उर्दि (कविता)
अट्वामा बसेको लुहारु थारुले
उर्दि जारी गर्यो,
पंक्षी जाति हो,
आज देखि तिमिहरुलाइ मेहनतले आर्जेको,
मेरो बाली खान निषेध भो।
चराहरुले बिन्ती बिसाए,
हे अन्नदाता,
हामीहरुलाई बरु सर्त रखियोस
बाली खानबाट बन्चित नगरियोस।
लुहारु थारुले सर्त राख्यो,
भोलि देखि तिमिहरुले मलाइ
एक एक स्लोक बर्किमार, फुल्वार, सजना,
मैनार अन्य भाका सुनाउ ।
म निषेध फुकुवा गरिदिन्छु,
चराहरु अर्को दिनदेखि
बर्किमार सिके,
मैना सिके,
गाउदै, नाच्दै दानामा रमाए संगितमय फाँट
बजारु थारुले अट्वाबाटै
संसार जितेको महसुस गर्यो।
लुहारु थारुलाइ मन पर्ने चराका गित
छिमेकिलाइ मन परेन,
बर्किमारको भाखामा ड्रम थिएन,
सज्नाको भाखामा गिटार थिएन,
थियो त, लुहारु थारुको मुर्ली,
बासुरी थियो,पिल्रु थियो,
मादल थियो मेटल ब्यान्ड थिएन।
डिजे घन्किरहेको ठाउबाट छिमेकिहरु आए
लुहारु थारुको अट्वा ढलाए,
वचन लगाए,हात खुट्टा बाँधे
भोलिको सास्कृतिक कार्यक्रममा
चिरबिर भाकाको एक अंश नसुनियोस
भने अर्को दिन बिहानै,
ढालिएको अट्वाबाट लुहारु थारुले अर्को उर्दि जारी गर्यो,
हे सुगाहरु, हे भंगेराहरु
आज देखि,बर्किमार , फुल्वार, सजना गाउँदै आउनेलाइ बाली खान निषेध भो,
गाउँको सास्कृतिक कार्यक्रम बिथोलिन्छ।
(बर्किमार, फुलवार, सजना, मैना = थारु जातिमा गाइने गित
अट्वा= पंक्षी धपाउनको लागि बनाइएको काठ्को टावर)
प्रणव आकाश
