सामूहिक बलात्कारका मुख्य आरोपी धरौटीमा रिहा/पीडित परिवार तनावमा

Sunday, 20 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राजविराज:= अदालती मान्यताको धज्जी उडाउदै शम्भुनाथ नगरपालिका–३ कचन्दाहाकी दलित युवतीमाथि सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपीलाई जिल्ला अदालत सप्तरीले धरौटीमा छाडिदिएको आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ-
अन्य आरोपी भने कारागार चलान गरिएका छन् ।जिल्ला अदालतका दुई न्यायाधीशले एउटै मुद्दा र कसुरमा फरकफरक आदेश गरेका हुन् । मुख्य आरोपी नै सामान्य धरौटीमा छाडिनुलाई पीडित पक्षले न्यायसम्पादनमा अदालतको गम्भीर त्रुटि बताएको छ । उनीहरूले आदेशमाथि न्यायपरिषद्बाट छानबिन हुनुपर्ने माग राखेका छन् ।२०७४ फागुन २७ गते राति कान दुखेको औषधि खरिद गर्न गइरहेकी ती युवतीलाई स्थानीय दुई युवाले बलात्कार गरेका थिए । उनीहरूले युवतीको मुखमा कपडा कोचेर नजिकै खेतमा पुर्‍याएका थिए । ती युवकले अरू पाँचजनालाई समेत फोनबाट बोलाई बलात्कार गर्न लगाएका थिए । तत्कालै घटनाबारे जानकारी पाएको जिल्ला प्रहरीले अजयकुमार चौधरी र एटलान्टिक चौधरीलाई नियन्त्रणमा लिएको थियो । मुख्य आरोपी मनोजकुमार साहसहित पाँचजना फरार थिए ।
अजय र एटलान्टिकलाई जिल्ला सरकारी वकिल कार्यालयले ०७४ चैत २६ गते जिल्ला अदालतमा पेस गरेकामा न्यायाधीश धु्रवराज त्रिपाठीको इजलासले उनीहरूलाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको थियो । प्रहरीले गत वैशाख २८ गते मुख्य आरोपी साहलाई पनि नियन्त्रणमा लियो । तर, साहले आफू अदालतमा उपस्थित भई धरौटीमा छुटेको बयान दिएपछि सप्तरी प्रहरीले आश्चर्य जनाएको छ । फरार सूचीमा रहेका साह वैशाख २७ गते नै अदालतमा पेस भइसकेका थिए । उनलाई न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले ३५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । आदेशमा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी कसुरदार होइनन् भन्ने अनुमान गर्न मिल्ने अवस्था नदेखिँदा पछि प्रमाण बुझदै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को देहाय (५) र (१०) नम्बरबमोजिम निज प्रतिवादीबाट ३५ हजार धरौटी लिई तारिखमा राख्नू ।’
एउटै मुद्दाका अन्य आरोपीलाई पुर्पक्षका लागि कारागार पठाउने तर मुख्य आरोपीलाई धरौटीमा छाडिएकामा कानुन व्यवसायीले पनि आश्चर्य जनाएका छन् । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटाले जिल्लाको आदेशविरुद्ध उच्च अदालत जाने बताए । ‘मुख्य आरोपीलाई धरौटीमा छोड्ने आदेश कानुनअनुसार मिल्दैन,’ उनले भने ।

घटनाका मुख्य आरोपी नै धरौटीमा छाडिएपछि पीडित परिवार थप तनावमा परेको छ । ‘के हामी गरिब परिवारको इज्जत छैन,’ पीडितका बुवाले भने, ‘सामूहिक बलात्कार गर्नेलाई एउटा न्यायाधीशले कारागार पठाउँछ, अर्को न्यायाधीशले मुख्य आरोपीलाई नै छाडिदिन्छ, यो कस्तो न्याय हो ?’पीडकलाई छाडिएको सुनेपछि आमा पनि मर्माहत छिन् । ‘मेरी छोरीलाई गहुँ खेतमा लगी बन् बनाएर चार घण्टासम्म बलात्कार गरेको घटना अझै बिर्सेका छैनौं,’ उनले भनिन्, ‘आरोपी यस्तै छुटदै जाने हो भने कसरी न्याय पाउनु ?’
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu