थरुहट नेताको अग्निपरीक्षा/थारुको अस्तित्व बचाउँला?(सक्दो सेयर गर्नुस्)

Saturday, 6 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सिताराम चौधरी।
पटक पटक अरुको लागि लडेको थारुहरु पहिलोपटक आफ्नो लागि लडे। जुन लडाईँले थारुलाई पहिचानवादी जातिको परिचय दियो। राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा थारुलाई चिनायो। प्रचण्ड सरकारले थारुलगायत ९२ जातजाति र समुदायलाई मधेसी सूचीकरण गरेको विरुद्धमा २०६५ फागुन १८ गते थरुहट तराईलगायत काठमाडौं उपत्यकामा विशाल मसाल जुलुससहित आन्दोलनको शंख फुकियो। आन्दोलनले यति ठूलो रुप लियो कि आन्दोलनको नेतृत्व गर्ने नेताहरुले कल्पनासमेत गरेका थिएनन्। आन्दोलन सोचेको भन्दा सशक्त भयो।

१० वर्ष जनयुद्ध गरेर पहिलोपटक सक्ता सम्हालिरहेका प्रचण्ड आफैँले उठाएको मुद्दाविरुद्धमा निर्णय गरेर ठूलो गल्ती गरे। तर यही गल्तीले थारुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउने एउटा अवसरचाहिँ मिल्यो। थरुहट आन्दोलन पहिचान अस्तित्वको आन्दोलन थियो। पहिचान र अस्तित्वको सबैभन्दा बढी मुद्दा उठाउने दाबी गर्ने माओवादी पार्टी प्रचण्ड नेतृत्व सरकारले एकाएक पहिचान मेटाउने गरेको निर्णयले फेरि सबैलाई एकचोटि सोच्न बाँध्य बनायो। यो निर्णयले पहिलो गाँसमा प्रचण्डले ढुङ्गा खानुपर्योे भने पहिचान बोकेका जाति समुदायहरु एक ठाउँमा आउने अवसर प्राप्त भयो।

थारु आफ्नो पहिचानको रक्षा गर्दै हामी मधेसी होइनौं। हामी यो देशको मूलवासी तथा तराईका भूमिपुत्र हौं भनेर राज्यले गरेको गलत निर्णयको विरुद्धमा आन्दोलन गरेको थिए। जुन आन्दोलनमा ५ जना आन्दोलनकारी सहादत्त भए। थरुहट आन्दोलन कुनै जाति समुदायको विरुद्धमा गरेको आन्दोलन थिएन। यो आफ्नो पहिचान अस्तित्व र इतिहासको रक्षात्मक आन्दोलन थियो। तर केहि मधेसी नेताको बुझाई गलत थियो। उनीहरुले आफूहरुको विरुद्धमा गरेको आन्दोलन हो भनेर भ्रम फैलाए यो विलकुल उनीहरुको कमजोर र सामन्ती सोँचमात्रै थियो। नेपालको हरेक जातिको अस्तित्व छ। जुनसुकै जाति समुदाय होस् राज्यले उनीहरुको पहिचान, अस्तित्व र इतिहासलाई संरक्षण सम्बर्द्धन गर्नुपर्छ। तर राज्य नै एउटा जातिलाई संरक्षण गर्ने र अर्को जातिलाई मेटाउने काम गर्नथाल्यो भने सचेत जनता अवश्य विद्रोह गर्छन्। थरुहट आन्दोलनको सत्यता यही हो। राज्यको गलत निर्णयविरुद्धमा थरुहट आन्दोलन भएको यथार्थ हो। यो देशको हरेक जनतालाई आफ्नो अधिकारको लागि आवाज उठाउने संवैधानिक अधिकार छ र त्यही संवैधानिक अधिकार प्रयोग गरेका हुन थरुहट आन्दोलनमा।त्यतिबेला प्रचण्डसँगै यो निर्णयमा साथ दिने विजयकुमार गच्छदार पनि देाषी भए। गच्छदारले थारु समुदायको लागि गल्ती गरेकै हुन्। थारुलाई मधेसी सूचिकृत गरिरहँदा गच्छदारले थारु भएर पनि एकशब्द बोल्न नसक्नु उहाँको पहिलो गल्ती थियो। त्यत्रो ठूलो आन्दोलन हुँदा कुनै सहयोग गर्न नसक्नु गच्छदारको दोस्रो गल्ती थियो। थरुहट आन्दोलनको राप र तापबाट उदायका नेता लक्ष्मण थारु, योगेन्द्र थारु, गोपाल दहित, रुक्मीणी चौधरी तथा सिङ्गो थारु समुदायलाई एकीकृत गरेर लानुको साटो उल्टै थरुहट शक्तिलाई कमजोर बनाएर एउटा एउटा गर्दै फुटाएर आफ्नो पार्टीमा प्रवेश गराउँदै जानु गच्छदारको तेस्रो गल्ती थियो। हो, ब्यक्तिगत र पार्टीगत हिसाबले गच्छदारलाई फाइदा थियो तर सिङ्गो थारु समुदायको हिसाबले निक्कै घाटा थियो।

बल्ल बल्ल एक ठाउँमा संगठित भैरहेका शक्तिलाई हाम्रै समुदायका नेताहरुबाट त्यतिबेला छिन्न भिन्न गराउने काम भएकै हो। लक्ष्मण र योगेन्द्र थारु त्यो समयमा गच्छदारको पार्टीमा नगएको भए आज थरुहट शक्ति बलियो भएर संविधान सभामा सशक्त आवाज बुलन्द गरिरहेको हुन्थ्यो। त्यो एउटा थारु समुदायको लागि विडम्बना थियो। हिजोको परिस्थिति र बुझाई लक्ष्मण र योगेन्द्र थारु दुवै नेताले थारु समाज र थरुहटप्रति घात गरेकै हुन्। आज समय बदलियो, ब्यक्तिको प्रवृत्ति बदलियो। बद्लिँदो परिस्थितिले एउटालाई सिंहदरबार र अर्कोलाई जेलमा कोचिदियो। हिजो उनीहरुले रोजेको बाटो आज सही छ भन्न मिलेन। सही र गलत यस अर्थमा हुन्छ हिजो उनीहरुले उठाएको मुद्दा आज उनीहरुसँग छ कि छैन? आफूले उठाएको थरुहटको मुद्दामा कतिको अडिग भए? यो कुरा जनताले खोज्ने हो।हिजोको गल्तीलाई सुधारेर नयाँ सिराबाट गच्छदारको पार्टीलगायत थरुहट तराई पार्टी नेपाल, दलित जनजाति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीहरु एकठाउँमा आएका छन्। थारु समुदायले ९ वर्ष अगाडि यही कुरा प्रस्ताव गरेका थिए। सबै थारु नेताहरु एक ठाउँमा आउनुपर्छ। तर नेताहरुको ब्यक्तिगत इगोले एक ठाउँमा आउन सकेनन्। यो थारु समाजको लागि दुर्भाग्य थियो। अहिले समय परिस्थितिले एक ठाउँमा उभ्याइदिएको छ। यी पार्टीहरुबीच एकीकरण भई साझा नाम दिई नेपाल लोकतान्त्रिक पार्टी बनाउने उद्घोष गरिसकेका छन्। त्यही नयाँ पार्टीको विधिविधानमा टेकेर सशक्त घोषणा पत्र लिएर स्थानीय चुनावमा यो पार्टी भाग लिँदैछ।

गच्छदारको लागि यो चुनौती र अवसर दुबै हो। सत्ताको भोगी आरोप खेपिरहेका गच्छदार यो पार्टीलाई सही र नया ढंगबाट पार्टीलाई अगादी बढाउन सकेनन् भने गच्छदारलगायत यो पार्टी विलिन हुनसक्छ। यो चुनौतीलाई चिर्दै गच्छदारले सही नेतृत्व दिन सकेभने सबैको विश्वासिलो नेता बन्नेछन्। यो समय गच्छदारलगायत थरुहटका पहिचानवादी मुद्दा बोकेका थारु नेताहरुको लागि अग्नी परीक्षा हो।

लेखक:-बर्दियाली थारु विकास मञ्च काठमाडौंका केन्द्रीय अध्यक्ष हुन्,सिताराम चौधरी थारु।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu