यस्तो रहेछ चितवानमा बिक्रम बाबा मेला को रहस्य

Wednesday, 29 March 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुसन सर्जन रामदाम

विक्रमबाबाको महामेला मंगलबारबाट सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कसरा सेक्टर भित्र ठूला–ठूला सालको घना रुखले घेरिएको ठाउँ । बीचमा अग्लो माटोको थुम्को अनि त्यसको मध्य भागमा एउटा रुख । वरीपरी काठे खम्बामा घण्टीहरु झुण्डाइएको छ । त्रिशुलहरु गाडिएका छन् । सोही परिसरमा केही विभिन्न आकृतिका माटाका खपेटाहरु, ध्वजा पतका यस्तै छ विक्रम वाबाको बाहिरी रुप र आवरण । तर पनि विक्रम बाबाप्रतिको आस्था र महत्व भने दिन दुई गुना रात चौगुनाको दरले बढिरहेको छ ।

को हुन् विक्रम बाबा

जानकारहरुका अनुसार विक्रमबाबा एक थारु समुदायका ‘गुरौ’ हुन् । थारु जातिमा झारभुक, जडिबुटीको काम गर्ने बैध जस्तै व्यक्तिलाई ‘गुरौ’ भनिन्छ । जो थारु समाजमा अतिनै सम्मानित पात्रको रुपमा रहेको हुन्छ । विक्रमबाबा चितवन माडी गर्दी जन्मीएको बताईन्छ । विक्रमबाबा यतिनै बेला जन्मीएका हुन् भनेर कुनै इतिहाँसमा संग्रह नभएपनि सयौ वर्ष अगाडि देखिनै विक्रमबाबालाई मान्दै आएको पाइन्छ । विक्रमबाबा यस्ता अद्भुत क्षमताका व्यक्ति थिए जो त्यतिबेला जल, जमिन र जंगललाई आफ्नो जीवनको आधार बनाएर बसेका थारु समुदायको कल्याण गर्दै आएका थिए । बिरामी परेकाहरुलाई तन्त्रमन्त्र विधीबाट निको पार्ने, घना जंगलमा एक्लै डुलेर जडीबुटी ल्याएर जनताको सेवा गर्ने गर्दर्थे, जहाँसम्म कि उनले छोरा छोरी नभएका बाझोपन भएका महिलाहरुलाई जडिबुटी र आफ्नो शक्तिको प्रवाहले परिवारलाई सन्तान सुःख दिलाई दिन्थे भन्ने किंवदन्ती रहेको छ ।

विक्रमबाबा मेलामा हालसालै नियुक्त भएका जगतपुर शितलपानीका ‘गुरौ’ बाबुराम चौधरीका अनुसार जंगलमा जडिबटी खोज्ने यात्रा र साधानाकै क्रममा विक्रमबाबाको थान रहेको ठाउँमानै उनले देह त्यागेको बताइन्छ । दैवी शक्ति भएका कारणले उक्त देह त्याग गरेको स्थानमा बेला बखतमा विभिन्न भाडाकुँडा, माटाका आकृतियुक्त खपेटाहरु त्यहाँ चमत्कारिकरुपमा उत्पन्न हुने गरेको बताइन्छ । ती खपेटाहरु अझै पनि त्यहाँ रहेका छन् भने केही संरक्षणको अभावमा हराएर गएका छन् । विक्रमबाबा पछिका केही गुरौमा सपनामा विक्रमबाबा आएर मलाई त्यहाँ आएर सम्झ जसले सबैको भलो हुन्छ भनेपछि सुरुवातीमा थारु समुदायका मानिसहरु गएर त्यहाँ पूजा–आजा गर्ने गरेका हुन् । गुरौ विक्रम चौधरीले बताए अनुसार सुरुवात थारु समुदायका मानिसहरु दुई तीन देखिनै नुहाई धुवाई र चोखो बसेर विक्रमबाबाको थानमा थाने गर्दथे । नरिवल, सालको लिंगो, सुपारी, परेवा चढाएर विक्रमबाबालाई आफ्नो दुःख सुख साट्ने काम गर्दथे ।

थारु गुरौहरु पनि विक्रमबाबाको शरण नतमस्तक भएर आफ्ना समुदायमा परेका दुःख कष्टका बारेमा विलौना गर्दथे । उनीहरु प्राथाना पछि विक्रमबाबाले सन्तान सुःख देखिका सबै कुरा पुरा गरिदिने गुरौ चौधरी विगतलाई स्मरण गर्नुहुन्छ । विक्रमबाबामा कुखुरा चढ्दैन तर केहीले चढाएको पाइयो चौधरी दुखेसो पोख्नुहुन्छ । विक्रमबाबालाई विशुद्ध प्राकृतिक ढंगबाट पुजा गुर्नपर्ने चौधरीको भनाई छ । विक्रमबाबा थान मात्र छ मन्दीर बनाउन नहुने पुराना थारु गुरौहरुले पनि उल्लेख गर्दै आएका छन् । विक्रमबाबा प्रकृतिका पुजारी भएकाले पनि कुनै बन्द मन्दिर भित्र बस्न नसक्ने जनविश्वास रहि आएको छ । यसकारण त्यहाँ मन्दिर बनाउन खोजिए पनि त्यो सफल नभएको किंवदन्ती रहेको छ ।

किन बढ्यो आस्था र महत्व ?

विक्रमबाबाको आस्था र मेला दिनानुदिन बढ्दै गएको छ । चैत महिनामा लाग्ने यस मेलामा लाखौ भक्तजनहरु आउने गर्दछन् । चैत १५ गतेदेखि मेला लागिरहेको छ । विक्रमबाबाको दर्शन चितवनवासीको लागि त वर्षेनी प्रचलन जस्तै बनेको छ । मेलामा नेपालका प्रमुख शहरहरुका साथै भारतबाट पनि मानिसहरु आउने गर्दछन् । खासगरी बाझोपन रहेका व्यक्तिहरुले भाकल गर्दा त्यो पुरा हुने गरेको धेरैको तथ्य आएको छ । सन्तान सुःखको लागि विक्रमबाबालाई विशेष स्मरण गरीन्छ । वर्षौ देखि बच्चा बच्ची नभएकाहरुको पनि विक्रमबाबामा आएर पूजा–आजा गरेर स्मरण गरेपछि सन्तान प्राप्ती भएको कयौन उदाहरण रहेको गुरौ बाबुराम चौधरीले बताए । यसका अलवा घर परिवारमा सुःख शान्ति, ग्रहदशा निवारणको लागि पनि विक्रमबाबालाई स्मरण गरिन्छ ।

धर्मसँगै पर्यटकीय आर्कषण

सामान्य जंगलभित्र रहेको यो आवरणले पछिल्लो समय उल्लेख्य भक्तजनहरुको ध्यान खिच्न सफल भएको छ । विक्रमबाबाको थान चितवन राष्ट्रिय निकुञ्ज कसरा भित्र रहेको छ । जुन भरतपुर सदरमुकाम देखि करिव १८–२० किलोमिटर दक्षिण पर्दछ । विक्रमबाबाको लागि भरतपुर महानगरपालिकाको पटिहानीको बाटो हुँदै पनि आउन सकिन्छ भने अर्को सजिलो गन्तव्यको रुपमा मंगलपुर, पार्वतीपुर, सातनम्बर बजार हुँदै पनि पुग्न सकिन्छ । जगतपुरस्थित कसरा चोकबाट नै विक्रमबाबा मेलाको रौनक र माहोल हेर्दै विक्रम बाबा पुग्ने गरीन्छ ।
विक्रमबाबाको थानमा पुग्नको राप्ती नदीमा डुंगाको व्यवस्थापन गरिएको छ । राप्तीको पुल भएता पनि धर्मकर्मका बेला थप केही आर्कषण होस् भन्ने मान्यताले डुंगाबाट नदि तर्ने व्यवस्था मिलाइएको हो । केही वर्ष अगाडि बने मानिसहरु राप्ता नदि आफै तररे विक्रम बाबा जाने गर्दथे पछिल्लो समय भने सुरक्षालाई पनि मध्यनजर गर्दै डुंगा सयरको व्यवस्था गरिएको हो । डुंगा पार गरेपछि केही मिनेटको जंगल यात्रा पछि विक्रमबाबाको थान पुग्न सकिन्छ । हिड्दा पनि भक्तजनहरुले चितवनको प्राकृतिक आनन्दता हासिल गर्न सक्छन् ।
चिसापानी खोलामा चराचुरुङगी नाचेको, जरायो यस्तै मौका मिले गैडा पनि देख्न सकिन्छ भने थान पुग्नै लाग्दा हात्तीसारमा रहेका हात्ती र छावा पनि अवलोकनको अर्को दृश्य देखिन्छ । धार्मिक कर्म त हुनेनै भयो अर्को रमणीय वस्तुस्थिती अवलोकन गर्न पाइनुपनि विक्रमबाबा मेलाको अर्को आर्कषण हो । दुर्लभघडियाल गोहीको प्रजनन र संरक्षण केन्द्रको अवलोकन, राणाकालिन समयमा बनेको कसरा दरबार र म्युजियम अर्को धर्मकर्म सँगै घुम्न पाइने अर्को आर्कषण हो ।
विक्रमबाबा यतिवेला थारु समुदायको मात्र नभई आम नेपालीका लागि आस्थाको केन्द्र बनेको छ । विक्रमबाबाकै प्रशिद्धीका कारण जगतपुर पटिहानी धार्मिक पर्यटनको केन्द्र मात्र नभई प्राकृतिक पर्यटकीय हिसावले पनि प्रशिद्धि पाएको छ । तसर्थ विक्रमबाबा बाबाको प्रचारप्रसारको दायरालाई अझ अरु बढाउन सकिएको खण्डमा नेपालबाट मात्र नभई विश्वबाट मानिसहरुबाट आई थप प्रशिद्धि कमाउनेछ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu