थाकस चितवनको घोषणा पत्र:-रेशम चौधरी लगायत थारु अगुवाहरु माथी लगाइएको झुठो मुद्दा तत्काल खारेज गर

Sunday, 11 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

चितवन :=तीन दिनसम्म चलेको थारु कल्याणकारिणी सभा (थाकस) चितवनको जिल्ला अधिवेशनले १७ बुँदे घोषणा पत्र जारी गरेको छ ।
थाकसले घोषणा पत्रको पहिलो बुँदामा नै कैलालीको टिकापुर घटनापछि रेशम चौधरी, लक्ष्मण थारुलगायत थारु अगुवाहरुमाथि लगाइएको झुटा मुद्दा विनासर्त तत्काल खारेज गर्न माग गरेको छ । साथै कैलालीका कारागारमा आमरण अनसनमा बसेका २४ जना अनसनकारीहरुको जीउज्यानको रक्षा गर्दै अबिलम्ब अनसन तोड्ने वातावरण बनाई रिहा गर्न माग गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. २२, बेलोध प्रगन्नाको धनौजीमा १२ औं अधिवेशन तीनसम्म चलेको थियो ।

अधिवेशनको बन्द सत्रले जारी गरेको १७ बुँदे घोषणा पत्रको पूर्ण विवरण यस प्रकारको छः-

थारु कल्याणकारिणी सभा चितवन
१२ औं अधिवेशन (२०७४ फागुन २४, २५ र २६)
बेलोध घोषणा पत्र

यस थारु कल्याणकारिणी सभा चितवनको गरिमामय बन्द सत्रमा तपसिलका १७ बुँदे बेलोध घोषणा पत्र जारी गरिएको छ ।

१. दुखद र रहस्यमय टिकापुर घटनापछि कैलालीका रेशम चौधरी, लक्ष्मण थारु लगायतका थारु अगुवाहरुमाथि लगाइएको झुटा मुद्दा विनासर्त तत्काल खारेज गरियोस् ।

२. कैलालीका कारागारमा आमरण अनसनमा बसेका २४ जना अनसनकारीहरुको जीउज्यानको रक्षा गर्दै अबिलम्ब अनसन तोड्ने वातावरण बनाई रिहा गरियोस् ।

३. कैलाली–१ बाट प्रतिनिधि सभाका लागि अत्यधिक मत ल्याई विजयी भएर पनि अन्यायमा परेका रेशम चौधरीलाई विजेताको प्रमाण पत्र हस्तान्त्रण गरी सँसदको सपथ ग्रहण गराईयोस् ।

४. २०७२ सालमा जारी भएको नयाँ संविधानलाई आलोचनात्मक समर्थन गर्दै थारु लगायत सबै जातजाति, भाषाभाषी, दलित, अल्पसंख्यक, मधेसी, महिला लगायत सबैको अपनत्वका लागि विभिन्न कालखण्डमा भएको थरुहट आन्दोलनका माग र मुद्दा अनुसार संविधान संशोधन गरियोस् साथै थारुहरुसँग भएको सबै सम्झौताहरु लागू गरियोस् ।

५. ऐतिहासिक थरुहट भूमि चितवनलाई प्रदेश नं. ३ मा राखिएकोमा चितवनका थारुहरुलाई अमान्य भएको जाहेर गर्दै हाल बनेको सातवटा प्रदेशको सिमांकनलाई पुनर्विचार गरी कपिलवस्तु देखि पूर्व रौतहटसममका जिल्लाहरुलाई समेटी प्रदेश संरचना निर्माण गरियोस् ।

६. विभिन्न किसिमका जालझेल, छलकपट र षडयन्त्रपूर्ण तरिकाले थारु जनताका स्वामित्वमा रहेको जग्गा जमिन खोसिने र लुटिने प्रक्रिया अझै कायमै रहेको अवस्थामा त्यस्ता ठग, लुटेरा तथा भूमाफियाहरुलाई कडा कारबाही गरी हडपिएका र लुटिएका जग्गा जमिन फिर्ता गरियोस् ।

७. नयाँ संविधानमा लेखिएको समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधित्व गर्दा निम्नअनुसारको समूहगत र क्रमाङ्क सच्याइयोस् । (१) पिछडिएका क्षेत्र, अपाङ्ग, (२) दलित, (३) थारु, (४) मुस्लिम (५) मधेशी, (६) आदिवासी जनजाति (७) खसआर्य

८. केन्द्र, प्रदेश र स्थानीय सरकार लगायत हरेक राजनैतिक नियुक्तिमा थारु समुदायको सम्मानजनक समावेशी सहभागीता सुनिश्चित गरियोस् ।

९.संविधानको धारा २७ को दफा २६३ मा थारु आयोगको व्यवस्था भए अनुरुप संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यक्ष लगायत ४ जनाको नियुक्ति गर्ने प्रावधान अनुरुप थारु आयोगको उक्त पदहरुमा थारुलाई नै प्राथमिकता दिई नियुक्त गरियोस् ।

१०. थरुहट आन्दोलनमा घाइते भई हालसम्म कष्टकर जीवन यापन गरिरहेका रत्ननगर ७, सिसुवारका सन्जीत महतो लगायत अन्य घाइतेहरुको उचित क्षतिपूर्ति र व्यवस्थापन गरियोस् ।

११. नेपालले प्रतिबद्धता जनाएका आदिवासी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरु अक्षरशः कार्यान्वयन गरियोस् र सोहि अनुसार राज्यको ऐन कानुन एवं संविधानमा आवश्यक संशोधन गरियोस् ।

१२. चितवनको थारु बाहुल्य क्षेत्रहरुलाई समेटी अधिकारसहित स्वायत्त, संरक्षित वा विशेष क्षेत्र निर्माण गरियोस् र राज्यको मूलधारमा आदिवासी थारुहरुको पहिचान, पहुँच र प्रतिनिधित्व कायम गरियोस् ।

१३. थारु समुदायले मनाउने जितिया, पितृऔंसी, फागुवाको धुरहेरी लगायतका महत्वपूर्ण चाडपर्वहरुमा सार्वजनिक विदा दिइयोस् ।

१४. हरेक स्थानीय निकायहरुमा थारु विकास कार्यक्रम लागू गरी थारु समुदायको आर्थिक, शैक्षिक, भाषिक, साँस्कृतिक, सामाजिक उत्थानका लागि सम्मानजनक बजेटको व्यवस्था मिलाईयोस् ।

१५. राज्यको हरेक निकायमा महिलाको लागि छुट्याइएको विशेषअधिकार कोटाहरु जनसंख्याको आधारमा थारु महिलाहरुको लागि छुट्याइयोस् ।

१६. यस १२ औं अधिवेशनको निर्वाचन सत्रमा निर्वाचित हुने सभापति ललित कुमार चौधरी लगायत सदस्यहरु कमानसिंह चौधरी, नन्दलाल चौधरी, झलक महतो (बृजा), बलिराम महतो (गुरौ), कल्पना कुमारी पावे, सविता चौधरी, लिलकुमार गुरौ, जीवनराम महतो, विश्वमति महतो र जीतबहादुर महतो तथा केन्द्रिय प्रतिनिधिहरु विष्णु कुमारी चौधरी, विश्राम महतो, लक्ष्मी चौधरी, हेमराज महतो र राजेन्द्र प्रसाद चौधरीलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौं ।

१७. यस १२ औं अधिवेशन सम्पन्न गर्नका लागि तन, मन र धनले सहयोग गर्ने थाकस चितवन क्षेत्र नं. ५, बेलोध प्रगन्ना लगायत सम्पूर्ण सहयोगी व्यक्ति तथा संघसंस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।साभार :-नारायणी अनलाइन बाट

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu