थारू समुदायमा ‘डसिया’ बारे केही बुँदागत कुराहरु(पढेर सेयर गर्नुहोस्)

Sunday, 24 September 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लेखक:=छबिलाल कोपिला,,
असोज/८/आइतबार:=घटस्थापना दोस्रो दिन साँझ ‘डुटिया’ हेरेर अर्को दिन बिहान मात्रै आम थारू समुदायमा मकैको जमरा राख्ने चलन । तर दहित थरका थारूहरु भने घटस्थापनाकै दिन राख्ने परम्परा छ ।
#पञ्चमी दिन दहित थरका थारूहरु आफ्ना पुर्खाहरुको श्राद्ध दिने गर्छन् । अन्य थारू समुदायमा भने यो चलन छैन ।

#सप्तमीको दिन पैनसटोपी धोइन्छ यसै दिन आफ्ना सात पुस्ताका पूर्वजहरुलाई पूजाको प्रसाद ग्रहणका लागि आह्वान गरिन्छ ।

#अष्टमीको दिन आफ्ना मौलिक कूलदेउताहरु गुर्बाबा, खेंखरी–मैंया, सौंरा, लागुबासु, धमराज लगायतका देउताहरुलाई गुल्यार ढिक्री (ढल्ले ढिक्री), रक्सी (तौला र बजारी), जल अनि जमरा र बबरी चढाएर पूजा गरिन्छ । अन्य समुदाय जस्तो थारू समुदायमा पूजामा फूल, मिठाइ र फलफूल चढाइदैन । पूजा गर्नु भन्दा पहिले सबै देउताहरुलाई नुहाइ दिएर ‘छिनोनी’ (सूनपानी)ले चोख्याइन्छ र पूजा गरिन्छ । डसियामा कुनै थरको थारूको घरमा अन्य समुदाय जस्तो दुर्गा र राममा पूजा पाठ हुँदैन ।

#नवमीको दिन आफ्ना देहुरार रहेको बह्रनी फेरिन्छ । आजकै दिन आफ्ना पूर्वजहरुको नाममा ‘पित्तर’ (पितृ भात) दिइन्छ । भात दिँदा बिजोर संख्याको टपरीमा दिइन्छ, ३, ५ र ७ वटा टपरीमा दिन्छ । पित्तरमा भात संगै मासको दाल, पोंइ, माछा अनिवार्य जस्तै हुन्छ । पित्तर दिँदा घरको कूलदेउता अनुसार कुखुरा, भेंडा, खसी, सुंगुरको पनि बली दिइन्छ । भेंडा नहुनेहरुले ‘भुँरु’ (कुभिन्डा)लाई पशुको प्रतीकको रुपमा मानेर बली दिने चलन छ । देउताहरुलाई बानधूपले धुपाइन्छ । बानधूप शरीरको सात अंगबाट चिरेर निकाले रगत र सात थरि फूलको मिश्रणबाट बनाइएको धूप हो ।

#पूजा सकिएपछि पूर्वजहरुलाई नाचगान सहित पठाउन जाने चलन छ । देहुरार लगायत पूजा गरेको ठाउँ सफा गरी सबै पूजा सामग्रीहरु घाट, कुला, नदी विसर्जन गरिन्छ । जसलाई ‘पित्तर अस्रैना’ भनिन्छ । पित्तर अस्राउनु भन्दा पहिले घरको भित्ताहरुमा मुट्ठी पारेर पछाडिको भागको पिठोको सेतो छाप हाल्ने चलन छ । जसलाई बक्ला (बकुल्ला) पनि भनिन्छ । पूर्वजहरुको आत्मा त्यही बकुल्ला माथि चढेर सकुशल स्वर्गमा जान सकून् भने त्यो बनाइएको हो ।

#शान्तिको टीका (पीठो वा चामलको रातो, सेतो टीका) लगाएर हर्षोल्लासका साथ मनाइन्छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu