीसंग मागेको मनोइच्छा पनि पुरा भएको अनुभूति हुन्छ । यस अवसरमा कोही लामो समयदेखि विरामीमा परेको छ या कुनैै समस्या छ भने मनोकामना गर्दै जलदेवीलाई भाकल गर्ने गर्छन् । स्वेच्छाले भाले, परेवा या पुज्ने बाचा गर्छन् । यदि आफ्नो माग पुरा भए ३ या ५ वर्षमा आफूले बाचा गरेका भाले, परेवा पुज्ने गर्छन् र यसरी पुज्ने कामलाई ‘मनौटा पुज्ना’ भनिन्छ । नुहाउन जाँदा साथमा पिठो या चामलको टीका र तीलको छन्टी लिएर जान्छन् । थारू समुदायमा सेतो टीका लगाउने चलन छ । सेतो टीका शान्तिको प्रतीकको रुपमा लिइन्छ । यसलाई चोखो अथवा पवित्र वस्तुको रुपमा पनि लिइन्छ । सेतो टीका पारदर्षिताको प्रतीक पनि हो । सेतो वस्तुमा कुनैै पनि दाग लाग्यो भने प्रष्टै देखिन्छ । त्यसैले माघी नुहाएर कुनैै किसिमको गलत क्रियाकलाप नगर्ने प्रतिबद्धताका साथ सपथ खाने गरिन्छ । त्यसैगरि आजको दिन तीलको आँगो ताप्ने चलन छ । तीलको आगो पवित्र मानिन्छ । यसको आगो तापेमा मन पनि पवित्र हुन्छ भन्ने मान्यता छ थारू समुदायमा ।
यसरी नुहाएर घरमा आई ‘निस्राउ’ निकाल्ने चलन छ । निस्राउ भनेको चामल, मासको दाल र नुनको पाहुर होे । जुन आफ्ना चेलीबेटीहरुलाई पाहुरको रुपमा दिने जाने चलन छ । निस्राउ आफ्नो औकात हेरेर केही थप गरेर पनि दिने गरिन्छ । निस्राउ निकालेर जन्म दिने आमा–बुबालाई ढोग गरेर आर्शिवाद लिने गरिन्छ । आमा–बुबा नभएकाहरुले आफ्ना घरमूली वा नजिकको नाता पर्ने ठूला बडाहरुसंग आर्शिबाद लिने गरिन्छ । नाता अनुसार ढोग आशिर्वाद लिदै खानपिन पनि शुरु हुन्छ् । आज दिनभरि गाउँमा यसैगरि सेवा–ढोग गर्दै माघी स्वतन्त्र भएर मान्ने चलन छ । यसले समुदायमा एकता, प्रगाढ सम्बन्ध, आपसी सहयोग सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । समाजमा बसेपछि कहिलेकाहीं कसैसँग ठाकठूक पर्नु स्वाभाविकै हो । यसरी एकापसमा सेवासलाम लागेर अंकमाल गर्दा मेलमिलाप तथा सम्बन्ध प्रगाढ हुन्छ । त्यसैले माघीलाई मेलमिलाप अथवा सद्भाव पर्वको रुपमा पनि लिइन्छ । मानिसहरु स्वतन्त्र रुपमा माघी मनाए झैं पहिले–पहिले घरमा पालिएका पशुहरु सुंगुर, भेंडा–बाख्रा, गाई–गोरु, राँगा–भैंसी पनि छाडा छाडिन्थे । कसैको बाली नोक्सानी गरेपनि त्यस दिन आममाफी हुन्थ्यो । तर, योे चलन अहिले छैन । योे समयको माग पनि हो । हिजोको अवस्थामा जे जस्तो भएपनि आज यसरी छाडा छोड्दा नोक्सान बढी हुने भएकोले रोक लगाइएको होे ।
माघीमा सुंगुरको मासु, मुलासहितको सुंगुरको मासु, मेंवाको अचार, मसिनो आलुको चट्नी, अन्डीको जाँड र लामो ढिक्री खास परिकार मनाइन्छ । ढिक्री थारू समुदायमा हरेक पर्वमा फरक फरक प्रकारका हुन्छन् । माघीमा लामो ढिक्री हुन्छ । माघी पछि समय लामो हुने भएकोले लामो ढिक्री बनाएको तर्क छ थारू समुदायमा । अर्को तर्क अनुसार माघीमा लामो ढिक्री खाएपछि आयू लामो हुने जनधारणा पनि छ । योे खोजको विषय होे यद्यपि ढिक्रीमा थारू समुदायको मौलिकता झल्किन्छ । आजको दिन साना–साना बालबालिकाहरु पनि निकै रमाउँछन् । उमेर पुगेकाहरु घर–घरमा गएर जाँड, सुंगुरको मासु खाँदै धमार गएर मनाए जस्तै उनीहरु घर–घरमा गई ढिक्री मागेर रमाउने गर्छन् । उनीहरु समुह–समुह बनाएर घरमा पुग्छन् र कराउँछन् ‘माघ माने अइली, डसिया–डेवारी ।’ यता घरका मुली महिलाले ती बालबालिकाहरुलाई ढिक्री दिएर विदाई गर्छिन् । उनीहरु खुशी भएर उफ्रिदै अर्को घर लाग्छन् । योे क्रम पनि दिनभरि चल्छ । तर, योे चलन अहिले हराउँदै गएको छ । गाउँमा ढमार गाउने चलन पनि घट्दो छ ।
दोस्रो दिन ‘खिच्रहवा’ । खिचडी पकाएर खाने दिन भएकोले ‘खिच्रहवा’ भनिएको हो । खिचडी मासको दाल, चामल, नुन, बेसार, घ्यू या तेलमा पकाइन्छ । खिचडी जस्तै जमिन्दार, रैती, किसान, कमैयाँ, ओर्गिनियाँ, छेग्रहवा, बर्डिवा, भैंसरवा सबै एकै ठाउँ बसेर छलफलमा सहभागी हुने र समान व्यवहार गरिने भएकोले पनि ‘खिच्रहवा’ भनिएको हुनुपर्छ । आज कसैले कसैप्रति पदीय विभेद् गर्न पाउँदैन । सबै स्वतन्त्र रुपमा बोल्न पाउने भएकोले दिल खोलेर छलफलमा सहभागी हुन्छन् । घरभित्रको आन्तरिक छलफल पनि जमेर हुन्छ । को, कुन कामको जिम्मा लिने, उमेर पुगेकाहरुको विवाह गर्ने नगर्ने, ‘छारा’ (बसाई सर्ने) जाने नजाने, घर छुट्टिने नछुट्टिने, अधिया–बटैया लिने–दिने, बर्षभरिको काम गर्दा मनमुटाव भए त्यसैबेला छलफल गरी सहमतिमा ल्याउने, कसैसंगको लेनदेन, हिसाब–किताब लगायतका घरायसी कुराहरुको गम्भीर छलफल गरी पुनः एक वर्षको लागि जिम्मेवारी लिने–दिने काम हुन्छ । अधिया–बटैया गरी खेती किसानी गर्ने रैतीहरु आफ्नो जमिन्दार कहाँ ‘करै’ (रक्सी राख्ने करुवा जस्तै माटोको भाडा)मा रक्सी लिएर माघी दिवानी गर्न जान्छन् । वर्षभरिको कामको समीक्षा गर्ने र पुनः जिम्मेवारी लिन–दिन गरिने छलफललाई माघी दिवानी भनिन्छ । आजकल करैको रक्सी बोक्ने चलन नभएपनि दुबै पक्षको सल्लाहमा खानपिनको व्यवस्था हुन्छ या जमिन्दारकै घरमा छलफल हुने भएकोले उसैले खानपिनको जिम्मा लिएको हुन्छ । छलफल खानपिन पुर्व नै शुरु हुन्छ । अधिया–बटैयाको कुरामा सहमति भए दुबैले एकार्कालाई सेवा–ढोग गरी खुशीयालीमा खानपिनसंगै रमाउँछन् । र, पुनः अधिल्लो दिनको बाँकी रहेको ढमार शुरु हुन्छ । यसरी गरिने कामको सम्झौता थारू समुदायमा अलिखित हुन्छ । जुन सम्झौता एक बर्षको लागि मात्रै रहन्छ, अर्को माघीपछि स्वतः खारेज हुन्छ ।
तेस्रो दिन ‘भुराखेल’ (ख्याला) । भुराखेल भनेको गाउँभरिका किसान, जमिन्दार, रैतीहरुको बृहत भेला हो । भेलामा एक घरबाट एकजनाको अनिवार्य उपस्थिति हुनुपर्छ र भेला गाउँको अगुवाको घरमा हुन्छ । आज आगामी वर्षको लागि गाउँका अगुवा पनि चुनिने भएकोले बिशेष महत्व मानिन्छ । अगुवालाई ठाउँ बिशेष अनुसार बरघर, ककन्दार, भल्मन्सा, महटाँवा भनिन्छ । अगुवा चुनिएपछि कुलापानी हेर्ने अघरिया, पन्हेर्वा, गाउँको मर्वा (भूँइह्यारथान)क
ो हेरचाहका लागि चिरकिया, गाउँको रक्षक एवं हुलाकीको रुपमा काम गर्ने चौकिदार पनि चयन गरिन्छ । बैठकमा गतवर्षमा भए गरिएका बाटो–घाटो, कुलानाला, सडक, धार्मिक पूजापाठ लगायत विकासको काम सम्बन्धी समीक्षा हुन्छ । नयाँ नीति–नियम, नियम उलंग्घन गर्नेलाई दण्ड जरिवाना तोकिन्छ । यसरी लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने, नीति–निर्माण गरिने भएकोले गाउँलाई पनि अनुशासित बनाउँछ । यसको महत्वलाई मध्यनजर गर्दै बिगत केही बर्षयता गाविस तथा जिल्लास्तरमा बरघर समिति पनि गठन हुन थालेका छन् । यस कार्यले अबको दिनमा परम्पराभन्दा पनि अझ लोकतान्त्रिक तथा समृद्ध संस्कृतिको विकास हुनेछ भन्ने आशा गर्न सकिन्छ ।
